मकवानपुरको मनहरी गाउँपालिकाले नमुना कृषक बहुमुखी सहकारी संस्था लिमिटेडलाई साढे सात लाख रुपैयाँ बराबरको ३० केभीए क्षमताको जेनेरेटर सहयोग गरेको छ।
शनिबार मनहरी–३ मा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले सहकारीका अध्यक्ष लालबहादुर थापालाई जेनेरेटर हस्तान्तरण गरेका छन्। गाउँपालिका अध्यक्ष कालाखेतीले विद्युत अवरुद्ध हुँदा किसानबाट संकलित दूध चिस्यान केन्द्रमा सुरक्षित राख्न समस्या हुने भएकाले जेनेरेटर उपलब्ध गराइएको बताए। उनले किसानबाट दूध बिक्रीका आधारमा संकलित रकम पुनः किसानकै हितमा खर्च गर्ने नीति अनुसार सहयोग गरिएको बताए।
मनहरी गाउँपालिकाले केही समयअघि दूग्ध किसानको भुक्तानी सुनिश्चित गर्दै सहकारीमार्फत दूध खरिद–बिक्री व्यवस्थापन सुरु गरेको थियो। त्यसपछि किसानबाट प्रतिलिटर ५० पैसाका दरले रकम संकलन गरिँदै आएको छ।
यसअघि जिल्ला सहकारी संघमार्फत दूध कारोबार हुँदा प्रतिलिटर तीन रुपैयाँसम्म कमिशन तिर्नुपर्ने अवस्था थियो। अहिले खर्च घटेर ५० पैसामा सीमित भएको गाउँपालिकाको भनाइ छ।
गाउँपालिकाले सञ्चालन गरेको ‘कृषि उपज खाता’मार्फत हालसम्म करिब २५ लाख रुपैयाँ संकलन भइसकेको छ। उक्त रकम दूग्ध किसान तथा सहकारीको पूर्वाधार विकासमा खर्च गर्ने लक्ष्य राखिएको छ।
सहकारीमार्फत दूध संकलन र नियमित भुक्तानी प्रणाली सुरु भएपछि मनहरीका दूग्ध किसान उत्साहित बनेका छन्। गाउँपालिकाले उद्योगसँग समन्वय गरेर प्रत्येक १५ दिनमा किसानलाई भुक्तानी सुनिश्चित गरेपछि किसानको विश्वास समेत बढेको अध्यक्ष कालाखेतीको भनाइ छ।
पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका युवा पशुपालन व्यवसायतर्फ आकर्षित हुन थालेपछि मनहरीमा दैनिक करिब १५ हजार लिटर दूध उत्पादन हुने गरेको गाउँपालिकाले जनाएको छ।
Shares

प्रतिक्रिया