प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता सम्मानबाट पत्रकार सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराललाई सम्मान गरिने भएको छ।
नेपाल पत्रकार महासंघ कास्कीको सञ्चालन र दयाशंकर पालिखेका परिवारद्वारा स्थापना गरिएको पुरस्कार बस्नेत र बराललाई दिने निर्णय गरिएको हो। पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रतिभा छनोट समितिले २०८१ सालको पुरस्कार पत्रकार बस्नेत र २०८२ सालको पुरस्कार पत्रकार बराललाई प्रदान गर्न गरेको सिफारिसलाई अनुमोदन गरेको हो।
पुरस्कारको राशि एक लाख एक हजार १११ रुपैयाँ र सम्मान पत्र छ। पत्रकारद्वयलाई वैशाख २२ गते दयाशंकर पालिखेको स्मृति दिवसको दिन सम्मान गरिने पत्रकार महासंघ कास्कीका सचिव भूपाल गुरुङले जानकारी दिए।
तनहुँको व्यास नगरपालिका-२ दमौलीमा जन्मिएका बस्नेत विगत ३० वर्षदेखि पत्रकारितामा सक्रिय छन्। हाल उनी राष्ट्रिय समाचार समितिमा वरिष्ठ सम्पादकको रुपमा कार्यरत छन्।
पोखरा–७ नुवारथोकमा जन्मिएका बराल २०५५ सालदेखि पत्रकारिमा सक्रिय छन्। बराल बीबीसी नेपाली सेवा, अन्नपूर्ण पोस्ट दैनिक र इनेचर न्युज डटकममा कार्यरत छन्।
प्रतिभा छनोट समितिमा पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी रवीन्द्रनाथ बास्तोला, प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदी, पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष रामकृष्ण ज्ञवाली र पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बराल र सचिव भूपाल गुरुङ सदस्य थिए।
Shares

प्रतिक्रिया