काठमाडौं युनाइटेडलाई पराजित गर्दै फारवेष्ट युनाइटेडले नेपाल टी २० लिगमा दोस्रो जित दर्ता गरेको छ।
टी २० लिगमा अंक गणितीय सम्भावना मात्र बाँकी रहेको फारवेष्टले काठमाडौंलाई ८३ रनको फराकिलो अन्तरले हराउँदै दोस्रो जित निकालेको हो। लिगका ८ खेलमा २ खेलमा जित र ६ खेलमा हार भोगेको फारवेष्ट ४ अंकमा तालिकाको पुछारमा छ।
फारवेष्टले दिएको १९८ रनको लक्ष्य पछ्याएको काठमाडौं निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो।
कमल ऐरीले जोडेको २० रन नै काठमाडौका लागि सर्वाधिक रह्यो। कप्तन ज्ञानेन्द्र मल्ल र सन्दीप रजालीले समान १७ रन थपे। सुनाम गौतमले १६, विरनदिप सिंहले १४ तथा सन्तोष कार्कीले १२ रन मात्र जोडे।
काठमाडौंलाई कम स्कोरमा रोक्न करण केसी, दुर्गेस गुप्ता र हस्मतुल्लाहले समान २ विकेट लिए। मिलिन्दा सिरिर्वादना, प्रकाश जैशी, शेर मल्लले समान एक एक विकेट आफ्नो नाममा गरे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको फारवेष्टले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९७ रनको योगफल तयार पारेको थियो।
पहिलो विकेटका लागि ओपनर तथा कप्तान हसमतुल्लाह साहिदी र विनोद भण्डारीले १५७ रनको साझेदारी गरेपछि फारवेष्टले विशाल योगफल तयार पारेको हो। साहिदीले ५७ बलमा ५ चौका र ४ छक्का हान्दै ७६ रनको योगदान दिए।
भण्डारीले ४४ बलमा ६ चौका र ५ चौका हान्दै ७३ रन बनाए। करण केसी २२ र उमेर अली ७ रनमा नटआउट रहे। नुर अहमद ३, मिलिन्दा सिरिवान्दना १ रनमा नटआउट रहे।
बसि अहमद एक्लैले ३ विकेट लिए। अविनास बोहोराको नाममा एक विकेट रह्यो।
Shares
प्रतिक्रिया