अहिले देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्यसम्म बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म बदली केही स्थानमा वर्षा हुने सम्भावना छ।
पूर्व र मध्य केही तथा पश्चिमका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने महाशाखाले जनाएकाे छ।
यस्तै राति पनि केही स्थान हल्का्देखि मध्यमसम्म वर्षा हुने महाशाखाले उल्लेख गरेको छ।
मौसमविद् शान्ति कँडेलका अनुसार काठमाडौं उपत्यकामा पनि अहिले आंशिक बदली छ। दिउँसो वा साँझपख वर्षा हुने सम्भावना छ।
‘अहिलेको वर्षा खण्डखण्डको किसिमको हुनेछ,’ नेपालखबरसँग मौसमविद् कँडेलले भनिन्,‘एक ठाउँमा पानी परिरहेको हुन्छ तर नजिकै अर्काे ठाउँमा पर्दैन।’
उनका अनुसार अहिले मनसुन निस्क्रियजत्तिकै छ। किनकि अहिले पानी पार्ने सशक्त प्रणाली न्यून चापीय रेखा औसत स्थानबाट दक्षिण अर्थात् नेपालदेखि टाढा छ।
‘हामी आगामी तीन दिनसम्मको पूर्वानुमान गर्छाैँ,’ मौसमविद् कँडेलले भनिन्, ‘यसबीच ठूलो र लगातार वर्षाको सम्भावना देखिन्न।’
तर मनसुनको समय अझै एक महिना बाँकी नै रहेकाले पुनः ठूलो वर्षा हुने सम्भावना भने बाँकी नै रहेको उनले बताइन्।

प्रतिक्रिया