ad ad

समाज


मध्य वर्षातमै खडेरी, चर्को घामले सुक्न थाल्यो रोपेको धान

मध्य वर्षातमै खडेरी, चर्को घामले सुक्न थाल्यो रोपेको धान

गाेपाल बराल
भदौ २५, २०७६ बुधबार ३:५८,

दिनहुँ झमझम पानी परी रहेर धान गोड्न खेतमा हुनुपर्ने बेला प्रचण्ड घामले घरबाट निस्कन नसकिने भएपछि महोत्तरीका किसान अनिकालको चिन्ताले पिरोलिएका छन्।

लामो खडेरीले धान रोपिएको खेत चिरा परेर (धाँजा फाटेर) रोपो पहेँलिदै गएपछि किसान अनिकालको चिन्ताले पिरोलिएका हुन् । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत साउनमध्ययता राम्रो पानी परेको छैन।

“वर्षाकाल भनिने साउन÷भदौमा दिनभरि प्रचण्ड घाम र रातभरि आकाशमा तारा देखिन्छन्, पानी पर्ने कुनै छाँट देखिँदैन”, जलेश्वर नगरपालिका–५ का किसान रहिमन मण्डलले भने “यसपालि अब धान बौरिने (पँहेलिएको रोपो हरियो हुने) देखिँदैन।”

जिल्लाको मुख्यबाली धान खेतमा पहेँलिएर सुक्दै गएपछि रहिमनजस्तै सबै किसान अहिले चिन्तित छन्।

जेठ÷असारको लामो खडेरीले धानको बीउ हुर्काउन नसक्दा रोपाइँको उपयुक्त बेला असारे पन्ध्रताका यहाँका किसानले धान रोप्न पाएनन्। असार अन्तिम सातामा बाढी र डुबानले थिलथिल्यायो।

साउन १५ यता फेरि लामो खडेरी परेपछि थोरैतिनो रोपिएको धान पनि खेतमै सुकेपछि यसपालि धान भित्र्याउने आस मरेको महोत्तरी गाउँपालिकाको हरिगोरीगम्मा गाउँका किसान रामगुलाम पासवानले बताए।

जिल्लामा करीब ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टरको सेरोफेरोमा हिउँदे धानखेती हुँदै आए पनि यसपालि मौसमको प्रतिकूलताले ३५ हजार हेक्टरभित्र मात्र धान रोपाइँ हुनसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

पछिल्लोपटक रोपिएको धान पनि साउन १५ यताको खडेरीको मारमा परेको जलेश्वर सम्पर्क कार्यालयका कृषि प्राविधिक रामकैलाश साहको भनाइ छ।

जिल्लाको कूल खेतीयोग्य जग्गामध्ये मुस्किलले १० प्रतिशतमात्र सिञ्चित (कुलो, नहरको पानी लाग्ने) छ । यसबाहेक सबै जग्गा आकाशे पानीका भरमा खेती गर्नुपर्ने हुँदा किसानले जुनसुकै बालीको उपयुक्त बेलामा खेती लगाउन पाएका छैनन्।

यसपालि त सिञ्चित भनिएका जग्गाको पानीका स्रोतको लामो खडेरीले मुहान सुकाएपछि यस्ता खेतमा पनि धाँजा फाटीरहेका बर्दिवास नगरपालिका–३ कालापानीका किसान नरबहादुर पुलामी बताउँछन्।

पाका किसान ६५ वर्षीय पुलामीले आफ्नो धान रोपिएको धाँजा फाटेका खेत देखाउँदै भने “प्रचण्ड घामले मुखको थुक त सुकाउने भयो, पानीको मुहान के टिक्थ्यो र?”

चुरे पर्वत श्रेणीबाट झर्ने रातु, बडहरी, भब्सी, जङ्घा, मरहा, गणन्ता, ओक्सी, बिग्ही र बाँकेलगायतका नदी जिल्ला भएर बग्दै एकअर्कोमा मिसिएर भारतको सीतामढी जिल्ला पुग्दछन्।

पछिल्लो एक महीनाभन्दा लामो खडेरीले खेतबारी सुकाउने मात्र नभई बस्ती–बस्तीका खानेपानीका स्रोतका मुहान सुकाउँदै लगेको छ। उत्तरी क्षेत्रमा खानेपानीको स्रोत नदीको पानी र इनार तथा मध्य एवं दक्षिणी क्षेत्रमा चापाकल, इनार र केही ठाउँमा आर्टिजिन बोरिङ छन्।

भदौ १५ यता आफ्नो बस्तीका १५ भन्दा बढी चापाकल सुकेका भङ्गाहा–४ की गृहिणी दीपमाया श्रेष्ठले बताइन्।

जिल्लाको मुख्यबाली धान प्रतिकूल मौसमले सुक्दै गएपछि यसपालि अन्नको सङ्कट बढ्ने आम किसानको चिन्ता छ।

यसैबीच कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय जलेश्वरका कृषि विज्ञले भने अब अहिलेदेखि नै कम पानीमा गर्न सकिने बाली लगाउने तयारी गर्नपर्ने सुझाएका छन्।

हिउँदे लहरे तरकारी, कात्तिक लाग्दै गहुँ लगाउने तयारी र अन्य तरकारी बाली भदौभित्रै लगाउन सके जाडो मौसम लागेपछि पानीबिना बाली डढ्ने स्थिति नरहने विज्ञको सुझाव छ।

जिल्लाका १५ स्थानीय तहले कृषिलक्षित विभिन्न घोषणा गरे पनि सिँचाइको समुचित प्रबन्ध हुन नसक्दासम्म ती कार्यक्रम प्रभावकारी देखिएका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .