खेल


साफ च्याम्पियनसिप : इतिहास रच्ने अवसर

साफ च्याम्पियनसिप : इतिहास रच्ने अवसर

फाइल तस्बिर


लक्ष्मी जि.सी
भदौ २० , काठमाडौँ

महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक कुमार थापाले आफ्नो र टोलीका केही सिनियर खेलाडीका लागि साफ च्याम्पियनसिप जित्ने यो अन्तिम अवसर भनेका छन्। 

यसबाटै प्रतियोगितामा उनी कति गम्भीर छन् भन्ने बुझ्न सकिन्छ। ‘यो मेरो र सन् २०१४ देखि टोलीमा रहेका खेलाडीका लागि उपाधि जित्ने अन्तिम मौका हो’, थापाले भने। 

उनले दोस्रो पटक महिला टोलीको जिम्मेवारी पाएका हुन्। यस्तो अवसर कमैले पाउँछन्। 

उनी भन्छन्, ‘२०१४ बाट खेल्नेले पनि पटक पटक फाइनल खेलेका छन्। तर हरेक पटक असफल भइयो भने त्यसपछि फेरि अर्को मौकाको अपेक्षा राख्नु हुन्न। फुटबलमा हायर एण्ड फायर नै हुन्छ।’

कस्तो छ तयारी?
घरेलु मैदानमा मंगलबार सुरु हुने च्याम्पियनसिपलाई थापा र उनको टोली ऐतिहासिक बनाउने लक्ष्यका साथ तयारी गरिरहेको छ। साफ च्याम्पियनसिपको छैटौं संस्करणमा आइपुग्दा नेपालले दोस्रो पटक आयोजनाको मौका पाएको हो। पाँचौँ संस्करण २०७५ मा विराटनगरमा भएको थियो।  

काठमाडौंमा पहिलोपटक महिला च्याम्पियनसिपको आयोजना हुँदा खेलाडी र आफू सबै उत्साहित रहेको थापा सुनाउँछन्। 

‘यस्तो मौका बारम्बार आउँदैन। घरेलु दर्शक सामू च्याम्पियन बनेर इतिहास रच्न चाहेर पनि पाइँदैन’, थापाले भने, ‘हामीले त्यो मौका पाएका छौँ। दशरथ रंगशालामा च्याम्पियन बन्ने अवसर खेर फाल्यौं भने जीवन भर रिग्रेट हुन्छ। हामी रिग्रेट नहुने गरी नतिजा ल्याउन प्रयास गर्नेछौँ।’

साफ च्याम्प्यिनसिपमा भारतपछि सदावहार दाबेदार नेपाल नै हो। इतिहासले त्यही भन्छ। पाँचौँ संस्करणमध्ये चौथोबाहेक सबैमा नेपाल फाइनल पुगेको छ। भारत पाँचै पटकको च्याम्पियन हो। एक पटकमात्र सन् २०१६ मा नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो। संयोग त्यति बेला थापा नै टोलीको मुख्य प्रशिक्षक थिए। त्यति बेलाको सेमिफाइनल प्रतिद्वन्द्वी पनि अरु कोही नभएर भारत नै थियो। 

साफ च्याम्पियनसिपमा नेपालले हराउन नसकेको भनेको भारत मात्रै हो। फिफाको निलम्बनका कारण दुई साता अघिसम्म पनि भारतको सहभागिता अनिश्चित थियो। गत साता निलम्बन फुकुवा भएसँगै भारतको सहभागिता निश्चित मात्र होइन टोली काठमाडौं आइसकेको छ। सबै टोली काठमाडौं आइसकेका छन्। 

साफ च्याम्पियनसिप होस् वा दक्षिण एसियाली खेलकुद (साग) सधैँ भारत नै नेपालको मुख्य बाधक हो। सागमा पनि नेपाल भारतसँग नै पराजित हुँदै आएको छ। तीन वर्षअघि १३औं सागको पोखरामा भएको फाइनलमा पनि नेपाल भारतसँग नै निराश भएको थियो। 

इतिहास भन्छ– भारतलाई हराउनसके च्याम्पियन!
इतिहास हेर्दा च्याम्पियन बन्नका लागि भारतलाई हराउनुपर्ने हुन्छ। श्रीलंका र भुटान रहेको समूह बी नेपालका लागि केही सहज मानिएको छ। 

समूह चरण पार गरेपछि नेपालले सेमिफाइनलमै पनि भारतको सामना गर्नुपर्ने पनि हुन सक्छ। त्यसका लागि भारत, पाकिस्तान, बंगलादेश र माल्दिभ्स रहेको समूह ए को राउन्ड रोविनको नतिजा कुर्नुपर्ने हुन्छ। 

सेमिफाइनल होस् वा फाइनल जहाँ भेटे पनि भारतलाई हराउन नसक्दासम्म च्याम्पियन बन्ने सम्भावना छैन। अघिल्ला संस्करणको नतिजा हेर्दा नेपाल र बंगलादेशबाहेक भारतलाई बलियो चुनौती दिन सक्ने टोली छैनन्।

मुख्य प्रशिक्षक थापाले भारतमाथिको जित कति महत्वपूर्ण हुन्छ भन्ने राम्ररी बुझेका छन्। 

‘हामीले खेल्दा भारतलाई हराउन सकेनौँ भनेर खेल जीवनमा रिग्रेट हुनुभन्दा केही गर्यौँ भनेर भन्न सक्ने हुनुपर्छ। हाम्रो पालामा भारतलाई हरायौँ भन्न सक्ने हुनुपर्छ’, उनले आशा गरेका छन्, ‘यो पटकको साफ घरेलु मैदान, खेलाडीको करियर र इतिहासले फरक पार्छ जस्तो लाग्छ। यो पटक पनि यस्तै नतिजा आयो भने मेरो लागि महिला फुटबलमा ढोका बन्द हुन्छ। जो ८ वर्षदेखि खेलिरहेका छन्, उनीहरुले सधैँ एउटा नतिजा ल्याउने हो भने नयाँ मान्छे आउँछ नयाँ ढङगले सुरुवात गर्छ।’ 

घरेलु भूमिमा भारतलाई हराउने मौका
नेपालका लागि दशरथ रंगशालामा घरेलु दर्शकका सामु भारतलाई हराउने योभन्दा राम्रो मौका सायद नै अर्को आउला। भारत नेपालले हराउन नसक्ने टोली पनि होइन।

विराटनगरमा साफ च्याम्प्यिनसिप खेल्नुअघि हिरो गोल्डकपमा नेपालले भारतमाथि जित निकालेको थियो।

तर त्यो इतिहासिक सफलतालाई विराटनगरमा दोहोराउनबाट भने नेपाली टोली चुक्यो। मुख्य प्रशिक्षक थापा भारतले राम्रो खेलेर भन्दा पनि नेपाली टोलीले गर्ने गल्तीबाट हारेको स्मरण गर्छन्। 

उनी भन्छन्, ‘हामी आफ्नै गल्तीका कारण पराजित हुन्छौ तर यो पटक गल्ती कम गर्ने रणनीतिमा छौँ।’ 

थापाले ३ नयाँलाई समेट्दै २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन्। उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका मिडफिल्डर दिपा शाही, फरवार्ड अमिशा कार्की र डिफेन्डर समिक्षा घिमिरेले पहिलो पटक राष्ट्रिय टोली मौका पाएका हुन्। 

समिक्षाले उमेर समुहमा देशको प्रतिनिधित्व गरिसकेकी छिन्। २०७७ महिला लिगको दौरान घुँडामा चोट लागेपछि शल्यक्रिया गराएकी थिइन्। चोटमुक्तसँगै पुनरागमन गरेकी समिक्षा ‘डेब्यू’ गर्नेमा आशावादी छिन्। 

भन्छिन्, ‘साफ च्याम्पियनसिप अनि दशरथ रंगशालामा यो ठूलो अवसर हो। खेल्ने मौका पाए भने आफ्नो शतप्रतिशत दिन्छु।’ 

सिनियर टोलीमा पर्दा उनको उत्साह नै बेग्लै छ। 

‘सिनियर खेलाडीहरुबाट पनि धेरै सिक्ने अवसर पाएको छु’, आशावादी उनले थपिन्, ‘तयारी राम्रो भइरहेको छ। हाम्रो लक्ष्य भनेको च्याम्पियन बन्नु नै हो।’

लगातारको च्याम्पियन भारत उपाधि रक्षाको लक्ष्यसहित नेपाल आइपुग्दा पाकिस्तान भने ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गर्दै छ। बंगलादेशले महिला फुटबलमा केही वर्षयता राम्रो लगानी गरेको छ भने भुटानले पनि विस्तारै गति लिइरहेको छ। साफमा भारतलाई अति बलियो मान्ने थापा पनि अन्य टोलीलाई पनि सहज लिन नहुने बताउँछन्। 

‘भारतसँग त विशेष सतर्क हुनैपर्छ। त्यसबाहेक अन्य टोली पनि कमजोर छैनन्’, उनले भने, ‘सबैले राम्रो तयारी गरेका छन्। हामी कसैलाई कमजोर मान्ने छैनौँ। हरेक खेललाई उत्तिकै महत्व दिन्छौं। च्याम्पियन बन्नका लागि हरेक खेलमा सफल नतिजा निकाल्दै अघि बढ्नुपर्छ।’ 

चौथोपटक खेल्दै सावित्रा
सन् २०१४ को साफ च्याम्पियनसिपबाटै राष्ट्रिय टोलीबाट डेब्यू गरेकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) चौथो पटक साफ खेल्ने तयारीमा छिन्। १३औँ सागपछि उनी झण्डै एक वर्ष चोटका कारण मैदान बाहिर रहेकी थिइन्। 

चोटमुक्त भएर उनले टोलीमा पुनरागमन गरेकी हुन्। साम्बासँगै मुटुमा समस्या देखिएपछि शल्यक्रिया गराएकी पुनम जर्घामगर र युवा फरवार्ड रेखा पौडेलले पनि राष्ट्रिय टोलीमा पूनरागमन गरेका हुन्। चोटकै कारण बाहिर रहेकी नियमित कप्तान रेनुका नगरकोटेको अभाव भने टोलीमा खड्कनेछ। 

एसियाली खेलकुदका लागि केही अघि भएको बन्द प्रशिक्षण र पछिल्ला सात हाप्ताको प्रशिक्षणले टोलीको तयारी राम्रो रहेको साम्बाको बुझाइ छ। 

उनले भनिन्, ‘यो पटक जुनियर खेलाडीहरु राम्रा छन्। साफको लागि हामीले निकै मेहनत गरेका छौ। हामी व्यक्तीगत भन्दा पनि टोलीलाई सफल नतिजा दिलाउन मिहिनेत गरिरहेका छौँ।’ 

साफ च्याम्पियनसिपमा यसअघि सधै निराश हुनुपरेको स्मरण गर्दै साम्बा यो पटक च्याम्पियन बन्नका लागि टोली दृढ रहेको बताउँछिन्। 

उनको आगमनले टोली थप मजबुद बनेको मुख्य प्रशिक्षक थापा बताउँछन्। थापा सबैलाई मौका दिने योजनामा छन्। 

‘सबै खेलाडी हाम्रो लागि उत्तिकै महत्वपूर्ण छन्। पहिला पनि मैले सबैलाई मौका दिएको थिएँ’, उनले भने, ‘खेलको अवस्था र प्रदर्शनका आधारमा सबैलाई मौका दिने योजनामा छौँ। खेलाडीले पनि मौका पाउँदा आफूलाई प्रमाणित गर्नुपर्दछ।’ 

उपविजेता छवि बदल्न सम्भवतः नेपाली टोलीका लागि यो जत्तिको राम्रो अवसर अर्को हुनेछैन। सन् २०१३ मा पुरुष टोलीले घरेलु मैदानमा साफ च्याम्पियनसिप जित्न नसकेको त्यो समयलाई बिर्साउने गरी इतिहास रच्ने मौका यसपटक महिला टोलीको काँधमा आएको छ।  

भदौ २०, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad