समाज


‘आँटेको पुर्‍याइदेऊ बागलुङ कालिका...’

‘आँटेको पुर्‍याइदेऊ बागलुङ कालिका...’

नेपालखबर
चैत २५, २०८१ सोमबार १०:३७, बागलुङ

जब चैतेदसैँ आउँछ अनि सम्झिइन्छ, उही पुरानो गीत ‘आँटेको पुऱ्याइदेऊ रेशम बागलुङ कालिका...’, २०५४ सालतिर गायक शुभराम भारी र गायिका बिमाकुमारी दुराले यो गीत गाएका थिए।

त्यसयता पनि कालिका भगवतीको महत्त्व र महिमा उजागर गर्दै कैयन गीत रचिए र गाइए । गीतले भनेझैँ मनले आँटेताकेको पूरा हुने विश्वासमा चैतेदसैँ पारेर यस मन्दिरमा पूजाआजा गर्नेको लर्को लाग्छ।

गुठी व्यवस्थापन समितिको दाबीअनुसार चैत्राष्टमीका दिन शनिबार मात्रै करिब दुई लाख भक्तजनले बागलुङस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरको दर्शन गरे । आइतबार रामनवमीमा पनि बिहानै देखि मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्यो । चैतेदसैँको नवरात्रभर विशेष पूजाआज हुने भएकाले टाढाटाढाबाट भक्तजन यस मन्दिरमा आउने गर्छन् । मन्दिर परिसरमा चलिरहेको चैत्राष्टमी मेलाले पनि दर्शकलाई आकर्षित गरिरहेको समितिका अध्यक्ष कुमार खड्काले बताए।

उनका अनुसार विसं १५९१ मा मन्दिर स्थापना भएपछि चैतेदसैँ मेलाको परम्परा बसेको हो। 'चैतेदसैँमा लाग्ने यो देशकै ठूलोमध्येको मेला हो, यो कालिका भगवतीको महिमासँग जोडिएको छ', खड्काले भने, 'सदियौँदेखि चल्दै आएको चैतेदसैँ मेलालाई निरन्तरता दिँदै आएका छौँ।'

तत्कालीन पर्वत राज्यका राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग विवाह गर्ने क्रममा दाइजोस्वरुप ल्याएको माझकी देवीको मूर्तिलाई अहिले कालिका भगवती मन्दिर रहेको ठाउँमा प्रतिस्थापन गरी पूजापाठ सुरु गरिएको किम्वदन्ती छ । कालिका भगवतीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको अध्यक्ष खड्काले बताए।

'पाल्पाली राजाले आफूले पूजाआजा गर्दै आएको माझकी देवीको मूर्ति छोरीलाई दाइजो दिएको र सो मूर्तिलाई पर्वत राज्यमा ल्याउने क्रममा यहाँ डोली बिसाएको इतिहासमा उल्लेख छ', उनले भने, 'पछि डोली उठाउन खोज्दा कसैले उठाउन नसकेपछि देवीको मूर्तिलाई यहीँ राखेर पूजापाठ सुरु गरिएको किम्वदन्ती छ, तिनै माझकी देवीलाई अहिले कालिका भगवतीका रूपमा पुजिन्छ।'

सुरुमा खरले छाएको झुप्रोमा मन्दिर रहेको र पछि विभिन्न समयमा पुनःनिर्माण हुँदै मन्दिरले अहिलेको स्वरुप पाएको हो । यहाँ बर्सेनि बडादसैँ र चैतेदसैँमा मन्दिरमा विशेष मेला लाग्ने गरेको छ । देशका विभिन्न भूभागदेखि भारतसम्मका धार्मिक पर्यटक कालिका मन्दिर दर्शनका लागि आउने गर्छन् । मन्दिरमा बाह्रै महिना नियमित पूजाआजा हुने समितिका उपाध्यक्ष निशान खड्काले जानकारी दिए। 

साउन र पुस महिनामा भने बलि नचढ्ने उनको भनाइ छ । 'औँशी र एकादशीमा पनि मन्दिरमा बलि चढ्दैन, नियमित पूजाआजा भने दैनिक हुने गर्छ', उनले भने, 'मङ्गलबार र शनिबार भक्तजनको बढी भीड हुन्छ।'

मन्दिरमा राँगा, सुँगुर, बोका, कुखुरा, हाँस आदिको बलि दिने चलन छ । इतिहासका अध्येता काजी गाउँले श्रेष्ठले कालिका भगवतीसँग जोडिएको चैतेदसैँ मेलाले लामो इतिहास र परम्परा बोकेको बताए। 

श्रेष्ठले ‘एक पैसा कहिलेलाई बागलुङको चैतेदसैँलाई...’ भन्ने गीत पनि प्राचीनकालीन भएको बताए। उनका अनुसार पर्वत राज्य नेपाल राज्यमा गाभिएपछि म्याग्दीको बेनीबाट बागलुङ सरेको टक्सारमा धातुका पैसा छापिने गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad