सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रूपमा मनाउन सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठक यहीँ बस्न आग्रह गरिने भएको छ।
त्यही सन्दर्भमा शुक्रबार यहाँ आयोजित छलफल कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले भ्रमण २०२४ लाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म प्रचारप्रसार गरी विशेषरूपमा मनाउने बताइन्।
यसै क्रममा सङ्घीय सरकारको मन्त्रिपरिषद्को बैठक भरतपुरमा बस्न अनुरोध गर्न लागिएको उनले जानकारी दिइन्।
भ्रमण वर्षका अवसरमा विश्वभर रहेका भरतपुरवासी र विदेशीलाई आमन्त्रण गरिँदैछ। दाहालले नेपाल ट्रष्टको आँपटारीमा रहेको दियालो बङ्गला अवलोकन गर्नका लागि खुल्ला गर्न पहल भइरहेको बताइन्।
महानगरभित्र हरियाली बनाउन चार करोड बजेट छुट्याइएको छ भने टोलमा नियमित सरसफाइका लागि अभियान अघि बढाइएको उनले बताइन्।
कार्यक्रममा प्रदेशसभा सदस्य कृष्ण सिलवाल, गीता गुरुङ, ज्ञानजङ्ग लामा, ठाकुर ढकालसहित राजनीतिक दलका जिल्ला नेतृत्व एवं प्रतिनिधि, कार्यालयका प्रमुख, उद्योगी, व्यापारी, गैरआवासीय नेपाली महासङ्घका प्रतिनिधिले आफ्नो सुझाव राखे।
Shares

प्रतिक्रिया