समाज


भरियो कुलेखानी, बाढी महाशाखाले भन्यो: तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाऊँ

भरियो कुलेखानी, बाढी महाशाखाले भन्यो: तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाऊँ

नेपालखबर
असार ३०, २०७६ सोमबार ३:१५,

मकवानपुरको कुलेखानी जलविद्युत आयोजनाको जलाशय भरिएको छ।

सोमबार बिहान साढे सातबजेसम्म जलाशयमा पानीको सतह १५ सय २५ दशमलब ५७ सेन्टिमिटर पुगेको आयोजनाले जनाएको छ।

आसपासका क्षेत्रमा तीनचार दिनदेखि लगातार वर्षा भएपछि जलाशमा पानीको सतह बढेको हो। आइतबार साँझसम्म पानीको सतह १५ सय २० मिटर थियो। राति सतह एक्कासी ५ मिटर बढेको हो।

बाढी पूर्वानुमान महाशाखाले भनेको छ– कुलेखानी जलविद्युत आयोजनाको सरोबर भरिएकाे हुँदा बाँध खोलेर नियन्त्रित निकास गर्नुपर्ने भएको छ । केही घण्टापछि खोल्न सुरु हुन्छ। तल्लो तटिय क्षेत्रमा सतर्कता अपनाउनु होला।

जलाशय भरिएर खतराको तहमा पुगेपछि आयोजनाले त्यसलाई खोल्ने तयारी गरेको छ। केही घन्टापछि नै आयोजनाको पानी खोल्न लागिएको आयोजनाले जनाएको छ।

जलाशयको क्षमता १ हजार ५ सय ३० मिटर हो। ०७२ को भूकम्पले ड्याम चर्किएकाले हाल आयोजनामा अधिकतम १ हजार ५ सय २७ मिटर मात्रै संकलन हुँदै आएको छ।

हाल जलाशयमा प्रतिघण्टा ६० सेन्टिमिटरले पानी थपिदै गएकोआयोजनाले जनाएको छ।

आयोजनाले सोमबार बिहान सूचना जारी गरेर ड्याम खोल्ने तयारी गरेको छ। ड्याम खोल्दा आयोजनाको तल्लो तटीय क्षेत्रमा असर पर्न सक्ने भएकाले स्थानीय बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ।

विगत दुईवर्ष यता कुलेखानीमा पानी भरिएको थिएन। यस वर्ष भारी वर्षा भएकाले आयोजना चाँडै भरिएको हो।

आयोजनाको पानी खोल्दा खतरा हुन सक्ने भएकाले तटिए क्षेत्रका स्थानीयबासीलाई सुरक्षित रहन सूचना गरिएको सिस्नेरी प्रहरी चौकीका इन्चार्ज कृष्ण आचार्यले जानकारी दिए।

‘ड्याम खोल्दा मकवानपुरको इन्द्रसरोवर र भिमफेदी गाउँपालिकामा वढी असर गर्छ,’ आचार्यले नेपालखबरसँग भने, ‘सिस्नेरी, हेबी, सुलिकोट, नागमारा, खानीखेत, ज्यामिरे, टेकरको तल्लोभाग, सानुटार लगायतका ठाउँका नागरिकलाई सुरक्षित रहन आग्रह गरका छौँ।’

ड्याम खोल्दा त्यस आसपासको झण्डै दुई सय घर जोखिममा पर्न सक्ने देखिएको छ।

ड्यामखोल्दा कुलेखानीको पानी बागमती नदीमा मिसिने भएकाले बागमतीमा पनि पानीको सतह बढ्ने आयोजनाले जनाएको छ।

बाढी पूर्वानुमान महाशाखाले पनि कुलेखानी जलाशय भरिन लागेको भन्दै सचेत हुन आसपासका नागरिकलाई आग्रह गरेको छ।

ड्याम खोल्दा बागमती नदीमा बाढी आउने भएकाले मकवानपुर, सिन्धुली, सर्लाही र रौतहट जिल्लाबासीलाई सचेत रहन महाशाखाले आग्रह गरेको छ।

कुलेखानीको पानी कुलेखानी खोला हुँद वाग्मती नदी भएर बग्ने भएकाले वाग्मती आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए।

पहिलो र दोस्रो गरी ९२ मेगावाट क्षमताको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको ड्याम भरिएपछि पानी बाहिर निकालेर जोखिम कम गर्ने तयारी थालिएको हो।

मकवानपुरको अन्यत्र वर्षा रोकिए पनि उत्तरी मकवानपुरको थाहा नगर, तथा इन्द्रसरोवर आसपास अत्यधिक पानी परिरहेको कारण कुलेखानीको क्षमताभन्दा बढी पानी भरिएको हो।

जलाशय भरिएपछि जिल्ला सुरक्षा समिति मकवापनुरको बैठकले इन्द्रसरोवरको ड्याम केही खोलेर भए पनि जोखिम कम गर्ने तयारी थालेको प्रजिअ तामाङको भनाई छ।

समुद्री सतहबाट एक सय १४ मिटर उचाइमा कुलेखानी आयोजनाको ड्याम रहेको छ। तीन सय मिटर चौडाइ र सात किलोमिटर लम्बाइको जलाशय ३७ वर्षअघि निर्माण गरिएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .