ad ad

खेल


विश्वले गुमायो सर्वकालीन महान फुटबलर

विश्वले गुमायो सर्वकालीन महान फुटबलर

नेपालखबर
पुस १५, २०७९ शुक्रबार ८:५४, काठमाडौँ

ब्राजिलका महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। सर्वकालीन महान फुटबलरका रुपमा परिचित उनी क्यान्सरबाट पीडित थिए। 

पेले महान् फुटबलर हुन् भन्ने कुरा केही सामान्य तथ्यहरुबाट पनि बुझ्न सकिन्छ। उनी खेलकुदको माध्यमबाट विश्वभर आफ्नो व्यक्तित्व बनाउन सफल सम्भवत: पहिलो व्यक्ति हुन्। उनले आफ्नो फुटबल करियरका १ हजार ३६३ खेलमा १ हजार २८१ गोल गरेका छन्।

किशोरवयमा सान्तोसबाट फुटबल खेल्न सुरु गरेका उनले आफ्नो करियर न्युयोर्क कसमसबाट अन्त्य गरेका थिए। 

जुनसुकै स्थानमा फुटबल खेल्दा पनि आउने एक नाम पेले नै हो। उनी फुटबलका पर्यायजस्तै भएका छन्। 

असाधारण प्रतिभा 
पेलेले बाल्यकालमा साओपाउलोस्थित बाउरु फुटबल क्लबबाट फुटबल सिकेका थिए। उनलाई पूर्व ब्राजिलियन अन्तर्राष्ट्रिय खेलाडी बाल्डेमर डे ब्रिटोले फुटबल सिकाएका थिए। उक्त क्लबमा उनी धेरैको आँखामा परेका थिए। त्यसपछि उनले आफ्नो फुटबल करियर सान्तोसबाट सुरु गर्ने निर्णय गरेका थिए। 

सिनियर टोलीमा उनले १५ वर्षको उमेरमा डेब्यु गरेका थिए। उनले कोरिन्थियन्स सान्तो एन्द्रेविरुद्धको खेलमा ७–१ को जित निकाल्ने क्रममा आफ्नो एक हजार करियर गोल पूरा गरेका थिए। पेलेको करियरमा सान्तोस क्लब ब्रजिलमा मात्र नभई बाहिर पनि हाबी भएको थियो। यो क्लबले कोपा लिभरटाडोरेसको उपाधि जितेको थियो। यो दक्षिण अमेरिकाको च्याम्पियन्स लिग बराबरको उपाधि हो। सन् १९६२ र ६३ मा सान्तोसले यो उपाधि जितेको थियो। 

राष्ट्रिय टोलीमा पेलेले १६ वर्ष नौ महिनाको उमेरमा अर्जेन्टिनाविरुद्धको खेलमा डेब्यु गरेका थिए। उक्त खेलमा ब्राजिल २–१ गोलले पराजित भएको थियो। पेलेले ९२ खेलमा ७७ अन्तर्राष्ट्रिय गोल गरेका छन्। 

पेले तीन विश्वकप फुटबलको उपाधि जित्ने एकमात्र खेलाडी हुन्। उनले आफ्नो पालामा सन् १९५८, १९६२ र १९७० को विश्वकपको उपाधि ब्राजिललाई जिताएका थिए। फिफाले पेलेलाई सन् २००० को प्लेयर अफ द सेन्चुरी घोषणा गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .