नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पाँच हजार मिटर दौडमा लक्ष्य पूरा नगरे पनि बागमतीकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेपछि बुटलाई ढोगिन्।
राष्ट्रिय कीर्तिमानको लक्ष्यसहित दौडिएकी सन्तोषीले सोचेजस्तो समय निकाल्न नसकेको बताइन्।
दुखाईबीचमा दौड छाड्नेसम्म मनस्थिति बनाएकी उनले कीर्तिमानभन्दा दौड पूरा गर्ने निर्णय गरिन्।
‘खेलको सुरुमा एकदम दुखाइ भइरहेको थियो’, उनले भनिन्, ‘दौडन सक्दिन भन्ने लागेको थियो। दौड छाड्नु परेन, त्यसैले बुटलाई ढोगेँ।
नवौँमा यसअघि १० हजार मिटर दौडमा पनि स्वर्ण पदक जितेकी सन्तोषीले बुधबार अर्को स्वर्ण पदक जितेपछि कीर्तिमानका लागि प्रयास गरे पनि खुट्टा र शरीरले साथ नदिएको बताइन्।
‘तीन ल्याप दौडिएपछि एकछिन त दौडिन नै छाडौँ जस्तो भएको थियो। तर अब रेकर्डभन्दा दौड पूरा गरौँ भन्ने लाग्यो’, उनले थपिन्, ‘खुट्टामा भएको घाउको दुखाई बढ्दै गएपछि दौड रोक्न मन लागे पनि बिहानै रघुराज वन्त गुरुले मोबाइलमा पठाएको म्यासेजले दौड छाड्न मन लागेन। लगातार चोट भए पनि आरामभन्दा चोट र अवसरलाई सँगै अगाडि लाने सोचेर दौडिएँ। त्यसबेला पैतालामा पिप बगेजस्तो महसुस गरेकी थिएँ।’
चोटकै अवस्थामा पनि लगातार दौडिरहेकी सन्तोषीले आफूले गुरुहरुसँग सल्लाह गरेर नै दौडिएको बताइन्।
‘मलाई अन्य खेलाडी जस्तो एकै ठाउँमा चोट लागिरहँदैन, फरक फरक ठाउँमा दुखाई महसुस हुने गर्छ’, उनले, ‘शरीरमा न्युट्रेसनको कमीका कारण पनि यस्तो भएको हुन सक्छ।’
आफ्नो लक्ष्य अन्तराष्ट्रिय प्रतियोगिता नै रहेकाले अझै दौडने विश्वास उनमा छ। उनले ५ र १० हजार मिटर दौड दुवै इभेन्ट्समा नेपाल पुलिस क्लबकी राजपुरा पछाईलाई पछि पार्दै स्वर्ण जितेकी हुन्।
‘१० हजारको फलो गर्दै दौडिएको थिएँ। त्यसको अघिल्लो राति सुत्न सकेको थिइनँ’, उनले सुनाइन्, त्यसले पनि ५ हजार मिटर दौडन सक्छु जस्तो लागेको थिएन।’
१० हजार मिटर दौड जितेपछि आफ्नो सफलता पब्लिक प्लेयरलाई समर्पित गरेकी थिइन्।
त्यतिबेला उनले भनेकी थिइन्, ‘मेरो स्वर्ण बागमती प्रदेश, जो खेल्न चाहेर पनि आर्थिक, शैक्षिक र अन्य कारणले सकेनन् उनीहरु, कर्णाली प्रदेश र सबै पब्लिक अनि जुनियर खेलाडीमा सर्मपित गर्न चाहान्छु।’
२०७६ मा नेपालमै भएको १३ औँ दक्षिण एशियाली खेलकुद (साग) पछि १० हजार मिटर दौडमा स्वर्ण जितेकी उनले रेकर्ड ब्रेक भन्दा स्वर्णकै लागि दौडिएको बताएकी छिन्।
१० हजारमा रेकर्ड ब्रेक गर्न सक्थेँ, तर केही चोटका कारण चाहिनँ, मन र दिमागले अगाडि जान दबाब दिइरहेको थियो, उनले दुखेसो पोखेकी थिइन्, तर खुट्टाले मानेन। यो पटक म स्वर्णको लागि नै दौडिएको थिए।
दौडमा अन्तिम २ किलोमिटर बाँकी हुँदासम्म राजपुरा र सन्तोषी सँगै थिए। तर अन्तिम समयमा सन्तोषीले स्पिड बढाउँदै स्वर्ण जितेकी हुन्। उनले थपिन्, ‘म राम्रो फिनिसर हुँ भन्ने थाहा छ। तर आफुलाई दबाब दिन चाहिनँ।’
शनिबार भएको १० हजार मिटर दौडमा सन्तोषीले राजपुरालाई २७ सेकेण्डले पछि पारेकी हुन्।
Shares
प्रतिक्रिया