महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा प्रदेश नम्बर ३ र शसस्त्र प्रहरी बल (एपिएफ) विजयी भएका छन्।
समुह ए अन्तर्गत भएको पहिलो खेलमा प्रदेश ३ ले किर्तिमानी जित हात पारेको छ। प्रदेश ३ ले कर्णाली प्रदेशलाई ९० रनको फराकिलो अन्तरले हरायो। उसका लागि खुसी डंगोलले किर्तिमानी प्रदर्शन गरिन्। उनले एक रन पनि नखर्चेर ५ विकेट लिन सफल भइन्। उनले एक ओभर तीन बलमा बिना रन ५ विकेट लिएर नेपाली महिला क्रिकेटमा किर्तिमान बनाएकी छिन्।
महेन्द्रनगरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ५६ रन बनायो। उसका लागि अस्मिता खरेलले २८, अस्मिता कर्माचार्यले ४७, कञ्चना श्रेष्ठले २८ तथा सुमन खतिवडाले २१ रनको योगदान दिइन्।
जवाफमा कर्णाली प्रदेश १५.३ ओभरमा मात्र ६६ रनमा अलआउट भयो। उसका लागि रुबिना चौधरीले २२ तथा लक्ष्मी रिमालले ११ रन बनाउनु बाहेक अरु खेलाडीले राम्रो खेल्न सकेनन्। कर्णालीका चार खेलाडीले खाता खोल्न सकेनन्।
प्रतियोगिताको बिहिवारको दोस्रो खेलमा विभागिय टोलि शसस्त्र प्रहरी बल एपीएफले सुदूरपश्चिम प्रदेशलाई १० विकेटले पराजित गरेको छ। टस जितेर पहिला ब्याटिङ्ग गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९० रन जोड्यो। उसका लागि कविता जोशीले २९ र रेवती धामी १९ रन जोडे भने अन्यले गतिलो स्कोर जोड्न सकेनन्।
९१ रनको लक्ष्यका साथ मैदान उत्रिएको एपिएफले १०.५ ओभरमा विना कुनै विकेटको क्षतिमा लक्ष्य भेट्टायो। उसका लागि सिता राना मगरले ५१ रनको अर्ध शतकिय पारी खेलिन भने ज्योति पाण्डेयले २८ रन जोडिन्।
असार ११ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको छ। प्रतियोगिताको बिजेता टोलीले ५ लाख, उपबिजेता टोलीले ३ लाख प्राप्त गर्नेछन्। त्यस्तै प्रतियोगिताको ‘वोमन अफ द सिरिज’ले ३० हजार, ‘वेस्ट ब्याट्सवोमन’ र बलरले समान १५ हजार र ‘वोमन अफ द म्याच’ले २५ सय नगद रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र पनि पाउने छन्।
प्रतियोगितामा सहभागी ८ टोलीहरुलाई दुई समुहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा विभागीय टोली शसस्त्र प्रहरी बलको एपीएफ, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ रहेका छन्। समूह ‘बि’मा प्रदेश १, २, प्रदेश ३, र कर्णाली प्रदेश रहेका छन्।
Shares

प्रतिक्रिया