समाज


सुन्तला छाडेर मौरीपालन, वार्षिक ३५ लाख आम्दानी

सुन्तला छाडेर मौरीपालन, वार्षिक ३५ लाख आम्दानी

नेपालखबर
कात्तिक १८, २०८१ आइतबार ११:२४, पर्वत

कुनै बेला जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा चिनिएका मोदी गाउँपालिका–२ देउपुरस्थित कोरु¬ङ्गाका टीकाराम तिमिल्सिनाले अहिले व्यावसायिक मौरीपालनबाट बर्सेनि रु ३५ लाख आम्दानी गर्न थालेका छन्। उनी सुन्तलाखेती छाडेर मौरीपालनमा आकर्षित भएका हुन्। 

घर अगाडिको बगैँचामा तीन सयभन्दा बढी सुन्तलाका बोट लगाएर गाउँमा ठूलो सुन्तला बगैँचा बनाएका तिमिल्सिना सुन्तलाका बोट मर्दै गएपछि समस्यामा परका थिए। सुन्तलामा भविष्य नदेखेपछि उनी मौरीपालनतर्फ आकर्षित भएका हुन्। 

सुरुमा उनले घरको आँगनमा केही मौरी पाल्न थाले। माहुरीको घार र महको माग बढ्न थालेपछि आफ्नो व्यवसायलाई विस्तार गर्दै लगेको तिमिल्सिनाले बताए। पहाडी भेगमा अनुकूल हुने ‘एपि सेरेना’ जातको मौरी पालेको भन्दै उहाँले यो व्यावसायबाट वार्षिक रु ३५ लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए। 

किसान तिमिल्सिनाले भने,  ‘यहाँ उत्पादन गरेको मह घरबाट नै बिक्री हुने गरेको छ। गुणस्तरीय मह भएकाले डुलाउँदै हिँड्नुपर्ने अवस्था छैन। मागअनुसार ग्राहकलाई पु¥याउन सकिरहेको छैन।’

विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोतसमेत तिमिल्सिनाको फार्म बनेको छ। कृषि ज्ञान केन्द्र तथा गाउँपालिकाको समन्वयमा गत वर्ष मात्र उनले एक सयभन्दा बढी माहुरीका घार बिक्री गरेका थिए। 

घरवरिपरि मौरीका घारैघार छन्। बिहान उठेदेखि साँझ नपरुञ्जेल तीनै मौरीका घारको हेरचाह गर्ने उनको दिनचर्या हो। परिश्रम र मेहनत गर्ने हो भने गाउँमा बसेर पनि लाखौँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण तिमिल्सिनाले देखाएका छन्। 

विगत २४ वर्षदेखि व्यावसायिक रूपमा मौरीपालन व्यावसाय गर्दै आएका तिमिल्सिनाले वार्षिक रु ३५ लाखसम्म आम्दानी हुने जनाउँदै अहिले एक सयभन्दा बढी मौरीका घार रहेका बताए। 

सुरुका केही वर्ष चिसोका कारण ५० प्रतिशत घाटा व्यहोरेका तिमिल्सिनाले पछिल्ला वर्ष सोचे जति आम्दानी हुने गरेको बताए । उनले वर्षमा दुईपटक मह निकाल्ने गरेका छन। विसं २०५७ देखि व्यावसायिक माहुरीपालन गर्न थालेका तिमिल्सिना जिल्लाकै नमूना मौरीपालक किसान छन्।

उत्पादित मह धेरै मात्रामा घरबाट बिक्री हुने गरेको बताउँदै तिमिल्सिनाले काठमाडौँ, चितवन, बुटवललगायत बजारमा ब्राण्ड बनिसकेको जानकारी दिए।  ‘कुश्माबजार, बागलुङ, काठमाडाँै, पोखरा र बुटबललगायत क्षेत्रबाट पनि व्यवसायीहरू घरमा आएर खरिद गरी लैजाने गरेका छन्’, उनले भने। 

विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि तिमिल्सिना मौरीपालनमा हौसिएका थिए। उनले महमात्र बिक्री गर्नु हुँदैन मौरीको घार र गोलासमेत बिक्री गर्ने गर्छन्। मौरीसहितको घार बिक्रीबाट बर्सेनि रु २० लाखभन्दा आम्दानी गर्छन्। 

उनको व्यवसायमा श्रीमती र छोराछोरीले समेत सहयोग गर्ने गरेका छन्। मौरीसहितका घार प्रतिगोटा रु १० हजार र मह प्रतिकिलो रु एक हजारमा बिक्री गर्दै आएको उनले बताए। उनले एक सिजनामा सात क्विन्टलभन्दा बढी मह काढ्दै आएको अनुभव सुनाए। 

मौरीपालनमा अन्य पेसा जस्तो एकैपटकमा लाखौँ लगानी गर्न नपर्ने, आम्दानी भने उल्लेख्य हुने यस व्यवसायमा लागेकाहरू बताउँछन्। तरकारी खेती, पशुपक्षी तथा कुखुरापालनमा जस्तो निरन्तर खट्न पनि नपर्ने भएकाले मौरीपालनमा किसानको आकर्षण बढेको अगुवा किसान उमाकान्त शर्माले बताए। 

उनका अनुसार अहिले पर्वतका देउपुर, मल्लाज, भङ्गरा, कुर्घा, ठानामौला, पाङराङ, बाच्छा, लुङ्खुलगायत व्यावसायिक मौरीपालक किसानले बर्सेनि सय बढी मौरीसहितका घार उत्पादन गरेर बिक्री गर्दै आएका छन्। सोही अनुपातमा महसमेत उत्पादन भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad