समाज


महराविरुद्ध किन परेन प्रहरीमा उजुरी?

महराविरुद्ध किन परेन प्रहरीमा उजुरी?

नेपालखबर
असोज १४, २०७६ मंगलबार ११:५०,

प्रतिनिधि सभाका तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध संसद सचिवालयमा काम गर्ने महिला कर्मचारीले यौन दुराचारको अभियोग लगाइन्। उनको बयानसहितको विवरण सञ्चार माध्यमहरुले सार्वजनिक गरे।

घटनाको विवरण बुझेपछि शीर्ष नेताहरु सम्मिलित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भन्यो, ‘तत्काल सभामुख तथा संसद सदस्य पदबाट राजीनामा दिनू।’

यहीअनुसार मंगलबार १ बजे महराले सभामुख पद त्यागेको निर्णय सार्वजनिक गरे।

यति घटनाक्रमहरु सिलसिलाबद्ध ढंगले अघि बढे पनि घटना अनुसन्धान अघि बढाउन प्रहरी अल्मलिएको छ।

पीडित महिलाले मदिराले मातेर आफूमाथि महराले बलात्कार प्रयास गरेको बताइकी थिइन्। सञ्चारमाध्यम समक्ष समेत त्यही विवरण सुनाएकी थिइन्। महिलाको पक्षमा जनमत बढ्दै गएपछि महरा राजीनामा दिन विवश भए। तर प्रहरीमा उनीविरुद्ध किटानी जाहेरी परेको छैन।

महानगरीय प्रहरी परिसर काठमाडौं प्रवक्ता डीएसपी होविन्द्र बोगटीले मंगलबार साँझसम्म बलात्कार भनिएको घटनाबारे लिखित उजुरी नपरेको बताए।

‘आइतबार राति महिलाले १०० मा फोन गरी मौखिक रुपमा घटनाको जानकारी गराएकी हुन्, घटनाबारे लिखिति उजुरी परेको छैन’, डीएसपी बोगटीले भने,, ‘लिखित जाहेरी नआउँदा अनुसन्धानलाई तीव्रता दिन अप्ठ्यारो परिरहेको छ।’

प्रहरीका अनुसार सामान्यतः यस किसिमका घटनामा पीडितले तत्कालै उजुरी गर्छन्। कतिपय घटना दवाबका कारण प्रहरी समक्ष ढिलो पुग्छन्, वा पुग्दैनन्। कतिपय मिलापत्र गरेर साम्य पारिन्छन्।

पीडितले सञ्चार माध्यममार्फत् सार्वजनिक गरेको घटना प्रहरी समक्ष नपुग्नुलाई धेरैले रहस्यको रुपमा लिएका छन्। कतिपयले दवाब वा भित्रभित्रै मिलाप गराउन खोजेको हुनसक्ने भन्दै आशंका समेत व्यक्त गरेका छन्।

महानगरीय प्रहरी बृत्त बानेश्वरका डीएसपी कृष्णबहादुर चन्दले पनि घटनाबारे कुनै उजुरी नआएको बताए।

कोठाबाट बरामद गरिएका सामानको परीक्षण हुने
यो घटनाको विषयमा प्रहरीको भूमिकालाई लिएर आलोचना भइरहेका बेला मंगलबार प्रहरी टोलीले महरालाई बलात्कार आरोप लगाउने महिलाको कोठामा पुगेर मुचुल्का उठाएको छ। महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी परिसरको टोलीले रक्सीको बोतल, गिलास, महराको भनिएको भाँचिएको चस्मा, जुत्ताको तलुवा बरामद गरेको छ।

कोठाबाट बरामद भएका वस्तु फिङ्गर परिक्षणका लागि फरेन्सिक ल्याब पठाउने तयारी प्रहरीले गरेको छ। घटना भएको तेस्रो दिन प्रहरीले कोठाको मुचुल्का उठाएको हो।

आइतबार राति महानगरीय प्रहरी वृत्त वानेश्वरको टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियो। राति महिलाले प्रहरीको आकस्मिक सम्पर्क नम्बर १०० मा फोन गरी घटनाबारे जानकारी गराएकी थिइन्। केही बेरमै प्रहरी टोली घटनास्थल पुग्दा महरा त्यहाँबाट हिँडिसकेका थिए।

सोमबार चुपचाप रहेको प्रहरीले मंगलबार महराको राजिनामा आएपछि मुचुल्का उठाएको हो। वानेश्वर वृत्तका डीएसपी चन्दका अनुसार महिलालाई भोलिपल्ट जाहेरी दिन बोलाइएको थियो। त्यतिबेला उनले काठमाडौं बाहिर रहेका श्रीमानसँग सल्लाह गरेर जाहेरी दिने बताएकी थिइन्।

किटानी जाहेरीबिना यो मुद्दाको अनुसन्धान अघि बढाउन नसकिने प्रहरी अधिकारीहरु बताउँछन्। पीडित महिलाले आफ्नो शरीरमा चोटपटक लागेको बताएकी छिन्। त्यसको परीक्षण समयमै गर्नुपर्ने हुन्छ। बलात्कार मुद्दाको अनुसन्धानमा शारीरिक परीक्षणको विषय महत्वपूर्ण हुन्छ। अनुसन्धान प्रक्रिया अघि नबढे घटनाका तथ्यहरु मेटिएर जान्छन्।

‘पीडितले जाहेरी नदिएसम्म संगठित रुपमा अनुसन्धान हुन सक्दैन’, एक जना बरिष्ठ प्रहरी अधिकारी भन्छन्, ‘शारीरिक परीक्षण र जाहेरी नभई प्रहरीले के को आधारमा काम गर्ने?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .