समाज


पोस्टमार्टम रिपोर्ट: बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा इनिशाको मृत्यु

पोस्टमार्टम रिपोर्ट: बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा इनिशाको मृत्यु

दिनेश बुढा
फागुन २८, २०८२ बिहिबार १३:१३, सुर्खेत

सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको पोस्टर्माटम रिपोर्टले देखाएको छ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) सुधिरराज शाहीले इनिशाको बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको बताए। ‘बलात्कारपछि मृत्यु भएको हो भन्ने रिर्पोट आएको छ’, एसपी शाहीले नेपालखबरसँग भने, ‘सामूहिक बलात्कार हो वा होइन भन्ने विषयमा थप अनुसन्धानका लागि प्रक्रिया अघि बढेको छ।’

सुर्खेतको गुर्भाकोट नगरपालिका–६, बडाखोलीकी इनिशा अध्ययनका लागि वीरेन्द्रनगर-१ मा बस्दै आएकी थिइन्। उनी फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका–४ को सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन्।

उनलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको थियो। तर, अस्पताल पुगेको केही समयमै इनिशालाई चिकित्सकले मृत घोषणा गरेका थिए। 

मृतकका आफन्तले इनिशामाथि बलात्कारपछि हत्या गरिएको दाबी गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग राख्दै आएका छन्। उनीहरूले बुधबार पनि वीरेन्द्रनगर प्रदर्शन गरेका छन्। उनीहरूले हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। उनीहरूले इनिशाको शव बुझेका छैनन्।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतले घटनामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान जारी छ। 

फरेन्सिक परीक्षण र प्राविधिक टोली परिचालन

एसपी शाहीले घटनाको अनुसन्धान क्रममा प्रहरीले प्रारम्भिक अनुसन्धान लगभग पूरा गरिसकेको जानकारी दिए। उनका अनुसार पीडित तथा पक्राउ परहेकाहरूको मोबाइल डिजिटल फरेन्सिक परीक्षणका लागि पठाइएको छ। 

‘केन्द्रीय विधि विज्ञान प्रयोगशालामा मनोवैज्ञानिक तथा बायोसेरोलोजिकल परीक्षणका लागि नमुनाहरूको परीक्षणका लागि पठाइएको छ’, एसपी शाहीले भने, ‘ती सबै परीक्षणका प्रतिवेदन प्राप्त भएपछि पोस्टमार्टम रिपोर्टसँग तुलना गरेर घटनाको निष्कर्षमा पुगिने छ।’

अनुसन्धानलाई थप प्रभावकारी बनाउनका लागि जिल्ला प्रहरी कार्यालय, सुर्खेतले छुट्टै टोली गठन समेत गरेको छ। अनुसन्धानमा सहयोग गर्न केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सीआईबी) बाट प्राविधिक निर्देशनसहितको टोली सुर्खेत आइपुगेको उनले जानकारी दिए। 

त्यसैगरी नेपाल प्रहरी प्रदेश कार्यालय, नेपालगञ्जबाट ‘पोलिग्राफ टेस्ट’ गर्ने टोली र ‘सिन एनालाइसिस’ गर्ने प्राविधिक टोली सुर्खेत पुगेर अनुसन्धनमा खटिसकेको बताए। अनुसन्धान महत्त्वपूर्ण चरणमा पुगेको भए पनि कुनै पनि पक्ष नछुटोस् भन्ने उद्देश्यले विभिन्न प्राविधिक परीक्षण र विशेषज्ञ टोली परिचालन गरिएको एसपी शाहीको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad