खेल


विदेशी खेलाडीको श्रम स्वीकृति अन्योलकै बीच भोलिदेखि सुरु हुँदै नेपाल टी२० लिग

चन्दको गुनासो– काम गर्दा कति करोड खायो भन्छन्, नगर्दा निकम्मा भन्छन्
विदेशी खेलाडीको श्रम स्वीकृति अन्योलकै बीच भोलिदेखि सुरु हुँदै नेपाल टी२० लिग

नेपालखबर
पुस ८, २०७९ शुक्रबार १४:१६, काठमाडौँ

पटक-पटक स्थगित हुँदै आएको नेपाल टी–२० लिग शनिबारदेखि सुरु हुने भएको छ। 

आज शुक्रबारदेखि सुरु हुने भनिएको लिग नेपाल क्रिकेट संघ (क्यान) ले प्राविधिक कारण देखाउँदै भोलिका लागि सारेको थियो। 

विदेशी खेलाडीको श्रम स्वीकृति लगायतका कारण लिग यसअघि तय भएको समयमा सुरु हुन नसकेको हो। यसअघि असोज ८ देखि गर्ने लिग गर्ने भनिए पनि मिति सारिएको थियो। 

दोस्रो पटक मंसिर २६ देखि पुस १६ सम्म हुने बताइए पनि फेरि मिति सारिएको थियो। त्यसपछि लिग पुस ८ देखि २६ सम्म हुने जानकारी गराइएको थियो। तर प्राविधिक कारण देखाउँदै लिग पुनः एक दिन पछि सारिएको हो। 

खेलाडीको श्रम स्वीकृतिको काम सकेर भोलि नै विदेशी खेलाडीहरु मैदान उत्रने क्यानका अध्यक्ष चतुर बहादुर चन्दले दाबी गरेका छन्। आज एक दिनमा खेलाडीको श्रम स्वीकृतिको कागजी प्रक्रिया पूरा नभए भोलि सबै नेपाली खेलाडी नै खेल्नेछन्। 

शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले ८ वर्षको लागि लिग गर्न सम्झौता गरे पनि नेपालको कानुनी प्रक्रियाका कारण फास्ट ट्रयाकमा काम गर्न नसकेको सुनाए। 

टी–२० लिग आयोजना गर्न नदिनका लागि नेपालको क्रिकेट विकास चाहन्छु भन्ने केही साथीहरुले विदेशमा पत्र लेखिएको समेत भेटिएको चन्दले बताए। 

क्यानले फ्रेन्चाइज लिग आफैले आयोजना गर्ने भनेर नेपाल टी–२० लिग घोषणा गरेपछि नेपालमा यसअघि हुँदै आएका तीन फ्रेन्चाइज लिग रोकिएका छन्। 

क्यानले नेपालमा अन्य लिग हुन नदिने भनेपछि एभरेष्ट प्रिमियर लिगका आयोजक आमिर अख्तरले अदालतमा मुद्दा हालेका छन्। जुन मुद्दा अझै अदालतमा नै छ। 

पहिलो पटक लिग आयोजना गर्दा केही समस्याहरु रहेको स्वीकार गर्दै अध्यक्ष चन्दले आफुले सही नियतले लिग आयोजना गर्ने भनेकाले सफल हुने दाबी गरे। 

लिगका लागि विदेशी खेलाडी आइसकेका छन्, खेलाडी, टोली, प्रायोजक र आयोजक सबै तयार रहेकाले अब तोकिएको समयमा नै लिग हुने आश्वासन चन्दले दिएका छन्। लिग आयोजना नहुँदा विश्व क्रिकेटमा नै नकारात्मक सन्देश जाने भन्दै लिग आयोजनाका नै लागि आजको लागि तय खेल भोलिका लागि सारिएको चन्दले दाबी गरे। 

क्यान आफैँले पहिलो पटक फ्रेन्चाइज लिग गर्न लागेका लागि यो ठूलो उपलब्धि भएकाले आफुहरुले सबै कानुनी प्रक्रिया पूरा गरेको चन्दले बताए। 

चन्दले थपे, ‘काम गर्दा कति करोड खायो भन्छन्, नगर्दा निकम्मा भन्छन्।’ 

सेभेन थ्री स्पोर्टस् तथा नेपाल टि२० लिगका निर्देशक जतिन अग्रवालले आफुहरुले नेपालको क्रिकेट विकासका लागि नै भारतबाट नेपाल आएको सुनाए। 

नेपालमा विश्वस्तरिय लिग गराउनु हामी सबैको सपना हो। लिगको सुरुवातमा आफुहरुले थुप्रै समस्याहरुको सामना गर्नुपरेको भन्दै अग्रवालले नेपालको क्रिकेटसँगै आर्थिक रुपमा पनि यसले टेवा पुगोस् भनेर लिग आयोजना गर्न लागेको हो। 

नेपाल अन्तर्राष्ट्रिय स्तरीय क्रिकेट आयोजनाका लागि स्तरीय ठाउँ रहे पनि आफूहरुले राम्रो सहयोग पाउन नसकेको गुनासो पोखे। 

नेपाल टि–२० लिगले नेपालका मात्र हैन विदेशी क्रिकेटरलाई पाि आर्थिक रुपमा बलियो हुन सहयोग पुग्ने अग्रवालले बताए। 

क्यानले खुल्ल प्रतिस्पर्धाविनै भारतिय कम्पनी सेभेन थ्री स्पोट्र्सलाई नेपाल टि–२० लिग आयोजना गर्न ८ वर्षका लागि ३३ करोडमा बेचेको थियो। 

लिगमा ६ फ्रेन्चाइज टोलीले डबल राउन्ड रोविनका आधारमा स्पर्धा गर्नेछन्। लिगमा पोखरा एभेन्जर्स, काठमाडौं नाइट्स, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड छन्। 

लिगको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुनेले १० तथा चौथो हुनेले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। 

लिगको सर्वोत्कृष्ट खेलाडीले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याटरले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्। उदीयमान खेलाडीले १ लाख ८० हजार रुपैयाँ पाउनेछ। 

हरेक खेलको प्लेयर अफ दि म्याचले ४० हजार रुपैयाँ पाउने सेभेन थ्री स्पोर्टस्ले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .