ad ad

खेल


नेपाललाई एक दिवसीय मान्यता जोगाउने चुनौती

नेपाललाई एक दिवसीय मान्यता जोगाउने चुनौती

प्रशिक्षणका क्रममा नेपाली क्रिकेट टोली


लक्ष्मी जि.सी
जेठ २६, २०७९ बिहिबार १८:५४, काठमाडौँ

आईसीसी विश्वकप छनोट लिग–२ अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार राति ओमानसँग खेल्दै सिरिजको सुरुवात गर्दैछ। 

नेपालको यो लिग–२ मा चौथो त्रिकोणात्मक सिरिज हो। लिगमा नेपालले अहिलेसम्म सबैभन्दा कम खेल खेलेको छ। विश्वकप लिग–२ को पूरै खेल सकिने सम्भावना छैन। त्यसैले सिरिजमा जितको प्रतिशतको आधारमा शीर्ष तीन टोलीको टुंगो हुने सम्भावना छ। 

सात टोली सहभागी लिग–२ मा शीर्ष ३ मा रहने टोली विश्वकपको ग्लोबल छनोटमा पुग्नेछन्। त्यसपछिका शीर्ष दुई टोलीको एकदिवसीय मान्यता कायम रहँदै प्ले अफ खेल्न पाउनेछन्। बाँकी दुई टोलीले पनि विश्वकप छनोटको ग्लोबल क्वालिफायर्सका लागि प्लेअफ खेल्ने मौका पाउनेछन्।  

विश्वकप छनोटमा स्थान बनाउन नेपाललाई यो भ्रमणका सबै खेलमा जित आवश्यक छ। 

नेपालका लागि विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन र एक दिवसीय मान्यता जोगाउन उत्तिकै महत्वपूर्ण छ। सन् २०१८ मा पपुवा न्युगिनीलाई हराउँदै सन् २०२२ सम्मका लागि पहिलोपटक एक दिवसीय मान्यता पायो। 

तर, कोरोना महामारीको कारण नेपालले उक्त एकदिवसीय मान्यताको फाइदा भने उठाउन सकेन। महामारीका कारण प्रतियोगिता हुन नसक्दा उक्त मान्यता एक वर्षका लागि बढाइएको छ। 

सन् २०२३ सम्म नेपालले लिग २ को शीर्ष पाँचभित्र रहने सके अर्को ५ वर्षका लागि मान्यता जोगाउन सक्छ। तर नेपालका लागि एकदिवसीय मान्यता जोगाउन त्यति सहज भने छैन। 

नेपालको एक दिवसीय मान्यता जोगिने वा नजोगिने भन्ने कुरा धेरै हदसम्म अमेरिका सिरिज र त्यसपछि हुने स्कटल्याण्ड भ्रमणमा निर्भर हुन सक्छ।  

एक दिवसीय क्रिकेटमा अमेरिकामाथि नेपाल हाबी हुँदै आएको छ। वरीयतामा नेपाल १७ औँ स्थानमा रहँदा अमेरिका २८ औं स्थानमा छ।

विश्वकप छनोटअन्तर्गत लिग–२ मा अहिलेसम्म भएको ४ खेलमध्ये ३ खेलमा नेपाल विजयी भएको छ भने एक खेलको नतिजा अमेरिकालाई सुम्पेको छ। 

यद्यपि घरेलु मैदानमा अमेरिकालाई हराउनु नेपालको लागि सहज छैन। अमेरिकाले पछिल्लो समय घरेलु मैदानमा खेलेको खेलमा लिगका शीर्ष तीनमा रहेका टोलीलाई हराउँदै आफूलाई अब्बल साबित गरिसकेको छ। 

त्यसैले अमेरिकाको टोली उच्च मनोबलमा रहेको छ। बुधबार भएको खेलमा पनि अमेरिकाले लिगको शीर्षस्तानमा रहेको टोली ओमानसँग १४१ रनको फराकिलो जित हात पारेको थियो। त्यसैले मौसमका कारण पनि नेपाली टोलीलाई अमेरिका भ्रमणमा असहज हुनेछ। 

उता ओमान वरीयतामा ३२ औं स्थानमा छ। वरियतामा पछि रहे पनि ओमान नेपालमाथि हाबी हँुदै आइरहेको छ। लिग–२ का ४ भेटमा नेपालले एक खेलमा मात्र जित निकालेका छन्। यिनमा ३ खेलको नतिजा ओमानलाई सुम्पेको छ। त्यसैले अमेरिका भ्रमण नेपालका लागि चुनौतीपूर्ण छ। 

नेपालको समस्या 
अमेरिका भ्रमण नेपालका लागि निकै महत्वपूर्ण र चुनौतीपूर्ण रहँदा सिरिजकै मुखमा नेपाली टोलीमाथिको दबाब भने बढेको छ। नेपाली टोलीका नियमित ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख घाइते छन्। 

त्यसैले ओपनिङ जोडीका रुपमा बिहीबारको खेलमा सुवास खकुरेल र सुनिल धमला उत्रिन सक्ने सम्भावना छ। लामो समयपछि टोलीमा फर्किएका सुवासका लागि यो खेल परीक्षा पनि हो। सुनिल धमलाको प्रदर्शन पनि त्यति राम्रो छैन। 

त्यसो त नेपालको ब्याटिङ मध्यक्रममा पनि घरबाहिर त्यति राम्रो चल्न सकेको छैन। मध्यक्रमका ब्याटरबाट बेलाबेलामा नेपालले धोका पाउँदै आएको छ। 

ब्याटिङको समस्या नेपाली टोलीमा यसपटक पनि देखिन सक्छ। यसअघि घरेलु मैदानमा ब्याटिङमा केही सुधार भएको देखिए पनि घरबाहिर भने नेपाली टोलीको ब्याटिङ कमजोर रहँदै आएको छ। 

बलिङमा नेपाल बलियो देखिए पनि ब्याटिङमा चुक्दै आएको छ। यद्यपि यसपटकको सिरिजमा राम्रो नतिजा हात पार्न नेपालको ब्याटिङमा सुधार गर्नुपर्ने स्पष्ट देखिएको छ। 

क्रिकेट विश्वकप लिग–२ कै खेलहरूमा पनि नेपालले ब्याटरहरुले जिम्मेवारीपूर्वक रन नबनाउँदा हारको सामना गर्दै आएको छ। 

नेपाली टोलीका खेलाडीहरुबीचको मनमुटावको असर पनि खेलमा देखिन सक्छ। खेलाडीले यो कुरालाई स्वीकार नगरे पनि बेलाबखत मैदानमा त्यसको प्रभाव देखिने गरेको छ। 

टोलीका सबै खेलाडी मुलुकलाई जित दिलाउने लक्ष्यका साथ मैदानमा उत्रिने भएकाले आन्तरिक कुराले असर नगर्ने दाबी खेलाडीले गर्दै आएका छन्। 

लिग–२ का अंक तालिका 
आईसीसी लिग–२ को अहिलेसम्मको अंक तालिकालाई हेर्ने हो भने ओमान शीर्ष स्थानमा छ। अमेरिका सिरिजपछि ओमानको लिग–२ को सबै खेल सकिनेछ। 

यो समूहबाट ओमान विश्वकपको ग्लोबल छनोटमा जाने पक्का छ। ओमानले लिग–२ मा ३३ खेल खेल्दा ४० अंक जोडेको छ। दोस्रो स्थानमा रहेको स्कटल्याण्डले २० खेलबाट २८ अंक जोडेको छ। 

युएईले २२ खेलबाट २६ अंक जोडर तेस्रो स्थानमा रहँदा एक खेल कम खेलेको अमेरिकाले २० अंक जोडेर चौथो स्थानमा छ।

पाँचौ स्थानमा रहेको नामिबियाले १४ खेलबाट समान १४ स्थान नै बनाएको छ। पुछारमा रहेको पपुवा न्युगिनीले भने २० खेलबाट २ अंक बनाएको छ। यस्तोमा पीएनजीले सोझै ग्लोबल छनोटको क्वालिफायर्स खेल्ने सम्भावना सकिइसकेको छ। 

लिगमा सबैभन्दा कम खेल खेल्ने टोली नेपाल मात्र हो। नेपालले जम्मा १२ खेल खेल्दै १२ अंक जोडेको छ। १२ मध्ये ६ खेलमा जित र समान खेलमा हार भोगेको छ। 

एक दिवसीय मान्यता बचाउन नेपाल शीर्ष ५ मा रहन जरुरी छ। नेपालको अब हुने दुवै सिरिजका खेलमा जित हात पार्न सक्ने अमेरिका र नामिबियालाई पछि पार्न सक्छ। 

यस्तोमा नेपालको एक दिवसीय मान्यता कायम रहने सम्भावना बलियो हुनेछ। अन्यथा नेपालले पुनः छनोट खेल खेल्नुपर्ने हुन्छ। 

अमेरिका सिरिजमा नेपालको खेल तालिका 
जेठ २६– नेपालविरुद्ध ओमान
जेठ २८– नेपालविरुद्ध अमेरिका
जेठ ३१– नेपालविरुद्ध ओमान
असार १– नेपालविरुद्ध अमेरिका  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .