ad ad

खेल


ए डिभिजन लिगमा नेपाल पुलिसको दोस्रो जित

ए डिभिजन लिगमा नेपाल पुलिसको दोस्रो जित

नेपालखबर
पुस १६, २०७६ बुधबार ८:१०,

विभागीय नेपाल पुलिस क्लबले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा गत वर्षको उपविजेता संकटा क्लवलाई २–१ ले पाखा लगाउँदै पुलिसले दोस्रो जित हात पारेको हो।

खेलको १५औं मिनेटमा अमित तामाङको आत्मघाती गोलमा पुलिसले अग्रता बनाएको थियो। गोलरक्षक र डिफेन्सबीच तालमेल नमिल्दा सुमन लामाको ट्यापिङ प्रहार अमित लामालाई लाग्दै गोलमा परिणत भएको थियो।

१८औं मिनेटमा प्राप्त पेनाल्टीलाई संकटाका अमितले गोलमा परिणत गर्दै खेललाई बराबरीमा पु¥याएका थिए। पुलिसका अजित भण्डारीले पेनाल्टी बक्समा बल ह्यान्ड गरेपछि संकटाले पेनाल्टी पाएको थियो। ३३औं मिनेटमा सुमन लामाको अर्को गोलबाट पुलिसले २–१ को अग्रता बनाएको थियो। प्रवेश कुँवरको क्रसमा सुमनले वान भर्सेस वानमा गोलरक्षक विनय श्रेष्ठलाई बिट गर्दै गोल गरेका थिए।

जितसँगै पुलिसले अंक तालिकामा ३ अंक जोडेको छ। २ खेलमा जित १ मा बराबरी र एकमा हार भोगेको पुलिसको ७ अंक छ। २ मा हार १ मा जित र १ मा बराबरी गरेको संकटाको ४ अंक छ।

आजै हुने दोस्रो खेलमा उपाधि दावेदार विभागीय त्रिभुवन आर्मी क्लब र रुस्लान थ्री स्टारबीच प्रतिस्पर्धा हुँदै छ। उपाधि यात्रालाई बलियो बनाउन दुवै टोली स्पष्ट ३ अंक जोड्ने लक्ष्यमा मैदानमा उत्रिनेछन्।

आर्मीलाई पराजित गर्न सके चौथो स्थानमा रहेको थ्री स्टार दोस्रो स्थानमा उक्लन सक्नेछ। दोहोरो पहेँलो कार्ड खाएका थ्रीस्टारका कप्तान विक्रम लामा आर्मीविरुद्धको खेलमा उपलब्ध हुनेछैनन्।

आजको खेलमा आर्मी पनि ३ अंक जोड्ने रणनीतिमा मैदान उत्रिनेछ। प्रतिबन्धमा रहेका मिडफिल्डर सन्तोष तामाङले यही खेलबाट पुनरागमन गर्दा अर्का मिडफिल्डर दिनेश हेन्जन दोहोरो पहेँलो कार्डका कारण खेल गुमाउनेछन्। आर्मीका प्रशिक्षक नवीन न्यौपानले सन्तोषको आगमनसँगै टोलीको मिडफिल्ड बलियो हुने बताएका थिए।

दुई जित र एकबराबर खेलेको तेस्रो स्थानको थ्री स्टारको ७ अंक रहेको छ। आर्मी दुई जित र एक हार व्यहोरेको पाँचौ स्थानको आर्मीको ६ अंक रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .