खेल


पारस र गौरीकासहित सात खेलाडीलाई सर्वकालीन सम्मान

पारस र गौरीकासहित सात खेलाडीलाई सर्वकालीन सम्मान

नेपालखबर
साउन १९, २०७९ बिहिबार १८:२, काठमाडौँ

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र पौडीकी गौरीका सिंहसहित सात खेलाडी ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान बाट सम्मानित भएका छन्। 

हाम्रो खेलकुदडटकमले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा सात खेलाडीलाई सम्मान गरेको हो।

धावक जितबहादुर केसी, धावक बैकुण्ठ मानन्धर, फुटबलका राजुकाजी शाक्य, ओलम्पियन तेक्वान्दोकी संगीना वैद्य, तेक्वान्दोकै दीपक विष्ट, क्रिकेटका पूर्व कप्तान पारस खड्का र पौडीकी गौरीका सिंह सर्वकालीन सम्मानबाट सम्मानित भए। सम्मानित खेलाडीलाई हाम्रो खेलकुदले जनही २५ हजार रुपैयाँसँगै सम्मान पत्र दिएको हो। 

सम्मानित व्यक्तिलाई सांसद् गगन थापा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ, चाइना ट्रेडलिंक सिइओ राजन महर्जन, बेथानचोक गाँउपालिकाका निवर्तमान अध्यक्ष प्रेम बहादुर तिमिल्सिना, श्यामकृष्ण हुमागाईं, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले पुरस्कृत गरे।

एथ्लेटिक्सका खेलाडी जीतबहादुर केसीले झण्डै ५ दशक अघि एसियन एथलेटिक्स च्याम्पियनसिपमा कास्य पदक जितेका थिए।

फिलिपिन्समा भएको च्याम्पियनसिपको म्याराथनमा केसीले २ घण्टा ३५ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान प्राप्त गरेका थिए। कुनै पनि नेपाली खेलाडीले जितेको त्यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो। ओलम्पियन केसी अहिले पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा कार्यरत छन्।

एथलेटिक्सकै बैकुण्ठ मानन्धरले सन् १९८४ मा सुरु भएको सागमा मानन्धरले लगातार तीन संस्करणमा म्याराथनमा स्वर्ण पदक जितेका थिए। सागमा स्वर्ण पदकमा ह्याट्रिक गर्ने उनी पहिलो नेपाली हुन्।

सन् १९८७ मा भएको तेस्रो सागमा उनले म्याराथनमा कीर्तिमान बनाएका थिए। त्यति बेला उनले २ घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अहिले सम्म भंग हुन सकेको छैन। मानन्धरले सर्वाधिक ४ पटक ओलम्पिकमा देशको प्रतिनिधित्व गरेका छन्। 

फुटबलका राजुकाजी शाक्य पहिलो संस्करण सन् १९८४ र छैटौं १९९३ मा फुटबलतर्फ स्वर्ण जित्दा शाक्य टोलीका महत्वपूर्ण सदस्य थिए।

छैटौं संस्करणमा नेपाली फुटबलले स्वर्ण भित्राउँदा उनी टोलीको कप्तान थिए। प्रशिक्षकका रुपमा २०१६ मा भारतमा भएको सागको १२ औं संस्करणमा २३ वर्ष मुनिको फुटबल टोलीलाई स्वर्ण दिलाएका थिए। शाक्य हाल एनआरटीको प्रशिक्षकका रुपमा कार्यरत छन्। 

तेक्वान्दोकी संगीना वैद्यले विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सन् १९६० देखि नेपाली खेलाडीले सहभागिता जनाउन शुरु गरेपनि संगीनाले २००४ को एथेन्स ओलम्पिकका लागि छनोट चरण पार गरेकी थिइन्। स्वदेशमा आयोजना भएको १९९९ को आठौं र २००४ नवौं सागमा स्वर्ण पदक जितेकी संगीना १३ औं सागमा टोलीको प्रशिक्षक थिइन्। उनी तेक्वान्दोकी एसियन च्याम्पियन पनि हुन्।

तेक्वान्दोकै दीपक विष्टले स्वदेशमा सन् १९९९ मा आयोजना भएको आठौं सागदेखि लगातार चार संस्करणमा तेक्वान्दोतर्फ स्वर्ण जितेका थिए।

त्यस्तै उनले सन् २००२ र २००६ मा एशियाली खेलकुदमा कास्य जितेका थिए। छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने दोस्रो खेलाडीको रुपमा पनि उनले बेइजिङ ओलम्पिक २००८ खेलेका थिए। नेपाल ओलम्पियन संघका अध्यक्ष समेत रहेको दीपक हाल तेक्वान्दोका प्रशिक्षक हुन्। 

क्रिकेटका पारस खड्का नेपाली क्रिकेट इतिहासका सर्वाधिक सफल कप्तान र खेलाडी हुन्। नेपालले अहिलेसम्म खेलेको एकमात्र टी–२० विश्वकप २०१४ खेल्दा होस् वा सन् २०१८ मा ओडिआई मान्यता प्राप्त गर्दा होस् दुवैमा पारस नै टोलीको कप्तान थिए।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पहिलो उपाधि डिभिजन ५ हुँदै ४ र ३ को उपाधि उनकै नेतृत्वमा नेपालले जितेको थियो। नेपालका लागि ओडिआई र टी–२० दुबैमा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन्।

जलपरीको नामले चिनिने पौडीकी गौरीका सिंह तीन वर्ष अघि स्वदेशमा भएको १३ औं सागमा गौरिकाले ४ स्वर्ण पदकसहित ९ पदक जितेकी थिइन्। सागको पौडीतर्फ व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी थिइन्।

सन् २०१६ को रियो ओलम्पिकमा भाग लिँदा सबैभन्दा कम उमेरकी खेलाडी थिइन्। त्यति बेला उनको उमेर १३ वर्षको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .