ad ad

खेल


साफ यू२० मा भारतसँग नेपालको हारले जन्माएको प्रश्न

साफ यू२० मा भारतसँग नेपालको हारले जन्माएको प्रश्न

लक्ष्मी जि.सी
साउन १९, २०७९ बिहिबार ७:४८, काठमाडौँ

साफ यू२० च्याम्पियनसिपमा भारतसँगको नेपालको ८–० को हार अप्रत्यासित थियो। भारतलाई जित्न कठिन छ भन्ने पनि धेरैलाई लागेकै थियो। यति ठूलो अन्तरको पराजय कल्पनाभन्दा बाहिरको थियो।

त्यो खेल बराबर गर्दा पनि नेपाली टोली च्याम्पियनसिपको फाइनल पुग्ने सम्भावना थियो। तर, टोली पराजित भएपछि च्याम्पियनसिपको फाइनलको यात्रा असम्भव बन्यो।

माल्दिभ्स र श्रीलंकालाई हराउँदै बलियो दाबेदारी पेश गरेको नेपाली टोलीलाई फाइनल पुग्ने आशा गरिएको थियो। 

यू१९ का रुपमा यसअघि आयोजना भएको च्याम्पियनसिपको सुरुवाती दुई संस्करणको विजेता हुनुका नाताले पनि नेपाललाई दाबेदारका रुपमा हेरिनु अस्वाभाविक थिएन। भारतसँगको हारपछि सिनियर खेलाडी युवा टोलीको पक्षमा उभिए।

राष्ट्रिय टोलीबाट खेलिसकेको कतिपय खेलाडीले युवा टोलीको एउटा हारकै आधारमा मूल्याङ्कन गर्न नहुने तर्क गरेका छन्। कतिपय खेलाडीले घरेलु फुटबलमा युवा फुटबलको अवस्थाका बारेमा प्रश्न गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) खेलाडी संघका अध्यक्ष विक्रम लामाले युवा टोलीको हारपछि सामाजिक सञ्जालमार्फत घरेलु फुटबलको संरचनाका बारेमा प्रश्न गरेका छन्।

उनले लेखेका छन्, ‘साफ यू २० मा भारतसँग ८–० गोल अन्तरले हार्नु चिन्ताको विषय रहेन। किनकी चिन्ता त अब गर्नुपर्ने दिन आउँदै छ भन्ने मेरो बुझाइ हो। यदि घरेलु फुटबलको संरचना र युथ फुटबलको गतिविधि नहुने हो भने भोलि गएर प्रत्यक्ष असर राष्ट्रिय टिमलाई पर्नेछ।

जसको अर्थ नेपाली फुटबललाई पर्नु हो। पक्कै भोलिका दिनमा समय समयमा उत्कृष्ट खेलाडी जन्मिने वा पाउनेछौं। तर ती खेलाडीलाई अनुभवी बनाउने कसरी? यसरीनै बारम्बारको गोल अन्तरको खेलहरुबाट?’

उनले थपेका छन्, ‘के बलियो संरचना सहितको घरेलु फुटबल तथा उमेर समूहको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलबाट अनुभवी बनाउन सकिदैन र? तसर्थ उमेर समूहका खेलाडीलाई खेल्ने वातावरण र खेलाडी उत्पादनमा गम्भीर हुने समय सायद आजको प्रमुख विषय हो।’

विक्रमले लेखेका छन्, ‘समग्रमा भन्ने हो भने कुनै पनि राष्ट्रको फुटबल विकासको आधार नै घरेलु फुटबलको बलियो संरचना हो। समस्या हरेक क्षेत्रमा रहन्छ तर समाधान खोज्न सक्नु बुद्धिमता हो। समस्या औंल्याइदिने काम धेरै भयो तसर्थ समस्या औंल्याइदिने मात्र होइन, अब समाधान खोज्ने तिर पनि लाग्ने कि? युवा टोलीको हारको समिक्षा गर्दैै भविष्यका लागि योजना बनाएर अघि बढ्न एन्फा तयार हुन्छ कि नयाँ कार्यसमिति बनेपछि आ आफ्नै स्वार्थमा रुमलिन्छ त्यसका लागि भने केही समय कुर्नुपर्ने देखिन्छ।’

फुटबलको कार्यकारी निकायको नयाँ कार्यसमितिले बैठक नै बस्न नसकेको अवस्थामा अरु धेरै आशा गर्न ठाउँ देखिँदैन। तर पनि एन्फाले आउने दिन युवा फुटबल विकासका लागि कसरी कदम चाल्छ त्यो महत्वपूर्ण हुन्छ। उमेर समूहका प्रतियोगिता हरेक दुई वर्षमा आयोजना हुँदा भारतसँगको हारले झस्काइरहनेछ।  

भारतसँगको खेलमा प्रशिक्षक मेघराज केसीले अलि जोखिम लिएको फुटबल विश्लेषक सञ्जीव मिश्रको बुझाइ छ। उनी भन्छन्, ‘दुई खेल जितेपछि भारतसँगको खेलमा खेलाडीहरुमा बढी नै आत्मविश्वास भएको जस्तो देखियो। रणनीतिकरुपमा पनि हाम्रो प्रशिक्षक र टिम म्यानेजमेन्टले केही नगरेको अनुभूति हुन्थ्यो। हामीलाई बराबरीको नतिजा पर्याप्त थियो। बराबरी हुँदा भारत आउट हुन्थ्यो। तर बराबरीको नतिजा निकाल्दा हुने खेलमा हामी त्यसरी सोचे जस्तो देखिएन। 

भारतसँगको खेलमा नेपाल पहिलो हाफमा १–० ले पछि परेको थियो। दोस्रो हाफमा ७ गोल थपेको थियो। गोलकिपरको कमजोरीमा पहिलो गोल खाएको नेपाली टोली दोस्रो हाफमा सम्हालिनै सकेन। उता भारतीय टोली भने नेपालमाथि लगातार हावी भएको थियो। नेपालको पक्षमा दिनुपर्ने केही निर्णय दिन रेफ्रीले कञ्ज्युस्याई गरे। तर, रेफ्रीलाई मात्र दोष लगाएर आफ्नो कमजोरी छोप्न सकिँदैन। हारपछि मुख्य प्रशिक्षक मेघराज केसीले पनि हारको जिम्मेवारी आफूले लिएका थिए। उनले खेलाडीलाई दोष नदिन पनि आग्रह गरेका थिए।

सुरुवाती दुई खेल जित्दा टोलीको वाहवाही भयो। भारतविरुद्धको हारपछि भने एकपछि अर्को प्रश्न उठे। भारत नेपालभन्दा केही बलियो टोली हो तर त्यो अन्तरको हार्नुपर्ने टोली भने नरहेको कतिपयको बुझाइ छ। 

उमेर समूहमा नेपालले भारतलाई पटकपटक हराएको छ। यद्यपि भारतसँग खेल्दा खेलाडीमाथि एक किसिमको मनोवैज्ञानिक असर भने महसुस गर्न सकिन्छ। 

सन् २०१५ मा स्वदेशमा भएको यू १९ को पहिलो संस्करण होस् वा २०१७ मा भुटानमा भएको साफ यू–१८ च्याम्पियनसिपमा भारतलाई नै हराएर नेपालले उपाधि जितेको थियो। भुटानसँग पहिलो खेलमा पराजित भएर पनि बाँकी सबै खेल जित्दै नेपाल च्याम्पियन बनेर फर्केको थियो। यसपटक परिस्थिति फरक बन्यो। 

यस्तै सन् २०१६ मा भारतको गुहावाटीमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) को यू२३ टोलीमा भारतलाई उसकै भूमिमा हराउँदै नेपाल च्याम्पियन बनेको थियो। भारतीय टोलीभन्दा प्राविधिकरुपमा नेपाल केही कमजोर भए पनि खेलाडीको स्तर भने उस्तै रहेको फुटबल विश्लेषक सुनाउँछन्।

यसपटकको टोलीमा अुनभवको कमी रहेको प्रष्ट थियो। यसपटकको टोलीलाई म्याच एक्सपोजरको कमी थियो। आन्तरिक तयारीकै भरमा नेपाली युवा टोली भारत यात्रामा निस्केको थियो। यू२० अघि यू१५, यू१७ को अनुभव अहिलेको टोलीमा कमी थियो। प्रतिस्पर्धात्मक फुटबलको कम अनुभव भएका खेलाडीमाथि विपक्षी कसरी हावी हुन्छन् भन्ने भारतसँगको खेल एउटा गतिलो उदाहरण हो। 

विगतमा दक्षिण एसियाली राष्ट्रमा सफल नतिजा निकालेको नेपालका लागि यसपटक गम्भीर रुपमा सोच्नुपर्ने अवस्थामा पुर्याइदिएको छ। अहिले यू२० का रुपमा आयोजना भएको च्याम्पियनसिप यसअघि यू१९ र यू१८ को मा नेपाल च्याम्पियन बनेको थियो। यू२३ ले खेल्ने सागमा पनि नेपाल पछिल्ला दुई संस्करणको विजेता हो। 

यसपटक माल्दिभ्सलाई ४–० ले हराउँदै च्याम्पियनसिपको यात्रा सुरु गरेको नेपालले अर्को खेलमा श्रीलंकामाथि ३–० को जित दर्ता गरेको थियो। भारतसँग ८–० को अप्रत्यासित हारपछि नेपाल च्याम्पियनसिपबाट लगभग बाहिरिएको थियो। अन्तिम खेलमा बंगलादेशसँगको बराबरी र अर्को खेलमा भारतको जितपछि नेपालको यात्रा राउन्ड रोविनमा टुंगिएको थियो। 

केसी घरेलु फुटबलका स्थापित प्रशिक्षक हुन्। उनका सहायकका रुपमा बालगोपाल साहुखलले पनि प्रशिक्षणमा अनुभव बटुलिसकेका छन्। ‘घरेलु फुटबलमा मेघराज केसी अब्बल प्रशिक्षक हुन्, कहिलेकाहीँ दिन बिग्रन सक्छ। भारतसँगको खेल त्यसैको एउटा उदाहारण हो’, विश्लेषक मिश्रले भने, ‘तर त्यो बेलामा रणनीति परिवर्तन गर्नु आवश्यक थियो। त्यसमा हामी चुक्यौं।’

नेपालको उमेर समूहको प्रशिक्षण सम्हालिसकेका राष्ट्रिय टोलीका पूर्वकप्तान राकेश श्रेष्ठ दुई खेलले उपाधि दाबेदारका रुपमा हेरिएको नेपाल भारतसँग पराजित भएपछि आशा निराशामा बदलिएको बताउँछन्। उनले भने, ‘भारतसँगको खेलमा हाम्रा खेलाडीको मनोबललाई नै कमजोर देखियो। सुरुवातबाट नै दबाबमा आयौँ। हामीले १,२ गोल खानेबित्तिकै डिफेन्सिभ खेल्नुपर्ने थियो।  रणनीति परिवर्तन गर्नुपर्ने थियो। तर त्यस्तो हुन सकेन। युथमा भारतसँगको यति फराकिलो हार स्वाभाविक होइन। हामी त्यति कमजोर हुन्छौं भन्ने लागेको थिएन।’

मिश्रको भनाइमा सहमत हुँदै श्रेष्ठ थप्छन्, ‘प्रशिक्षकले रणनीति परिवर्तन गर्नुपर्ने थियो। तर अब हारिसक्यौँ के चान्स लिने? भने जस्तो देखिएको थियो। जसले गर्दा धेरै गोल भयो।’ श्रेष्ठ एउटा नतिजालाई मात्र नहेरेर समग्र च्याम्पियनसिपमा भने नेपाली टोलीको प्रदर्शन सन्तोषजनक मान्छन्। 

राष्ट्रिय टोली बलियो बनाउनका लागि युवा टोलीलाई बढी भन्दा बढी एक्सपोजर दिनुपर्छ। अहिलेका युवा खेलाडी नै भविष्यमा राष्ट्रिय टोलीमा पुग्नेछन्। नतिजाभन्दा पहिला तयारीमा ध्यान दिन जरुरी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .