प्रतिस्पर्धामा सहभागी सबैले जित्दैनन्। केहीले जित्छन्, केहीले सिक्छन्। जित्नेले भन्दा अझ धेरै पाठ हार्नेले सिकिरहेका हुन्छन्।
तिनै सिक्नेमध्ये एक हुन् लुम्बिनी प्रदेशकी एथलेटिक्स खेलाडी अनिसा चौधरी। १० हजार मिटर दौडका लागि अनिसा जिल्ला हुँदै प्रदेश छनोट पार गरेर कात्तिक पहिलो साता गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद खेल्न पोखरा पुगेकी थिइन्।
असोज ६/७ गते भएको छनोटमा उनले ११ खेलाडीलाई पछि पार्दै दोस्रो भएर पोखराको यात्रा तय गरेकी थिइन्।
प्रदेश छनोटमा आफ्नो टाइमिङ कति थियो उनलाई थाहा छैन। पोखराको अन्तिम प्रतिस्पर्धामा पनि उनले १० हजार मिटर दौड कति समयमा पूरा गरिन् भन्ने पनि थाहा छैन।
समान्यतया खेलाडीले आफ्नो टाइमिङ आफैँ सेट गरेर दौडन सुरु गर्छन्। तर अनिसासँग त्यस्तो टाइमिङ लगाउने न घडी थियो न त आफ्नो समय नै उनलाई थाहा पाउन आवश्यक लाग्यो।
प्रदेश छनोटमा पनि उनले कति समयमा दूरी पार गरिन् भन्ने जानकारी छैन। मात्र गुरुले राम्रो भयो भन्नुभयो। उनी त्यसकै आधारमा पोखरा पुगेकी थिइन्।
अनिसालाई कसरी दौडने, कुन गतिमा दौडने केही थाहा छैन। उनलाई दौडनु पर्छ भन्ने मात्रै थाहा छ। उनलाई नियमित प्रशिक्षण दिने गुरु छैनन्, जसले उनलाई राम्रो सल्लाह र डाइटबारे बुझाउन्।
उनलाई दौडन मात्र आउँछ, उनी दैनिक लगभग ६ किलोमिटर दौडिन्छिन्। प्रशिक्षणबारे अनिसाले कहिलेकाहीँ पदमा चौधरी गुरुसँग सोध्छिन्। धेरै प्रतियोगिताहरु खेल्न पाएमा अझै धेरै सिक्न सकिन्छ भन्ने विश्वास उनमा छ।
खेलकुदमा लागेका सबै महिला खेलाडीले परिवारको राम्रो साथ पाउँछन् भन्ने छैन। तर अनिसाको स्थिति अलिक फरक छ। उनी परिवारकै हौसला र साथमा दौडमा लागेकी हुन्।
दाङको देउखुरी क्याम्पसमा शिक्षा संकायमा स्नातक दोस्रो वर्ष पढ्दै गरेकी अनिसालाई खेलबाट नै अगाडि बढ्न मन छ।
उनका बुवा घर बनाउने काम गर्छन् भने आमा घरकै कामधन्दामा व्यस्त हुन्छिन्। उनका एक दाजु छन्। परिवारमा अनिसालाई आमाले धेरै सहयोग गर्छिन्।
पारिवारिक पृष्ठभूमि सुनाउँदै गर्दा उत्साहित भएर उनले भनेकी थिइन्, ‘एक पटक दाजुले कति खेल्छस् भनेर हप्काए। आमाले उल्टै दाइलाई तँ पनि सक्छस् भने खेल भन्नुभयो। त्यसपछि दाजुले एउटा प्रतियोगितामा भाग लिए। दाजुले भने–खेल्न धेरै गाह्रो रहेछ। त्यसपछि उनले खेल्नै छाडे।’
अनिसाले लगातार प्रशिक्षण गर्ने मौका पाउँदिनन्। घरको काम, पढाई सकेर मात्र दौडिन्छिन्। उनले यति दौडन्छु भनेर मार्क गर्न भन्दा पनि ठाउँलाई टार्गेट गर्छिन्। उनी निश्चित स्थानसम्म दौडने गर्छिन्।
राष्ट्रिय खेलकुदमा यो उनको पहिलो सहभागिता हो। आफ्नो स्तर थाहा पाउन त्यसले मद्दत गरेको उनको बुझाई छ। १० हजार मिटर दौडमा स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठ लगायतका खेलाडीसँग दौडन पाउनुमा नै उनी खुसी छिन्। उनले भनेकी थिइन्, ‘जित्नैपर्छ भन्ने छैन, धेरै कुरा सिक्न पनि पाइन्छ।’
राष्ट्रिय प्रतियोगिता उनको लागि पहिलो भए पनि यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन्। २०७६ मा स्वदेशमै भएको १३ औँ दक्षिण एशियाली खेलकुद अन्तर्गत पोखरामा उनले दुवाथलन खेलिन्।
त्यो बेलामा उनी चौथो भइन्। तर त्यो नतिजाबाट उनी सन्तुष्ट छैनन्। भन्छिन्, ‘म तेस्रो भएकी थिएँ तर त्यो समयमा एपीएफले आफ्नो खेलाडीलाई तेस्रो बनायो।’
उनले दुवाथलन खेल्न पोखरा पुगेपछि मात्र गियरवाला साइकल चलाइन्। त्यो क्षण सम्झँदै उनी थप्छिन्, ‘त्यो बेलामा निकै गाह्रो भएको थियो। त्यो अघि पनि दाङमा नेशनल छनोटमा चलाउन पाएको त थिएँ तर पोखरामा धेरै गाह्रो भयो।’
अहिले १० हजार मिटर दौडिए पनि आर्मीका प्रशिक्षकले दुवाथलनमा राम्रो गर्न सक्छ भनेपछि उनलाई पनि त्यसमै निरन्तरता दिने मन छ।
दुवाथनमा उनको प्रदर्शन देखेर त्रिभुवन आर्मी क्लबका प्रशिक्षकले पोखराबाटै काठमाडौं जान आग्रह गरेका थिए तर उनले मानिनन्। घर अनि पढाइ सम्झिन्। तर अब अवसर पाएमा विभागमा जाने सोच उनले बनाइसकेकी छन्।
Shares
प्रतिक्रिया