टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने तथा पत्रकार युवराज कँडेल पुर्पक्षका लागि थुना बाहिर रहन धरौटी माग गर्ने जिल्ला अदालत चितवनको आदेशविरुद्ध उच्च अदालत गएका छन्। पाटन उच्च अदालतको हेटौंडा इजलासमा दिइएको निवेदनमा धरौटीसहितका सर्तहरु खारेज हुनुपर्ने माग गरिएको छ।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहनको अभियोगमा जिल्ला अदालत चितवनले भदौ ९ गते लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। उनीहरु सो रकम बुझाएर त्यसै दिन थुनामुक्त भएका थिए।
यो बाहेक अदालतले लामिछानेको हकमा विदेश जानुभन्दा अगाडि अदालतको पूर्व स्वीकृति लिनुपर्ने एवं आफू अभियुक्त भएको प्रकरणमा सञ्चार माध्यम प्रयोग गरी विषयवस्तुलाई अतिरञ्जित गर्न नपाइने सर्त राखेको थियो। उच्च अदालतमा दर्ता भएको निवेदनमा यी सर्तहरु बेरितको भएकाले बदर माग गरिएको छ। उनीहरुको निवेदनमाथि बुधबार सुनुवाई गर्ने उच्च अदालत हेटौंडा इजालसले तयारी गरेको छ।
न्युज २४ बाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’का दुवै सञ्चारकर्मीसँग जिल्ला अदालत चितवनले फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम आत्महत्या दुरुत्साहन कसुरमा धरौटी माग गरेको थियो।
प्रतिक्रिया