यूईएफए युरोकपको १६औँ संस्करणको उपाधिका लागि आज आइतबार इंग्ल्यान्ड र इटाली भिड्दै छन्। खेल, लन्डनस्थित वेम्बली स्टेडियममा मध्यराति पौने १ बजे हुनेछ।
इटालीले स्पेनलाई टाइब्रेकरमा पराजित गर्दै युरोकपको फाइनलमा स्थान बनाएको थियो।
गत मगंलबार राति भएको पहिलो सेमिफाइनल खेलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ४–२ गोलअन्तरले पराजित गर्दै इटाली उपाधिनजिक पुगेको हो।
उता अतिरिक्त समयमा डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्डले पहिलोपटक युरोपियन च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको थियो।
गत बुधबार राति लन्डनस्थित वेम्बली मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डले डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै इटालीसँगको उपाधि भीडन्त पक्का गरेको हो।

इंग्ल्यान्ड ५५ वर्षपछि ठूलो प्रतियोगिता जित्ने लक्ष्यमा छ।
इंग्ल्यान्डले यसअघि सन् १९६६ मा भएको विश्वकपको उपाधि जितेको थियो। त्यसयता टोली पहिलोपटक फाइनलमा पुगेको हो।
पहिलोपटक युरोकपको फाइनलमा पुगेको इंग्ल्यान्ड घरेलु मैदानमा इटालीलाई हराउँदै इतिहास रच्ने योजनामा छ।
युरोकपको १० संंस्करणमा छनोट भएको इंग्ल्यान्ड दुईपटक तेस्रो भएको थियो।
युरोकपमा सन् १९६८ र १९९६ मा तेस्रो स्थान हात पार्नु नै टोलीको अहिलेसम्मको उत्कृष्ट नतिजा हो।
समूह चरण, राउन्ड अफ १६ र क्वार्टरफाइनलका सबै खेलमा क्लिन शीट राखेको इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसँग १ गोल खाएको थियो।
समूह चरणको खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–०, स्कटल्याण्डसँग गोलरहित बराबरी र चेक रिपब्लिकसँग १–० ले विजयी भएको थियो।
राउन्ड अफ १६ मा जर्मनीलाई २–० ले हराएको इंग्ल्यान्डले क्वार्टरफाइनलमा युक्रेनलाई ४–० को फराकिलो अन्तरले पाखा लगाएको थियो।
यता इटाली पनि इंग्ल्यान्डलाई हराउँदै ५३ वर्षपछि युरो कपको च्याम्पियन बन्ने लक्ष्यमा छ।
यसअघि सन् १९६८ मा घरेलु मैदानमा युगोस्लाभियालाई हराउँदै इटाली च्याम्पियन बनेको थियो।
१ पटक उपाधि उचालेर २ पटक उपविजेतामै चित्त बुझाउनुपरेको इटाली चौथो पटक फाइनलमा पुगेसँगै दोस्रो पटक उपाधि उचाल्ने योजनामा रहेको छ।
यसअघि इटाली सन् २००० र २०१२ मा भएको युरोकपमा उपविजेतामा सीमित भएको थियो।
समूह चरणको खेलमा इटालीले टर्की र स्विट्जरल्यान्डलाई समान ३–० गोल अन्तरले तथा वेल्सलाई १–० गोलअन्तरले हराएको थियो।
राउन्ड अफ १६ मा अष्ट्रियालाई २–१ ले क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ ले हराएको थियो।

यस्तो छ दुई टोलीको विगतका भेट
इंग्ल्यान्ड र इटालीबीचको ‘हेड टु हेड’लाई हेर्ने हो भने इंग्ल्यान्डभन्दा इटाली बलियो देखिएको छ।
यी दुई टोलीबीचको हालसम्म २७ पटक भेट भएको छ। यो भेटमा इंग्ल्यान्डले ८ खेल जितेको छ भने समान ८ खेलमा बराबरी गरेको छ। इटालीले भने ११ पटक इंग्ल्यान्डलाई हराएको छ।
इंग्ल्यान्ड र इटाली तेस्रोपटक युरोकपमा भिड्न लागेका हुन्। सन् १९८० मा भएको पहिलो भेटमा इटालीले इंग्ल्यान्डलाई १–० गोलअन्तरले हराएको थियो।
सन् २०१२ मा भएको दोस्रो भेटमा इटालीले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ४–२ ले पाखा लगाएको थियो।
Shares

प्रतिक्रिया