समाज


पत्रकार पुडासैनी आत्महत्या प्रकरणः छानबिन कार्यमा बाधा नपुर्‍याउन सर्वदलीय अपिल

पत्रकार पुडासैनी आत्महत्या प्रकरणः छानबिन कार्यमा बाधा नपुर्‍याउन सर्वदलीय अपिल

नेपालखबर
भदौ १, २०७६ आइतबार १४:३३,

चितवनका राजनीतिक दल तथा स्थानीय प्रशासनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको छानबिन कार्यमा असर पुग्ने गतिविधि नगर्न सबैसँग आग्रह गरेका छन्।

सो घटनाको छानबिनका क्रममा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा प्रदर्शन भइरहेका बेला जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले सहयोगका लागि सबैसँग अपिल गरेको हो।

निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा आइतबार भरतपुरमा बसेको सर्वदलीय बैठकले तीन बुँदे निर्णय गरी घटनाको छानबिन कार्यमा बाधा पुग्ने गतिविधि नगर्न आग्रह गरेको हो। बैठकले घटनाको अनुसन्धानका क्रममा रवि लामिछानेसहित तीनजना पक्राउ परी अदालतबाट पाँच दिनको म्याद समेत थप भैसकेको अवस्थामा पक्ष र विपक्षमा नभइ न्याय निरुपण कार्यमा सहयाेग पुर्‍याउन एवं शान्ति कायम गर्न राजनीतिक दलहरुको तर्फबाट आम जनसमूदायमा अपिल गर्ने निर्णय गरेको छ। हेर्नुहोस् निर्णय:

33 1

यस्तै, जनताको दैनिक जीवनमा असर पुग्ने गरी एवं स्वस्छ, निश्पक्ष न्याय सम्पादनमा खलल पुग्ने गरी हुने प्रदर्शन तथा तोडफोडलाई निरुत्साहन गर्ने निर्णय पनि सर्वदलीय बैठकले गरेकाे छ।

निश्पक्ष छानबिन होस्ः मानवअधिकारवादी

यसैगरी चितवनस्थित नेपाल पत्रकार महासंघसहित विभिन्न मानवअधिकारवादी संघसंगठनहरुले घटनाको निश्पक्ष छानबिन गर्न माग गरेका छन्। विभिन्न ८ वटा मानवअधिकारवादी संस्थाहरुले आइतबार संयुक्त विज्ञप्ति प्रकासित गरी अनुसन्धानमा कुनै पनि दबाब नदिई स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा सहयोग पुर्याउन अपिल गरेका हुन्।

विज्ञप्तिमा उक्त घटनाको सत्य तथ्य पत्ता लगाई कानुनको परिपालना गर्न सरकारसँग आग्रह गरिएको छ भने न्यायीक प्रकृयामा रहेकाे घटनाको समर्थन वा विरोधमा लाग्नु भन्दा कानुनी सर्वोच्चतालाई ख्याल गरी संयमता अपनाउन सबैसँग आग्रह गरिएको छ।

44 1

पत्रकार पुडासैनी गत साउन २० गते चितवनस्थित हाेटल क‌ंगारुमा झुण्डिएकाे अवस्थामा मृत भेटिएका थिए। मृतक पुडासैनीले आफूलाई आत्महत्या गर्न बाध्य पारेकाे भन्दै पत्रकार रवि लामिछानेसहित तीनजनालाई पाेलेकाे भिडियाे सार्वजनिक भएपछि प्रहरीले बिहीबार लामिछानेसहित तीनै जनालाई पक्राउ गरी चितवन लगेकाे छ। 

लामिछानेकाे समर्थनमा उनका समर्थकले चितवनमा उग्र प्रदर्शन गरिरहेका छन्। प्रहरीमाथि ढुंगामुडा गर्ने, राजमार्ग अवरूद्ध पार्नेसहितका हर्कत भएका छन्। यसले घटनाको निष्पक्ष अनुसन्धान र न्याय निरूपणमा खलल पुग्ने भन्दै चिन्ता व्यक्त भइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .