विश्व क्रिकेटका महान हस्ती सचिन तेन्दुल्कर शुक्रबार साँझ काठमाडौं आइपुगेका छन्। युनिसेफको बालअधिकार सम्बन्धि सचेतनामुलक कार्यक्रममा सहभागिताका लागि सचिन काठमाडौं आएका हुन्।
विमानस्थल स्रोतका अनुसार कडा सुरक्षाका साथ सचिनलाई होटल लगिएको छ। उनी शुक्रबार राति होटल द्वारिकामा बस्ने कार्यक्रम छ। शनिबार बिहान सचिनले त्रिवि क्रिकेट मैदानमा विनोद दासको टोलीसँग सद्भावना क्रिकेट खेल्नेछन्। उक्त खेल शनिबार १० बजे सुरु हुने भनिए पनि युनिसेफले ९ बजेभित्र नै मैदान प्रवेश गरिसक्नुपर्ने जनाएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासले विश्व क्रिकेटका महान खेलाडी सचिन तेन्दुलकरकाे नेपाल आगमनले नेपाली क्रिकेटलाई उर्जा दिने बताएका छन्।
शनिबार विनोदले सचिनसँग त्रिवि क्रिकेटमा मैदानमा सद्भावना क्रिकेट खेल्दै छन्। युनिसेफले बालबालिकाको अधिकारसम्बन्धी सचेतना जगाउन आफ्ना सद्भावना दूतसमेत रहेका सचिनलाई नेपाल ल्याएकाे हो।
सचिन र विनोदको टिमका अन्य सदस्य भने बालबालिकाहरु हुनेछन्। विनोदले सामाजिक सञ्जालमार्फत सचिनविरुद्ध त्रिवि मैदानमा खेल्न लागेको पुष्टि गरेका थिए। उनले क्रिकेट शब्दको समानार्थी व्यक्तिसँग मैदान सेयर गर्न पाउँदा खुसी लागेको बताएका छन्।
जान्नुहोस् सचिनबारे
सचिन भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य तथा कप्तान हुन। विश्व क्रिकेटका इतिहासमा उनी एक महान खेलाडीका रुपमा परिचित छन। अन्तर्राष्ट्रिय क्रिकेटमा उनी सर्वाधिक रन स्कोरर हुन।
सन् १९८९ मा पाकिस्तानविरुद्ध भारतीय टोलीबाट १६ वर्षको उमेरमा डेब्यू गरेका सचिनले त्यसपछि २५ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेले। एक सय अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने सचिन एक्ला खेलाडी हुन्। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन्। टेस्ट र ओडिआईमा उनी सर्वाधिक रन स्कोरर समेत हुन्।
अन्तर्राष्ट्रिय क्रिकेटमा ३० हजार रन पूरा गर्ने सचिन एक्ला खेलाडी हुन्। उनको उचाई केही कम भएकाले उनलाई लिटिल मास्टर ब्लास्टरको नामले पनि चिनिन्छ। भारतले २०११ को क्रिकेट विश्वकप जित्दा सचिन त्यसको सदस्य थिए। ६ वटा विश्वकप खेल्दा उनले जितेको त्योमात्रै एक विश्वकप हो।
२००३ मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा भने उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी भएका थिए। उनको योगदानको कदर गर्दै भारत सरकारले उनलाई प्रतिष्ठित अर्जुन अवार्ड, राजिव गान्धी रत्न, पदम श्री, पदम विभुषण, भारत रत्न, बाट सम्मान गरिसकेको छ। सचिन भारतीय संसदको माथिल्लो सदन राज्य सभाको पनि सदस्य रहिसकेका छन।
सन् २०१० मा टाइम म्यागेजिनले सचिनलाई संसारका १०० प्रभावशाली व्यक्तिको सुचिमा समेतेको थियो। २०१२ मा सचिनले ओडिआईबाट सन्न्यास घोषणा गरेका थिए। अर्कोवर्ष उनले मुम्बईको वानखडे स्टेडियममा वेष्ट इण्डिजविरुद्धको खेलमा सबै खाले क्रिकेटबाट विदाई लिए। ६६४ अन्तर्राष्ट्रिय खेल खेलेका सचिनले ३४ हजार ३ सय ५७ रन बनाएका छन्।
प्रतिक्रिया