साप्ताहिक बिदाको दिन जेठ २ गते शनिबार प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमा आफ्नो एउटा तस्बिर सेयर गरे जसमा लेखेका थिए, ‘चिज भनौँ, डीडीसीको चिज।’
सरकारी स्वामित्वको दूग्ध विकास संस्थान (डीडीसी)को लागो भएको चिजको प्याकेटसँगै टेबुलमा चिजका टुक्रा पनि देखिन्छन्, तस्बिरमा। प्रधानमन्त्री शाहले चिज खाए जस्तो पनि गरेका छन्।
बिदाको दिन बिन्दास शैलीमा पोस्ट गरिएको यो तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्यो। कतिले ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ मार्फत प्रधानमन्त्री शाहको ठाउँमा आफ्नो तस्बिर राखेर सामाजिक सञ्जालमा सेयर गरे। यो ‘ट्रेन्ड’ नै चल्यो।
कतिले प्रधानमन्त्री शाहले डीडीसीको उत्पादन उपभोग र प्रवर्द्धन गरेको भन्दै प्रशंसा गरे। कतिले डीडीसीका उत्पादन उपभोग गर्न आह्वान पनि गरे।
तर, त्यही डीडीसीले भने दूग्ध किसानलाई रुवाइरहेको छ। डीडीसीले आफ्ना दूग्ध उत्पादन उपभोक्तालाई दैनिक नगदमै बिक्री गर्छ तर किसानबाट उधारोमा खरिद गरेको दूधको रकम भने समयमा भुक्तानी गर्दैन।
चितवन, मकवानपुरलगायत देशका विभिन्न ग्रामीण भेगका दूग्ध किसान दैनिक डीडीसीलाई दूध बिक्री गर्छन्। घरमा बालबालिकाको मुख थुनेर बिक्री गरेको दूधको पैसा भने डीडीसीले समयमै दिँदैन। पछिल्लो पटक चितवनकै दूग्ध किसानको पाँच महिनाको भुक्तानी गरेको छैन।
कतिपय दूग्ध किसानले दूधको पैसा नपाएको त अझ बढी समय बितेको छ। ‘डीडीसीसँग गत पुस १६ गतेदेखिको किसानको दूधको भुक्तानी बाँकी छ,’ जिल्ला दूग्ध सहकारी संस्था, चितवनका अध्यक्ष किशोर बगाले भन्छन्।
भुक्तानी नपाउँदा सहकारी पनि संकटमा
मकवानपुरको हेटौँडा उपमहानरपालिका–११ की चन्द्रावती थापाको गोठमा १० वटा गाई छन्। उनका ६ वटा गाई दुहुनो छन् भने चार वटा गाई ब्याउने तरखरमा छन्। उनी दैनिक ३५ देखि ४० लिटर दूध उत्पादन गरेर वडामै रहेको क्षीर सागर दूग्ध उत्पादक सहकारी संस्थामा लैजाने गरेकी छन्।
दूग्ध सहकारी संस्थाले महिनाको दुई पटक उनको खातामा दूधको रकम भुक्तानी गरिदिन्छ। कहिलेकाहीँ दूधको रकम पाउन ढिलो हुँदा साह्रै समस्या हुने गरेको उनी सुनाउँछिन् । ‘गाईलाई पराल, दाना, चोकर र ढुटो किनेर खुवाउन समस्या हुन्छ,’ थापा भन्छिन्।
तर, सहकारीबाट दूध लग्ने सरकारी संस्थाले नै समयमै रकम नदिएको उनलाई पनि थाहा छ। त्यो संस्था प्रधानमन्त्री शाहले भनेकै डीडीसी हो। ‘सहकारीबाट दूध लैजाने संस्थाले धेरै समयदेखिको भुक्तानी दिएको छैन रे! हामीलाई भने सहकारीले सकेसम्म समयमै दिने गरेको छ,’ उनी भन्छिन्, ‘समयमै दिएनन् भने त कहाँ गाईवस्तु पाल्न सक्नु? एक महिना मात्रैको रोकियो भने पनि गाई बेच्न सुरु गरे हुन्छ।’
उनले त गाई बेच्नु परेको छैन, तर चितवनका कतिपय किसानले भने गाईभैंसी बेच्नुपर्ने अवस्था आएको छ। त्यही पीडाका कारण चितवनका किसान विरोध स्वरुप सडकमा दूध पोख्दै पनि आइरहेका छन्। उनीहरूले ६ महिनादेखि दूधको पैसा पाएका छैनन्।

डीडीसीले समयमै दूधको भुक्तानी नदिँदा चितवनको रत्ननगर नगरपालिका–१२ का किशोर बगाले समस्या झेलिरहेको बताउँछन््। उनको गोठमा अहिले ५१ वटा दुहुनो गाई छन्। दैनिक रुपमा चार सय लिटर दूध उत्पादन गर्ने उनले मासिक रुपमा साढे पाँच लाख रुपैयाँको दूध बिक्री गर्छन्।
जिल्ला दूग्ध सहकारी संस्था, चितवनका अध्यक्ष समेत रहेका बगालेको फार्मबाट उत्पादन भएको दूध दुग्ध सहकारीमार्फत नै उठाउने गरिएको छ। उनको दूधको रकम डेढ महिनादेखि बाँकी छ। अलिकति रोकिँदा गाईलाई पाल्नै गाह्रो हुने गरेको उनी सुनाउँछन्।
चितवनका ग्रामीण भेगका किसान दूधको भुक्तानी नपाएपछि दूग्ध सहकारीमा पुग्ने गरेका छन्। पटकपटक आउजाउ गर्दा भुक्तानी नपाएपछि कतिपय झैझगडा पुग्छन् भने कतिपय रुदै फर्किन्छन्।
डीडीसीले लामो समयसम्म दूधको भुक्तानी नगरेपछि मर्कामा परेका किसानलाई सहज बनाउन कतिपय दूग्ध सहकारीले वैकिल्पक उपाय पनि अपनाइरहेका छन्। दूध लैजाने सहकारीले बैँकबाट ऋण लिएर किसानलाई समयमै भुक्तानी दिने कसरत गरिरहेका छन्। यस लोन लिएर कारोबार मिलाउन सकस भएका कारण केही ढिला भएको अध्यक्ष बगाले बताउँछन्।
‘म पनि दूग्ध उत्पादक किसान हुँ। ठूला डेरी उद्योगले दूधको भुक्तानी दिएका हुँदैनन्, त्यसको मार दूग्ध उत्पादक सहकारीमाथि परेको हुन्छ,’ रत्ननगरमै रहेको जय मंगला दूग्ध उत्पादक सहकारी संस्थाका उपाध्यक्ष समेत रहेका बगाले भन्छन्, ‘हामीले किसानलाई टिकाउनका लागि बैंकबाट लोन लिएर भुक्तानी गरेका हुन्छौँ। हामीले दूध संकलन गरेर पठाएका ठूला डेरी उद्योगले भने लामो समयसम्म भुक्तानी दिएका छैनन्।’
अध्यक्ष बगालेका अनुसार चितवनमा रहेका ११५ भन्दा बढी दूग्ध सहकारीमार्फत संकलन भएको दूध लैजाने डीडीसीसहित ठूला डेरी उद्योगले भुक्तानी दिएका छैनन्। समयमै भुक्तानी नपाउँदा दूग्ध किसान मर्कामा परेको उनी सुनाउँछन्। डीडीसीसँग गत पुस १६ गतेदेखि भुक्तानी बाँकी छ भने केही ठूला उद्योगीबाट तीन महिनादेखिको भुक्तानी हुन बाँकी छ।
उनका अनुसार चितवनका दूग्ध उत्पादक सहकारीले करिब ५५ करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ। जसमा डीडीसीको मात्रै १८ करोड भुक्तानी लिन बाँकी रहेको उनी बताउँछन्।
‘चितवनबाट दूध लैजानेमध्ये २५ प्रतिशत डेरी उद्योगले समयमै भुक्तानी दिएका छन्। बाँकी ७५ प्रतिशतले तीन–चार महिनासम्म पनि भुक्तानी दिदैनन्,’ अध्यक्ष बगाले भन्छन्, ‘किसानले लामो समयसम्म रकम नपाउँदा दैनिक जीवन सञ्चालनमै समस्या हुन्छ।’
साना डेरी उद्योगले समयमै भुक्तानी गर्छन्। ठूलो डेरी उद्योगले भने ‘डीडीसीले त दिएको छैन’ भनेर झुलाउने गरेका छन्। डीडीसी र ठूलो डेरी उद्योगका कारण किसान पलायन हुने अवस्थामा पुगेको बताउँछन्।
किसानलाई जोगाउन पनि दूग्ध सहकारी संस्था लागिरहेको अध्यक्ष बगालेको भनाइ छ। ‘किसान पलायन गराउनु भएन। किसानलाई जोगाउन सहकारीले बैंकबाट लोन लिएर भए पनि दिनैपर्यो,’ उनी भन्छन्, ‘डीडीसीले समयमै भुक्तानी दिए किसानदेखि सबैलाई सहज हुने थियो।’
चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुन्छ। जिल्लाका ११५ वटा दूग्ध उत्पादन सहकारीमार्फत ४० हजार किसानले उत्पादन गरेको दूध बिक्री हुँदै आएको अध्यक्ष बगाले बताउँछन्।

मकवानपुरमा पनि उस्तै समस्या
चितवनको जस्तै समस्या मकवानपुरमा पनि छ। मकवानपुरका दूध उत्पादक किसानले दूध बिक्री गरे बापत पाउनुपर्ने करिब ३१ करोड रुपैयाँ भुक्तानी पाएका छैनन्। किसानबाट दूध संकलन गर्दै आएको जिल्ला दूग्ध उत्पादक सहकारी संघ, मकवानपुरका अनुसार केही उद्योगले २०७८ सालदेखि नै किसानको रकम भुक्तानी रोकेर राखेका छन्।
सहकारी संघका अध्यक्ष हरिप्रसाद कँडेलका अनुसार मकवानपुरमा सञ्चालित ११ डेरी उद्योगले किसानलाई अझै ३१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। जसमा १५ करोड रुपैयाँ मकवानपुरकै डेरी उद्योगसँग लिन बाँकी छ। मकवानपुरमा अहिले दैनिक एक लाख लिटर दूध उत्पादन हुँदै आएको छ।
‘हामीले जिल्लामा उत्पादन हुने ६० हजार लिटर दूध विभिन्न डेरीसँग समन्वय गरेर पठाउँछौँ,’ अध्यक्ष कँडेल भन्छन्, ‘डेरी उद्योगले विगत चार महिनादेखिको भुक्तानी नदिँदा किसानसँगै दूग्ध सहकारी संस्था मारमा परेका छन्। डेरी उद्योगको ढिला सुस्तीले दूग्ध सहकारी घाटामा गएका छन्।’
मकवानपुरमा ६६ वटा दूग्ध सहकारी संस्था छन्। यी संस्थाले किसानले उत्पादन गरेको दूध संकलन गरेर जिल्ला दूग्ध सहकारी संघमा पठाउँछन्। संघबाट विभिन्न डेरी उद्योगलाई दूध पठाइन्छ।
संघका अध्यक्ष कँडेलका अनुसार मकवानपुरमा डीडीसीले दिनुपर्ने भुक्तानी रकम भने सात लाख रुपैयाँ मात्रै छ। आवश्यकताको आधारमा मात्रै डीडीसीले संघबाट दूध संकलन गर्ने गरेको छ। त्यसैले मकवानपुर दूग्ध किसानको डीडीसीसँगै धेरै कारोबार हुँदैन।

महिना दिनमा एक करोड भुक्तानी
दूधको भुक्तानी नपापछि दूग्ध सहकारी संस्था, संघले जिल्ला प्रशासनलाई गुहारेका थिए। त्यसपछि प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको पहलमा दूग्ध सहकारी संस्था, संघ र डेरी उद्योगीसँग जिल्ला प्रशासन कार्यालयमा गत वैशाख ८ गते छलफल भएको थियो। त्यसयता महिना दिनमा एक करोड रुपैयाँ भुक्तानी भएको अध्यक्ष कँडेल बताउँछन्।
उद्योगी व्यवसायीले असार मसान्तसम्म ६५ प्रतिशत रकम भुक्तानी दिने बाचा गरेका छन्। आउँदो असोजसम्म पुरानो बक्यौता सबै तिर्ने सहमति भएको छ। ‘हेरौँ, सहमति अनुसार भुक्तानी भयो भने किसानको हित हुन्छ,’ अध्यक्ष कँडेल भन्छन्।
उद्योगीले पनि किसानसँग उधारोमै दूध खरिद गर्छन्। बजारमा दूध र दूग्ध उत्पादन नगदमै बिक्री गर्छन्। तर, किसानलाई भने समयमा पैसा दिँदैनन्। ‘उधारोमा किनेर नगदमा बेच्दा पनि भुक्तानी नगर्ने प्रवृत्तिले किसानमाथि अन्याय भइरहेको छ’ उनी भन्छन्।
चितवन, मकवानपुरलगायत विभिन्न जिल्लाका दूग्ध किसानको डीडीसीले मात्रै ४६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी डीडीसी सुधारको कार्ययोजना अघि सारिएकोले अब किसानको भुक्तानी हुने बताउँछिन्। डीडीसीले भुक्तानी गर्नुपर्ने ५८ करोडमध्ये पछिल्लो एक महिनामा १२ करोड भुक्तानी भएको र चरणबद्ध रुपमा भुक्तानी गरिने उनको भनाइ छ।
किसान भने दूधका रकम समयमै भुक्तानी हुनेमा विश्वस्त छैनन्। मन्त्रीले भन्दैमा र प्रधानमन्त्रीले सामाजिक सञ्जालमा डीडीसीका उत्पादनको फोटो हाल्दैमा समस्या समाधान नहुने उनीहरूको भनाइ छ। त्यसका लागि सरकारले डीडीसीलाई भुक्तानी गर्न रकम उपलब्ध गराउनुपर्ने र डीडीसीमा सञ्चालनमा आमुल परिवर्तन गर्नुपर्ने बताउँछन्। ‘नयाँ सरकार बनेपछि डीडीसीमा सुधार देखिएला भन्ने आशा राखे पनि समस्या भने यथावत रहेको छ,’ दूग्ध सहकारी संघ चितवनका अध्यक्ष बगाले भन्छन्।
Shares

प्रतिक्रिया