कैलालीको एउटा भिडिओ यतिबेला सामाजिक सञ्जालामा भाइरल छ।
नेपाल प्रहरीको पोशाकमा रहेकी महिला आत्तिएको अवस्थामा छिन्। उनी सडकपेटीमा छट्पटाइरहेकी महिलालाई उद्धार गरिरहेको भिडिओमा देखिन्छ। ती प्रहरी महिला हुन्, इलाका प्रहरी कार्यालय, मालाखेतीमा कार्यरत प्रहरी जवान चन्द्रिका देउवा।
उनकै कारण कैलालीको गोदावरी नगरपालिका–१, चैतन्यपुरमा सुत्केरी व्यथाले छट्पटिएकी महिलाको उद्धार भएको छ।
प्रहरी जवान देउवाकै सहयोगमा ती महिलाले सडक छेउमा एक व्यक्तिको आँगनमै बच्चा जन्माएकी हुन्। इलाका प्रहरी कार्यालय, मालाखेतीमा साढे ९ बजे एउटा महिला सडकपेटीमा छट्पटाइरहेको सूचनापछि घटनास्थलमा पुगेको देउवाले बताइन्।
उनी र मालाखेतीमा कार्यरत वरिष्ठ हवलदार धर्मानन्द भट्ट घटनास्थल पुगेका थिए।
‘हामी पुग्दा ती महिला सडक किनारमा सुत्केरी व्याथाले छट्पाटइरहेकी थिइन्, त्यहाँ अन्य महिलाहरू पनि थिए, उनीहरू छुन तयार भएनन्,’ प्रहरी जवान देउवाले भनिन्, ‘नजिकै रहेका महिलाहरूले एचआईभीलगायतका रोग लाग्ने भनेर छोएनन्। त्यसपछि जे भए पनि मलाई होला भनेर उद्धारतर्फ लागेँ।’
व्यथाले च्यापेकी ती महिलाले सडक छेउमा एक व्यक्तिको आँगनमै शिशुलाई जन्म दिइन्। त्यसपछि ती महिलालाई अत्तरियास्थित पद्मा अस्पताल पठाइएको थियो। ती महिलाको पहिचान भने खुलेको छैन। मानसिक रुपमा पनि उनी अस्वस्थ रहेको भन्ने बुझिएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार अन्दाजी ३०/३५ वर्षकी ती महिला विवाहित हुन् वा होइनन् यकिन हुन सकेको छैन।
Shares

प्रतिक्रिया