समाज


मिथिलामा सुरु भयो १५ दिने माध्यमिकी परिक्रमा (तस्बिरहरू)

मिथिलामा सुरु भयो १५ दिने माध्यमिकी परिक्रमा (तस्बिरहरू)

सुभाष कर्ण
फागुन ५, २०८२ मंगलबार ९:७, जनकपुरधाम

मिथिलाको महाकुम्भ मानिने १५ दिने मिथिला मध्यमा परिक्रमा सोमबारदेखि विधिवत् रुपमा सुरु भएको छ। 

लामो दुरीको धार्मिक पैदल यात्रा गरिने भएकाले यसलाई मिथिलाको महाकुम्भ पनि भनिन्छ। 

धनुषाको मिथिला बिहारी नगरपालिका–८ कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट झाँकी, कीर्तन र वैदिक मन्त्रोच्चारणसहित डोला निकालिएसँगै यस वर्षको माध्यमिकी परिक्रमाको औपचारिक सुरुवात भएको हो।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेल र मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलसहितका उच्चस्थ व्यक्तिहरुले काँधमा डोला लिएर मन्दिरबाट बाहिर निकाल्दै परिक्रमाको प्रारम्भ गरेका हुन्।

 ‘जय सियाराम’को उद्घोषबीच डोला डोला प्रस्थान समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री यादवसहित साधुसन्त, विभिन्न मठमन्दिरका महन्त तथा हजारौँ श्रद्धालु सहभागी थिए। 

मिथिलाबिहारी मन्दिरबाट भगवान श्रीरामको प्रतिक अवधबिहारी र जनकपुरधामस्थित जानकी मन्दिरबाट माता सीताको प्रतिक किशोरीजीको डोला परिक्रमा अवधिभरि १५ दिनसम्म विभिन्न पडाव हुँदै नेपाल भारतका विभिन्न धार्मिक स्थलको १३३ किलोमीटरको पैदल यात्रा तय गर्ने परम्परा छ। 

परिक्रमा अवधिभरि सहभागी श्रद्धालुहरु कसैको घरमा नगई पडावपस्थत मन्दिरको वरिपरि र वन चौरमा विश्राम गरेर रात बिताउँछन्। 

परिक्रमामा सहभागीहरुले कसैको घरमा वा कसैले दिएको खाना समेत खाँदैनन्। परिक्रमा अवधिभरिको भोजन सामाग्री, सुत्ने ओछयाउन र लताकपडा समेत बोकेर हिंडने गरेका छन्।

केही वर्षदेखि परिक्रमा पडावस्थलमा विभिन्न मठ मन्दिर र पालिकाहरुले भोजन तथा आवासका लागि पण्डालको व्यवस्था गर्दै आएका छन्। 

मिथिलाबिहारी मन्दिरबाट अवधबिहारी र जानकी मन्दिरबाट किशोरीजीको निस्केको डोला आइतबार साँझ नै हनुमाननगरस्थित हनुमानगढीमा विश्राम गरेको थियो। हनुमान गढीबाट डोला आज कल्याणेश्वरका लागि निस्किनेछ। 

हनुमान नगरबाटै परिक्रमाको दिन गिन्ती हुने परम्परा रहेको छ। 

दोश्रो दिन कल्याणेश्वरपछि तेश्रो दिन गिरिजास्थान, चौथो दिन मटिहानी, पाँचौ दिन जलेश्वर, छैटौँ दिन मडई, सातौं दिन ध्रुव कुण्ड, आठौं दिन कंचनवन, नवौं दिन पर्वता, दशौं दिन धनुषाधाम, एघारौँ दिन सत्तोषर, बाह्रौँ दिन औरही, तेरौँ दिन करुणा, चौधौँ दिन विसौल हुँदै कल्याणेश्वरबाट पन्द्रौँ दिन जनकपुरधाम आउँनेछ। 

जनकपुरधाम आइपुगेका माध्यमिकी परिक्रमा अन्तगृह परिक्रमामा परिणत हुनेछ। अन्तगृह परिक्रमा अन्तर्गत जनकपुरधाम नगर क्षेत्रको ५ कोस अर्थात साढे सात किलोमीटर दूरी तय गर्नेछ। ५ कोस यात्रा तय गर्ने भएकाले यसलाई अन्तरगृह परिक्रमा भन्ने गरिन्छ। 

अठारौँ शताब्दीदेखि मिथिला मध्यमा परिक्रमा प्रारम्भ भएको विश्वास छ। मिथिलाको धार्मिक भूगोललाई परिक्रमा गरेर भगवान रामसीताको पदचिह्न पछ्याउने विश्वासका साथ यो यात्रा गरिन्छ। 

मन, वचन र कर्मले परिक्रमा गरेमा पाप नष्ट भई मनोकामना पूरा हुने तथा मोक्ष प्राप्त हुने जनविश्वास छ।
 
यही आस्थाले वर्षेनि एक लाखभन्दा बढी श्रद्धालुहरू यो परिक्रममा सहभागी हुने गरेका छन्। 

परिक्रमाले नेपाल–भारतबीचको प्राचीन सांस्कृतिक र धार्मिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास छ। 

जनकपुरलाई हवाईमार्गबाट अयोध्यासँग जोड्छौँ: मुख्यमन्त्री
डोला शुभारम्भ कार्यक्रमा सहभागी मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनकपुरधामलाई भारतको उत्तर प्रदेशस्थित अयोध्यासँग हवाइमार्गमार्फत जोड्न पहल गर्ने घोषणा गरेका छन्।

धनुषाको कचुरीमा सोमबार मिथिला मध्यमा परिक्रमाको शुभारम्भ गर्दै उनले जनकपुरधाम–अयोध्या सीधा उडान सञ्चालनका लागि भारत सरकारसँग समेत संवाद अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री यादवले जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक महत्वका आधारमा रामायण सर्किटसँग प्रभावकारी रूपमा जोड्न सके मधेस प्रदेश समग्रमा प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुने बताए।

हेर्नुहोस् थप तस्बिर 


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad