समाज


दैलेखको सात्तलामा खेलियो भैलिया भैलो (तस्बिर)

दैलेखको सात्तलामा खेलियो भैलिया भैलो (तस्बिर)

दिनेश बुढा
कात्तिक ३, २०८१ शनिबार १३:२९, सुर्खेत

दैलेख जिल्लाको आठबीस नगरपालिका–१ सात्तलामा परापूर्वक कालदेखि खेलिँदै आएको भैलिया भैलो यस वर्ष पनि धुमधामका साथ खेलिएको छ। ‘सात्तलाको भैलो’ भनेर चिनिने यो पर्व हरेक वर्ष दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन भव्यताका साथ मनाइन्छ। 

सयौँ वर्ष पहिलादेखि पश्चिम नेपालका विभिन्न ठाउँमा यस्तो भैलो खेलिन्छ। यस्ता भैलो परम्परले आ–आफ्नै विशेषता र महत्त्व बोकेका छन्। त्यसै मध्येको एक हो, पश्चिम दैलेखको आठबीस सात्तलामा खेलिने भैलो।

पुरुषहरू मात्रै सहभागी हुने यस सात्तलाको भैलो कर्णाली तथा सुदूरपश्चिम क्षेत्रको चर्चित मेलाको रुपमा प्रख्यात छ। अन्य ठाउँको भैलो तिहारको बेला खेल्ने गरिन्छ भने यहाँ कोजाग्रत पूर्णिमाको रातिदेखि भोलि बिहानसम्म खेलिने आठबीस नगरपालिकाका कार्यापालिका सदस्य तथा प्रवक्ता वीरबहादुर माक्सवादीले जानकारी दिए। 

उनका अनुसार अन्य ठाउँमा घरघरमा भैलो खेल्ने परम्परा भएपनि सात्तलाको भैलो भने पौराणिक कालदेखि नै बनाएको एउटा निश्चित ठाउँमा मात्रै खेल्ने गरिएको र यो क्षेत्रमा दसैँ तिहार भन्दा भैलो मेलालाई ठुलो चाडको रुपमा लिने गरिन्छ।

वीरबहादुरले भने, ‘भैलो हेर्न र खेल्नकै लागि प्रदेश तथा सहर पसेका युवायुवतीहरु गाउँ फर्किन्छन् भने विहेबारी भइसकेका चेलीहरु माइत फर्किन्छन्। यहाँ भैलो हेर्न र खेल्न दैलेखसहित, अछाम, कालिकोट, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया र कैलालीबाट हजारौं मान्छेहरुको आउँछन्।’

यस्तै, यस वर्षको भैलो हेर्न पनि प्रतिनिधि सभा सदस्य, कर्णाली प्रदेश सरकारका मन्त्रीहरु, राजनीतिक दलका नेता तथा हजारौँ नागरिकहरुको सात्तला पुगेका भैलो व्यवस्थापन समितिका सचिव अम्मराज थापाले बताए।

थापाले भने, ‘संस्कार, संस्कृति र परम्पराहरुमा सात्तलाको प्रमुख आकर्षक र ऐतिहासिक चिनारीको रुपमा भैलो नै स्थापित छ। तर, यहाँका वृद्धवृद्धालाई सोध्दा पनि भैलो कहिलेदेखि खेलिएको हो भन्ने कुराको तथ्य यकिन छैन्।’

यस्तै, उक्त दिनको मुख्य आकर्षक भनेको भैलो हो। भैलो पछिका प्रमुख आकर्षक देउडा, रतेउली, ठाडीभाका र फुर्को खेल्ने गरिन्छ। भैलो पुरुषले मात्रै खेल्ने चलन छ। जसमा गोलाकार रुपमा एकले अर्काको हात समातेर एकसरो र दोहोरो पाइतोमा खेल्ने गरिन्छ। भैलोभित्र भैलाको नायक र बाजा बजाउनेहरु मात्रै हुने गर्दछन्।

कसरी खेलिन्छ भैलो?
आठबीस नगरपालिका प्रवक्ता एवं स्थानीय वीरबहादुर माक्र्सवादीले कोजाग्रत पुर्णिमाको बिहान सुर्योदय सँगै पञ्चेबाजा मार्फत दमाई बस्तीबाट विशेष पुजाआजाका साथ भैल्या बाजो अर्थात वर्षदिने बाजो बजाएर वरपरका छरछिमेकी र गाउँघरलाई भैलो खेलिने कुराको जानकारी गराउने बताए।

यसैगरी दिउँसो र साँझ तिर पनि विशेष नगरा र भैल्या बाजो लगाएर पञ्चेबाजा मार्फत धुमधामका साथ भैलाको सूचनाको प्रचार गरिन्छ। यही पञ्चेबाजाको सूचनाको आधारमा वरपरका छरछिमेकी भैल्यारा–भैल्यारीहरु भव्य र सभ्य रुपमा भैलो खेल्न र हेर्न उपस्थित हुने गर्छन्। 

नगरपालिका प्रवक्ता एवं सात्तलाको भैलो सम्बन्धि जानकार तथा भैलो भट्टाउने÷पैटाउने  समिति संयोजक समेत रहेका वीरबहादुरका अनुसार यो भैलोका प्रमुख हर्ताकर्ता र सामाजिक सांस्कृतिक रुपमा जिम्मेवार सातालाका पाल थापा, पाल दमाई र कडाराहरु हुन्।

यस्तै, दमाई बस्तीमा भैलो पैटाउन्या ठाउँ अर्थात गह्रा छ। त्यसै गह्रामा आफ्नो भाइहरुको नायक उपस्थित गराउने कुपिण्डाको बली दिने, विशेष पुजाआजा गर्ने, भैलो हेर्न र खेल्न आएका नातागोता, सम्बन्ध र भाइबन्धुले एकाअर्कालाई टिकाटाला र जमरा लगाउने चलन रहेको उनले बताए। 

‘यो क्रम सकिसकेपछि दिदिबहिनीहरुले भैलो खेलाउने र हेर्ने आफ्ना भाइबन्धुहरुलाई फुलका माला र फुर्के पगरी बाध्ने चलन छ। यति भैसकेपछि पगरी फुर्को, माला र झगुला सहित विशेष पहिरनमा ठाटिएका बाजा बजाउने दमाईहरु भैलो खेलाउनका लागि तयार हुन्छन्।’ वीरबहादुरले भने।

भैलो पैटाउने ठाँउमा महाराजी नगरासहित, भैल्या पाड र भैल्या बाजो अर्थात वर्ष दिन्या बाजो लगाई भैलो पुआड्दै आफ्नो नायकलाई काँधमा चढाएर ल्याउने र तामझामका साथ भैल्या गडामा उपस्थित हुने र विशेष रुपमा भैलो खेलाउने गरिन्छ।

उनका अनुसार भैलो खेल्दा र भैलो खेलाउदा भैलो पैटाउने अर्थात भट्ट्याउने टुक्काहरुलाई विशेष मानिन्छ। भैलो भट्याउदा प्राय देवीदेवताका नामहरु नै आउने गर्छन्।

यस्तै, भैलो व्यवस्थापन समितिका सचिव अम्मराज थापाले पाल थापाहरुको नायकको घरमा पनि कुपिण्डाको बलीसहित विशेष पुजाआजा गर्ने, आए÷गएका पाहुनाहरुलाई विशेष सम्मानका साथ भोज दिने नायकलाई विशेष सम्मानका साथ नातागोता, सम्बन्ध, भाइबन्धुहरु र भैल्याराहरुले टिकाटाला, जमरा र फुलमाला लगाउने परम्परा रहको बताए।

थापाका अनुसार पञ्चेबाजासहित दुबै तर्फका नायकहरु भैलामा प्रवेश गरिसकेपछि भैलो भव्य रुपमा चम्किने गर्छ। केही वर्षयता पाल थापा भित्रको जेठो नायक परिवारको घरबाट सम्पुर्ण विधि प्रक्रिया पु¥याई भैलो पुआड्दै पञ्चेबाजाको साथमा नायकसँगै धुमधामका साथ भैल्या गडा अर्थात भैलो खेल्ने ठाउँमा भैलो ल्याएपछि मात्रै भैल्याराहरु जम्मा भएर गोलाकार रुपमा लागेर वर्ष दिन्या बाजाका तालमा भैलो खेलिन्छ।

भैलो खेल्दा भैलाका टुक्काहरु भन्ने अर्थात भट्टाउने/पुआड्ने ८/१० जना बुढापाका र जानकारहरुको टिम नेपाली पोसाक दौरा सुरुवाल र टाउकोमा फुर्कोसहितको पगरी बनेर पञ्चेबाजासँगै खेल्न सुरु हुन्छ।

यिनै टुक्कामार्फत देवीदेवता, भैल्यारा, भैल्यारी, रम्चेडु, दर्शक, बाजा बजाउने, भैलो खेलाउने, सुरक्षाकर्मी, नायक, सरकार पक्ष, मातृभुमि सबैको सेवा सँगै आशिर्वाद पनि दिने गरिन्छ। यति मात्रै होइन भैलाको विदाई र अर्को सालको निम्तो पनि दिइन्छ।

भैलो भट्याउने टिमले हरेक टुक्का बदल्दा भैल्याराहरुले साब्बाई–साब्बाई भनेर निकै आनन्द लिने गर्दछन्।

सात्तलाको भैलो सम्बन्धि जानकार तथा भैलो भट्टाउने/पैटाउने समिति संयोजक वीरबहादुरका अनुसार भैलो खेल्दा प्रयोग हुने तुक्का अर्थात् शब्दावलीहरु यस्ता छन्ः
श्री गणेशाय नमः
देवताको भैलो
ए वर्षदिनको भैलो— भैलो
ए सुनको शैलो—भैलो
ए खेलखेल भाइयो—भैलिया भैलो
ए राम्ररी खेल—भैलो

प्रथम भैलो–महामाईको सेवा—भैलो
ए ह्वाँ पछि भैलो—महाकालीको सेवा–भैलो
ए ह्वाँ पछि भैलो —लक्ष्मीको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—सरस्वतीको सेवा–भैलो
ए ह्वाँ पछि भैलो —नव दुर्गा देवीको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—गणेशको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—बर्माको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—विष्णुको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—शिवको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—कालिकाको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—मालिकाको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—इन्द्रको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—कुर्मको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—कृष्णको सेवा–भैलो
ए ह्वाँ पछि भैला—रामज्यूको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—भूमिको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—प्रकृतिको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—तेत्तिसैकोटी देउताको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—पृतदेवको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—राष्ट्रको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—गाउँघरको सेवा–भैलो

सबै देवीदेवता र सबै क्षेत्रको सेवा गरे पश्चात सेवा चरणका टुक्काहरु सकिन्छन्। सेवा चरणमा प्रथम भैलो, द्वितीय भैलो भनेर पनि भन्ने चलन छ। यसमा ह्वाँ पछि भैलो भनेर सेवा चरणलाई सम्बोधन गरिएको छ।

यसपछि पञ्चेबाजाले दोहोरो बाजा बजाएपछि भैलो गज्जबले चम्किन्छ र भैलो दोहोरो पाइतोमा खेलिन्छ।

ए इनु बाँस क्या अरौँ ?—भैलिया भैलो
ए सिन्की चिरौला—भैलिया भैलो
ए सिन्की मिसिन्कि—भैलिया भैलो
ए ती सिन्की लिएर—भैलिया भैलो
ए कोट बुझाउला—भैलिया भैलो
ए कोटको राजा—भैलिया भैलो
ए क्या बरु देला ?—भैलिया भैलो
ए वर्ष दिन्या भैलो—भैलिया भैलो
ए आज क्या हो बार—भैलिया भैलो
ए भैल्या तिहार—भैलिया भैलो
ए सुनको शैलो—भैलिया भैलो
ए वर्ष दिन्या भैला—भैलिया भैलो
ए खेलखेल भाइयौं—भैलिया भैलो
ए राम्ररी खेल—भैलिया भैलो
ए भैल्यारा आया—भैलिया भैलो
ए दही केला (केरा) खाया—भैलिया भैलो
ए भैल्यारी आइछन्न—भैलिया भैलो

जिअन्नि। जिअनिन् को अर्थ बाँच्ने हो। देउ महाशिष भनेको ठूलो आशीर्वाद हो। लाख बरिष—लाखै वर्ष बाँचुन भन्ने आशीर्वाद हो। अदृश्य देवीदेवतादेखि जीव जन्तु, प्रकृति लगाएत मानव सबैलाई आशीर्वाद दिइन्छ।

ए वर्ष दिन्या भैलो—भैलिया भैलो
ए नभई मुख मैलो —भैलिया भैलो
ए खेलखेल भाईयौ—भैलिया भैलो
ए राम्ररी खेल—भैलिया भैलो
ए सरकारका माथ—भैलिया भैलो
ए दुबो पाथि भरियोस्—भैलिया भैलो
ए जनताका माथ—भैलिया भैलो
ए दुबो पाथि भरियोस्—भैलिया भैलो
ए नायकका माथ—भैलिया भैलो
ए दुबो पाथि भरियोस्—भैलिया भैलो
ए दमाईका माथ—भैलिया भैलो
ए दुबो पाथि भरियोस्—भैलिया भैलो
ए देउताका माथ—भैलिया भैलो
ए दुबो पाथि भरियोस्—भैलिया भैलो
ए भैल्याराका माथ—भैलिया भैलो

हरेक राम्रो काम भयो भने दुबो पाथि लगाएर आशीर्वाद दिने सांस्कृतिक चलन छ। सबैको भलो होस् सबैलाई (माथ भनेको) शिरमा दुबो पाथि माला पहिराउन परोस् सबैको सधै शुभ भइरहोस् भन्ने मान्यता हो।

ए खेल मेरा भाइयौ—भैलिया भैलो
ए वर्ष दिन्या भैलो—भैलिया भैलो
ए सुनको शैलो—भैलिया भैलो
ए भैलाका भैल्यारा—भैलिया भैलो
ए सुनका हारा—भैलिया भैलो
ए अहिलेका भैला—भैलिया भैलो
ए भैल्यारा भाइयौ—भैलिया भैलो
ए क्या बरु माग्छा—भैलिया भैलो
ए अहिलेका भैला—भैलिया भैलो
ए बोक्या पाठो चाइयो—भैलिया भैलो
ए चाहियो काँ पाइयो—भैलिया भैलो

यी टुक्काहरु भनिसकेपछि भैलाको अन्त्य हुन्छ। यसपछि देउडा, रतेउली, फुर्को लगायतका विभिन्न खेलहरु खेल्ने गरिन्छ। भैल्यारा र रम्च्याडुहरुले रातभर जाग्राम बसेर भैलो खेलेपछि खुसीको रुपमा भैलाको नायकसँग उपहार बोका माग्छन् र नायकले दिने वचन दिन्छन् भैलो सकिन्छ।

कसरी सुरु भयो भैलो?
भैलो सम्बन्धि जानकार तथा भैलो भट्टाउने÷पैटाउने समिति संयोजक वीरबहादुरले केही किवदन्तिहरु पाइएका बताएका छन्। ती किवदन्तिमा रहेका भैलो परम्परा सम्बन्धि जानकारीहरु तल उल्लेख गरिएको छ।

विजया दशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमाको रात्री सम्पन्नताकी देवी महालक्ष्मी रातभर को जागेको छ? जाग्राम बसेर पुजाआजा कसले गरिरहेको छ? भनेर पृथ्वीमा भ्रमण गर्ने र जाग्राम बसेका मान्छेलाई धनधान्य तथा ऐश्वर्य प्रदान गरी सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास रहेको छ।

यही विश्वासको आधारमा गाउँघरका मानिसहरु आफ्नो भलाइका लागि एकै ठाउँमा भेला हुन्छन् र, सम्पन्नताका लागि महालक्ष्मीको पखाइमा जाग्राम बस्ने भएका कारण भैलो खेल्ने परम्पराको सुरुवात भएको हो भन्ने मान्यता पनि छ।

भगवान रामले दश इन्द्रियहरुमा विजय प्राप्त गरिसकेको रावणमाथि विजय प्राप्त गरेर असत्य र नकारात्मक शक्तिलाई सत्यले जित्छ भनेर प्रमाणित गरेको हुनाले यसैको खुसीयालीमा एक रात जाग्राम बसेर भैलो खेल्ने परम्परा सुरुवात भएको हो भन्ने पनि मान्यता छ।

दुर्गा देवीले राक्षस गणका नायक महिषासुर लगायत रक्तवीज, शुम्भ, निशुम्भ आदिलाई बध गरी तिनको आतङ्कबाट मुक्त गरी मानव जगतको भलाई गरेको हुनाले यसैको खुसीयालीमा भैलो खेलिएको हो भन्ने मान्यता पनि छ।

सारमा भन्नु पर्दा यि विभिन्न धार्मिक विश्वास र मान्यताका आधारमा आफ्नो भलो होस् भनेर गाउँका सबै मानिस एक रात जाग्राम बस्नु पर्ने र जाग्राम बस्दा रातभर केही नगरी बस्न नसकिने भएकाले जाग्राम बसेका भक्तजनहरुले अब जाग्राम बस्दा कुनै खेल खेलर बसौँ भन्ने योजना बनाएर भैलो खेल्ने परम्पराको सुरुवाती भएको पनि हुन सक्छ। भलो शब्द अपभ्रंङ्स हुदै भैलोको रुपमा परिणत भएको पनि हुन सक्छ।

हेर्नुहाेस् तस्बिर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad