ad ad

खेल


साफ च्याम्पियनसिप फाइनल: उत्साहित नेपाल, बलियो भारत

साफ च्याम्पियनसिप फाइनल: उत्साहित नेपाल, बलियो भारत

लक्ष्मी जि.सी
असोज ३०, २०७८ शनिबार १०:१७, काठमाडौँ

साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज (शनिबार) बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल माल्दिभ्सको मालेस्थित नेशनल स्टेडियममा राति पौने ९ बजे सुरु हुनेछ। 

आज हुने फाईनल खेलमा टोलीका मुख्य फरवर्ड अन्जन विष्ट टोली बाहिर रहने छन्। लगातार दुई खेलमा पँहेलो कार्ड पाएपछि अन्जनले फाइनल खेल गुमाउने भएका हुन्। जारी संस्करणको साफमा २ गोल गरेका अन्जनको अभाव फाइनल खेलमा पक्कै खड्कनेछ। 

फाइनल खेल गुमाउने भएपछि समर्थकबाट गाली पाएका अन्जनले शुक्रबार सामाजिक सञ्जालमार्फत भारतविरुद्धको खेलपछि दर्शकबाट आफूलाई गद्दारको संज्ञा दिँदै आएको गालीप्रति दुख व्यक्त गरेका छन्। 

उनले आफू सधैं नेपालका लागि शत प्रतिशत मिहिनेत गर्ने बताउँदै फाइनलमा आफू नभएपनि टोलीका अन्य खेलाडीले मिहिनेत गरेर टोलीलाई जिताउने बताए।

चोटका कारण बगंलादेशसँगको खेल गुमाएका पुजन उपरकोटीले फाइनल खेल्ने नखेल्ने बारेमा एकिन भैसकेको छैन। बगंलादेशसँगको खेलअघि वार्मअपको समयमा चोट लागेपछि पुजन टोलीबाहिर रहेका थिए।  

दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनलमा पुगेको नेपालले उपाधि उचाल्दै ऐतिहासिक जित निकाल्न उत्साहित छ। साफको ३ दशक लामो इतिहासमा नेपाल फाइनलमा पुगेको पहिलो पटक हो। 

साफमा भारत सर्वाधिक सफल टोली हो। भारतले हालसम्म ७ पटक साफको उपाधि जितिसकेको छ। माल्दिभ्यसले २, बगंलादेश, श्रीलंका र अफगानिस्तानले एक–एक पटक साफको उपाधि उचालिसकेका छन्।

नेपाली टोली बलियो प्रतिद्धन्दी भारतलाई पन्छाउँदै पहिलो पटक उपाधि जितेर नेपालीहरुलाई दशैँको उपहार दिन चाहान्छन्। 

नेपाल यसअघि साफको सेमिफाइनलबाट अगाडी बड्न सकेको थिए। ५ पटक साफको सेमिफाइनलमा पुगेपनि नेपालले त्यो अगाडीको यात्रा तय गर्न सकेन। सन् २०१८ मा भएको साफको सेमिफाइनमा नेपाल माल्दिभ्ससँग ३–० ले पराजित हुँदै बाहिरिएको थियो। त्यसअघि सन् १९९९, १९९५, २०११ र २०१३ मा नेपाल सेमिफाइनलबाट अघि बढ्न सकेन। 

यो संस्करणको साफमा लिग चरणका सुरुवाती दुई खेलमा लगातार जित निकाल्दै उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको नेपाल तेस्रो खेलमा भारतसँग १–० ले स्तब्ध भएको थियो। 

नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले तथा दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो। लिग चरणको अन्तिम खेलमा बगंलादेशलाई एक–एक को बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफको फाइनलमा पुगेको हो। 

साफ च्याम्पियसिपमा नेपाल र भारतबीच हालसम्म ७ पटक भेट भएको छ। यसअघिका ६ भेटमा नेपाल भारतसँग पराजित भएको थियो। तर सन् २०१३ मा नेपालमा भएको साफमा नेपालले भारतलाई २–१ ले पाखा लगाएको थियो। त्यसयता नेपालले भारतलाई हराउन सकेको छैन। 

साफ च्याम्पियसिपको यो संस्करणमा कमजोर सुरुवात गरेको भारतले अर्को बलियो टोली माल्दिभ्सलाई हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। भारतले पहिलो खेलमा बगंलादेशसँग एक एक को बराबरी गरेको थियो भने दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी गर्दै अंक बाँडेको थियो। 

नेपालले लिग चरणमा भारतसँग भोगेको हारको बदला लिदै उपाधि जित्न चाहन्छ। लिग चरणमा भारतसँग रक्षात्मक खेलेको नेपालले भोलिको फाइनलमा आक्रमणमा पनि ध्यान दिनेछ। 

खेलअघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले भने, ‘हामी पहिलोपटक साफको फाइनलमा पुगेका छौं, भोलिको खेल महत्वपूर्ण हुने र ठूलो खेल हो, हाम्रो लागि सहज हुनेछैन। तर हामी नतिजाका लागि खेल्नेछौँ।’

श्रेष्ठले यसअघि भारतविरुद्ध गरेको गल्तीलाई सुधार गर्दै खेल प्रस्तुत गर्ने बताए। यो पटक भारतविरुद्ध रक्षात्मक र आक्रामक रणनीति अपनाइनेछ। 

नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले भारतविरुद्ध शनिबार हुने फाइनलमा गोर्खालीको शैलीमा खेल्ने बताएका छन्। उनले भने, ‘भोलि हाम्रा लागि ठूलो दिन हो। भोलि हाम्रो सबै थोक होु, जितका लागि हामी सबैथोक दिन्छौँ।’

यता भारतीय फुटबल टिमका सहायक प्रशिक्षक शानमुगम वेंकटेशले साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालविरुद्ध हुने खेल कठिन रहेको बताए। उनले भने, ‘नेपालले समूह चरणमा राम्रो नजितासहित खेलेको थियो। नेपालको टिम कन्फिडेन्स र मोटिभेटेड छ। फाइनल खेल हाम्रा लागि कठिन छ। तर फाइनल यात्रा तय गरेकोमा हामी खुसी छौँ। उपाधिका लागि हामी एक खेल पर छौँ। हाम्रा केटाहरु सकारात्मक ऊर्जासहित तयार छन्।’

हेड टु  हेड 
नेपाल र भारतबीच अहिलेसम्म २२ खेलमा भेट भएको छ। यी भेटमा भारतले १५ खेलमा जित निकाल्दा नेपालले २ खेलमा मात्रै भारतलाई पराजित गर्न सकेको छ। नेपालले भारतलाई सन् २०१३ को साफ र १९९३ को बगंलादेशको ढाकामा भएको प्रतियोगितामा हराएको छ। 

सो खेल निर्धारित समयमा २–२ को बराबरी पछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिईएको थियो। त्यो बेला नेपालले भारतलाई ६–५ ले हराएको थियो। त्यो नै नेपालले भारतमाथि निकालेको पहिलो जित थियो। 

नेपाल र भारतबीचको ५ खेल बराबरीमा सकिएको छ। नेपालले पछिल्लो पटक घरेलु मैदानमा भएको मैत्रीपुर्ण खेलमा एक–एक गोलको बराबरीमा रोकेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .