ad ad

खेल


हालान्डको अर्को कीर्तिमान, मोहम्मद साला र रुड भान निस्टेलरूयलाई उछिने

हालान्डको अर्को कीर्तिमान, मोहम्मद साला र रुड भान निस्टेलरूयलाई उछिने

नेपालखबर
चैत २९, २०७९ बुधबार १३:५९, काठमाडौँ

बायर्न म्युनिखविरुद्ध एक गोल गरेसँगै इर्लिङ हालान्डले आफ्नो नाममा नयाँ कीर्तिमान बनाएका छन्। 

जर्मन च्याम्पियनविरुद्ध बुधबार बिहान भएको च्याम्पियन्स लिग भिडन्तमा म्यानचेस्टर सिटीका लागि तेस्रो गोल गरेसँगै हालान्डको नाममा नयाँ रेकर्ड बनेको हो। 

यी नर्वेजियन स्ट्राइकरले जारी सिजन २०२२/२३ का सबै प्रतियोगितामा ४५ गोल गरिसकेका छन्। जुन प्रिमियर लिग क्लबका कुनै पनि खेलाडीले अहिलेसम्म बनाएको सर्वाधिक गोलको इतिहास हो। 

हालान्ड यो रेकर्डबाट अझै अघि बढ्न सक्छन्। प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगमा धेरै खेल अझै सिटीले खेल्न बाँकी रहेको अवस्थामा हालान्डले यो रेकर्डलाई अझै उचाइमा पुर्‍याउन सक्ने सम्भावना छ।

आफ्नो नाममा कीर्तिमन बनाउने क्रममा हालान्डले सन् २००२/२००३ मा रुड भान निस्टेलरूय र सन् २०१७/१८ मा मोहम्मद सालाह दुवैले बनाएको रेकर्डलाई उछिनेका छन्। 

म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर तथा लिभरपुलबाट खेल्दै आएका इजिप्टका विङ्गर दुवैले ५२ खेलबाट यो रेकर्ड बनाएका थिए। तर हालान्डले केबल ३९ खेलबाटै उनीहरु दुवैको रेकर्ड तोडेका हुन्। 

यी नर्वेजियन स्ट्राइकरका लागि सिटीमा पहिलो सिजन सम्झनलायक बन्दैछ। उनका लागि यो सिटीको यात्रा अविश्वसनीय अध्यायका रुपमा रहने देखिएको छ। 

बोरुसिया डर्टमुन्डमा उच्च प्रदर्शनपछि उनी अघि सिजन इत्तिहाद स्टेडियम आएका थिए।  हालान्डले आफ्नो पहिलो  पाँच प्रिमियर लिग भिडन्तमा कुनै अन्य खेलाडीलाई पछि पार्दै नौ गोल गरेका थिए। 

त्यसयता यी २२ वर्षीय खेलाडीले एकपछि अर्को रेकर्ड आफ्नो नाममा लेखाइरहेका छन्। उनले प्रिमियर लिगको चार अवे खेलमध्ये तीनवटामा ह्याट्रिक गरेका छन्। साथै उनले सिटीको घरेलु मैदानमा लगातार तीन ह्याट्रिक गर्ने पहिलो खेलाडीको नाम पनि लेखाउन सफल भए।

हालान्ड मार्च २०२३ को पहिलो सिजनमा सिटीका प्रमुख गोल स्कोरर बनिसकेका छन्। उनी सिजनको आफ्नो ३९ औँ खेलका क्रममा सन् १९२९ मा सिटीकै टमी जोनसनले बनाएको रेकर्डबाट पनि अघि निस्किएका छन्। 

४५ गोलसहित नयाँ रेकर्ड बनाइसकेका उनले सिजन बाँकी रहेकाले अझै अघि बढ्न सक्नेछन्। इर्लिङले नयाँ रेकर्ड बनाएपछि उनी आवद्ध क्लब म्यानचेस्टर सिटीले पनि बधाई दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .