खेल


मिसन विश्वकपः सुधारिएको ब्याटिङले बढाएको आशा

मिसन विश्वकपः सुधारिएको ब्याटिङले बढाएको आशा

यज्ञराज जोशी
माघ १९, २०७८ बुधबार १८:३०, काठमाडौँ

नेपालले पछिल्लो पटक टी–२० अन्तर्राष्ट्रिय खेल २०२१ को अप्रिलमा खेलेको थियो। घरेलु मैदानमा नेपालले नेदरल्यान्ड्स र मलेसियालाई आथित्य प्रदान गर्यो। शृंखला आफ्नो पक्षमा पार्न नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका कुशल भुर्तेलको प्रदर्शन महत्वपूर्ण रह्यो।

पाँच खेलमा ४ अर्धशतकसहित १४० को स्ट्राइक रेटमा २७८ रन जोडेपछि उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए। 

सोही प्रतियोगितामा नेपालका आसिफ सेख सर्वाधिक रन बनाउने सूचीको तेस्रो नम्बरमा थिए। उनले पाँच खेलका पाँच इनिङ्समा १३८ को स्ट्राइक रेटसहित १५४ रन जोडेका थिए। 

आसिफसँगै तत्कालीन उपकप्तान दीपेन्द्रसिंह ऐरीले पाँच खेलका चार इनिङ्समा २१६ को स्ट्राइक रेटसहित ब्याटिङ गरेका थिए। तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लको स्ट्राइक रेट १६४ को थियो। उनले पाँच खेलका चार इनिङ्समा १०७ रन जोडेका थिए। 

त्यस्तै चार खेलका तीन इनिङ्समा कुशल मल्लले २१२ को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए। 

पछिल्लो पटक नेपाली खेलाडीले घरेलु मैदानमा प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिता खेलेका थिए। जसमा आसिफ सेखले १६९, प्रदीप ऐरीले १०१, कुशल भुर्तेलले १४३, दीपेन्द्रसिंह ऐरीले १४२, लोकेस बमले २११ र विवेक यादवले १२४ को स्ट्राइकरेटमा ब्याटिङ गरेका थिए। 

दुई हप्तापछि नेपालले टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ। उक्त प्रतियोगितामा नेपाली ब्याटिङ यिनै खेलाडीमा निर्भर हुनेछ। 

राष्ट्रिय टोलीका मुख्य छनोटकर्ता दीपेन्द्र चौधरी पछिल्ला प्रतियोगितामा खेलाडीहरुको स्ट्राइक रेटमा सुधार आउनुले नेपाली ब्याटिङ बलियो बन्दै गएको संकेत गर्ने बताउँछन्।

‘ब्याटिङ अवश्य सुधार भएको छ। नयाँ खेलाडी आएका छन्। उनीहरुको स्ट्राइक रेटमा सुधार छ,’ चौधरीले नेपालखबरसँग भने, ‘उनीहरुले पावर प्लेको सदुपयोग गरिरहेका छन्। ओपनिङ जोडी, छक्का हान्ने क्षमताका खेलाडी र अनुभवीहरुको सम्मिश्रणले यसपटक नेपाल विश्वकपमा छनोट हुने विश्वास बढाएको छ।’

प्रशिक्षक पुबुदु दासानायकेले घोषणा गरेको १६ सदस्यीय टोलीमा कुशल भुर्तेल र आसिफ सेखले ओपनरको जिम्मेवारी सम्हाल्ने आशा गरिएको छ। तेस्रो नम्बरमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, चौथोमा दीपेन्द्रसिंह ऐरी, पाँचौँमा शरद भेषावकर वा आरिफ सेख तथा छैटौँमा लोकेश बम वा विवेक यादवले स्थान बनाउने सम्भावना देखिएको छ। त्यसपछि अलराउन्डरका रुपमा कुशल मल्ल, करण केसी तथा बलरहरु हुनेछन्।

घरेलु मैदानमा भएको त्रिदेशीय शृंखलापछि नेपालले सेप्टेम्बरमा ओमानमा विश्व क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग एक दिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो। त्यसमा भने नेपाली ब्याट्सम्यानले आफ्नो लयलाई निरन्तरता दिन सकेका थिएनन्। 

राष्ट्रिय टोलीका मुख्य छनोटकर्ता चौधरी यसपल्ट नेपाली ब्याटिङमा ब्याकअप भए पनि म्याच एक्स्पोजरको अभावमा खेलाडीहरुले लयलाई निरन्तरता दिन नसकेको बताउँछन्। 

‘ब्याटिङमा सबैको ब्याकअप छ। एउटाले प्रदर्शन नगर्दा अर्को विकल्प छ,’ उनी भन्छन्, ‘घरेलु मैदानमा देखिएकै स्तरको प्रदर्शन अन्तर्राष्ट्रिय क्रिकेटमा पनि हुन्छ भन्न सकिँदैन। यी खेलाडीलाई म्याच एक्स्पोजर कम छ। खेलाडीले लयलाई निरन्तरता दिनसके त्यसको हाम्रो पक्षमा नतिजा दिनेछ।’

प्रशिक्षक दासानायकेले सुरुमा घोषणा गरेको बन्द प्रशिक्षणको टोलीमा नअटाएका लोकेश बमले प्रधानमन्त्री कपको प्रदर्शनपछि सिधै अन्तिम टोलीमा स्थान बनाएका थिए। एपीएफ क्लबबाट खेलेका लोकेशले आर्मीविरुद्ध १४ बलमै र बागमतीविरुद्ध २१ बलमा सनसनीपूर्ण अर्धशतक प्रहार गरेका थिए। 

दोस्रो पटक नेपाली क्रिकेट टोली सम्हाल्न आएका प्रशिक्षक दासानायके अहिले नेपालको ब्याटिङमा देखिएको पावर हिटिङ क्षमताले आफैँ आश्चर्यमा परेको बताउँछन्। 

‘त्यसबेला (सन् २०१५) मैले छाडेर जाँदाको ब्याटिङ र अहिले फर्केर आउँदा म आफैँ आश्चर्यमा परेको छु,’ पुबुदु भन्छन्, ‘त्यसबेला पनि हामी संघर्ष गर्दै थियौँ भन्दिनँ। तर, पावर हिटिङ एबिलिटी थिएन। जुन अहिले छ। प्रतिभावान् खेलाडीहरु जसरी उदाएका छन्, जुन क्षमता र सीप विकास भएको म त्यसबाट प्रभावित छु।’ 

ब्याटिङलाई लिएर टिमभित्र पनि प्रतिस्पर्धा बढेको पुबुदुको अनुभव छ। टिमभित्र प्रतिस्पर्धा हुनु राम्रो भएको र त्यसबाट उत्कृष्ट खेलाडी छान्न आफूलाई मद्दत पुग्ने उनी बताउँछन्। 

‘टिमभित्रैको प्रतिस्पर्धाबाट उत्कृष्ट खेलाडीहरु निस्कन्छन्,’ उनले भने, ‘यसले उच्च लयमा भएका खेलाडीहरु छनोट गर्ने अवसर मसँग हुनेछ। यसले टिमलाई फाइदा पुग्छ र अन्ततः नेपालकै लागि राम्रो हुन्छ।’

आईसीसी पुरुष टी–२० विश्वकप–२०२२ को ग्लोबल छनोट ए का खेलहरु फेब्रुअरी १८ मा नेपालले आयोजक ओमानको सामना गरेसँगै सुरु हुनेछ। 

आयोजक ओमानसँगै बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, नेपाल, फिलिपिन्स र यूएई गरी ८ टोलीले ग्लोबल छनोट खेल्नेछन्। शीर्ष दुई टोली वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुनेछन्। 

अघिल्लोवर्ष यूएईमा भएको टी–२० विश्वकपको पहिलो राउन्डबाटै बाहिरिएपछि आयरल्याण्ड र ओमान ग्लोबल छनोट खेल्न आइपुगेका हुन्। नेपाल र यूएईले वरीयताका आधारमा र अन्य टोली क्षेत्रीय छनोटबाट अघि बढ्दै प्रतियोगितामा पुगेका हुन्।

आठ टोलीलाई चार–चार गरी समूह ए र समूह बीमा विभाजन गरिएको छ। नेपाल रहेको समूह एमा क्यानडा, ओमान र फिलिपिन्स छन। अर्को समूहमा बहराइन, जर्मनी, आयरल्याण्ड र यूएई छन। 

एउटा टोलीले समूहका अन्य तीन टोलीसँग खेल्नेछ। नेपालले फेब्रुअरी १८ मा आयोजक ओमान, फेब्रुअरी १९ मा फिलिपिन्स र फेब्रुअरी २१ मा क्यानडाविरुद्ध खेल्नेछ। 

दुवै समूहको शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। उक्त सेमिफाइनलबाट फेब्रुअरी २४ मा हुने फाइनलमा पुग्ने दुई टोली विश्वकपमा छनोट हुनेछ। 

यसपल्ट सुधारिएको ब्याटिङले नेपाललाई विश्वकपमा पुर्याउला भन्ने आशा खेलाडीमा पनि छ। टोलीमा रहेका सिनियर सदस्यमध्येका एक शरद यसपल्ट टोलीमा निडर युवा खेलाडीहरु रहेकाले ब्याटिङमा समस्या नहुने बताउँछन्। 

‘युवा खेलाडीहरु आएका छन्। उनीहरुले डररहित क्रिकेट खेलिरहेका छन्,’ उनी भन्छन्, ‘यसअघि नेपाली क्रिकेटमा यो ट्रेन्ड देखिँदैनथ्यो। अहिले ठूलो परिवर्तन देखिएको छ। यसले आउने प्रतियोगिताका नेपाली ब्याट्सम्यानबाट रनको खडेरी नदेखिने विश्वास गर्न सकिन्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .