समाज


१७ वर्षीया किशोरीले जन्माइन् जुम्ल्याहा मृत शिशु

१७ वर्षीया किशोरीले जन्माइन् जुम्ल्याहा मृत शिशु

फाइल तस्बिर


नेपालखबर
भदौ ७, २०८२ शनिबार ६:१८, हुम्ला

हुम्लाको चङ्खेली गाउँपालिका–६ को मेल्छाम गाउँमा सत्र वर्षीया किशोरीले मृत जुम्ल्याहा शिशु जन्माएकी छन्। मेल्छाम गाउँकी १७ वर्षीया सीता बुढाले मृत जुम्ल्याहा शिशु जन्माएको मेल्छाम स्वास्थ्यचौकीका संयोजक हर्क बुढाले बताए।

बुढालाई सुत्केरी गराउन धेरै प्रयास गरिए पनि उपकरणको अभावमा आमा सुत्केरी गराउन नसकिएपछि व्यथाले छट्पटिएकी बुढालाई जिल्ला अस्पतालसँगको समन्वयमा गाउँपालिका केन्द्रमा रहेको पिप्लाङ स्वास्थ्यचौकी लगिएको थियो।

उक्त स्वास्थ्यचौकीमा सुत्केरी गराउन नसके हेलिकप्टरबाट सुर्खेत वा गाडीमा जिल्ला अस्पतालमा उद्धार गर्ने तयारी पनि भइरहेको थियो। स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मीले गर्भवती बुढालाई सुत्केरी गराउन सफल भए पनि मृतावस्थामा जुम्ल्याहा शिशु जन्मिएको स्वास्थ्यचौकी संयोजक बुढाले बताए।

किशोरी स्थानीय बुढा हिमालय मावि मेल्छाममा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्। बुढाको घर सोही गाउँपालिका–३ को मेखाला गाउँ भए पनि  अध्ययनका सिलसिलामा माइतीमै बस्दै आएकी छन्। हाल आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बुढाले बताए।

हुम्लासहित कर्णालीका दुर्गम बस्तीका आमाहरूले सुत्केरी व्यथाका कारण अकालमै ज्यान गुमाउनु परेको छ। पछिल्लो केही वर्षयता राष्ट्रपति महिला उत्थानको उद्धार कार्यक्रमले यस्ता महिलाको ज्यान जोगिँदै आएको छ।

सानै उमेरमा विवाह गर्नुका कारण पनि हुम्लाका महिलाले अकालमा ज्यान गुमाउनुपर्ने र दुःख झेल्दै आउनुपरेको स्वास्थ्यकर्मी बताउँछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad