ad ad

समाज


पछिल्लो ५ वर्षमा जातीय विभेदका १८२ घटना दर्ता, कहाँ कति?

पछिल्लो ५ वर्षमा जातीय विभेदका १८२ घटना दर्ता, कहाँ कति?

नेपालखबर
असार ८, २०७८ मंगलबार ११:४०,

केन्द्रीय सरकारको कार्यालय रहेकै स्थान काठमाडौंमा भाडामा बस्ने कोठा खोज्ने क्रममा सञ्चारकर्मी रूपा सुनारले जातीय विभेद भोग्नुपरेको घटना अहिले चर्चामा छ। आफूलाई जातीय अपमान गर्ने बबरमहलकी घरबेटी सरस्वती प्रधानविरुद्ध उनले महानगरीय प्रहरी वृत्त (सिंहरदबार) मा उजुरी दिएपछि फेरि एकपटक नेपाली समाजमा जातीय भेदभाव र छुवाछूतसम्बन्धी बहस व्यापक बनेको छ। घरबेटी प्रधानलाई प्रहरीरले हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको छ। अब पीडितले न्याय पाउँछिन् कि पाउँदिनन् प्रतीक्षाको विषय बनेको छ।

यो त पछिल्लो समय सार्वजनिक जातीय आधारमा गरिएको मानसिक हिंसा मात्रै हो। यसअघि जातकै निहुँमा भौतिक आक्रमण तथा हत्या नै भएका घटना कैयौं छन्। गत वर्ष मात्र रुकुममा कथित उच्च जातकी केटीसँग प्रेम गरेको रिसमा जाजरकोटका नवराज विक मारिए भने त्यसअघि यस्तै अन्तर्जातीय प्रेमकै कारण हत्या गरिएका काभ्रेका अजित मिजारको शव अझै त्रिवि शिक्षण अस्तपालमा सडिरहेको छ, न्याय नपाएर।

नेपाल प्रहरीका अनुसार पछिल्लो ५ वर्षयता मात्र मुलुकभर जातीय विभेदका १८२ घटना दर्ता भएका छन्। केन्द्रीय अनुसन्धान ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ को वैशाखसम्म देशभर जातीय भेदभाव तथा छुवाछ ५६ घटना दर्ता भएका छन् भने त्यसअघि आर्थिक वर्ष २०७६/७७ मा ३९ घटना दर्ता गरिएका छन्।

यसैगरी आर्थिक वर्ष २०७५/७६ मा ४५, आव २०७४/७५ मा १७ तथा आव २०७३/७४ मा २५ घटना दर्ता भएको प्रहरीले जनाएको छ।

यस अवधिमा प्रदेशगत हिसाबले सबैभन्दा बढी जातीय विभेदका घटना सुदूरपश्चिममा भएको छ भने दोस्रोमा तराई/मधेस अर्थात् प्रदेश २ देखिएको छ।

उपलब्ध तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०७७/७८ को वैशाखसम्म सबैभन्दा बढी सुदूपश्चिम प्रदेशमा जातीय भेदभाव तथा अपमानसम्बन्धी घटना ४० वटा दर्ता भएका हुन्। यस अवधिमा प्रदेश २ मा ३१ घटना दर्ता भएका छन् भने बागमती प्रदेशमा १५, गण्डकीमा १०, कर्णालीमा १५ घटना दर्ता भएका छन्।

यसैगरी पछिल्लो ५ वर्षमा काठमाडौं उपत्यकामा मात्र जातीय भेदभावका १० घटना दर्ता भएको प्रहरीले जनाएको छ।

आर्थिक वर्ष २०७३/७४ मा भने मुलुक प्रदेशमा विभाजन भइनसकेकाले प्रहरीले उपत्यका, पूर्व, पश्चिम, मध्य, मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रका रूपमा तथ्यांक संकलन गरेको छ। जसअनुसार त्यस आर्थिक वर्षमा उपत्यकामा २, पूर्वमा ४, मध्यमा ६, पश्चिममा ७, मध्य-पश्चिम क्षेत्रमा ४ र सुदूरपश्चिम क्षेत्रमा २ वटा जातीय भेदभाव तथा अपमानसम्बन्धी घटना दर्ता गरिएका छन्।

न्याय निरुपणका लागि अदालत पेस भएका यी मुद्दाका के कति पीडितले न्याय पाए भन्ने तथ्यांक भने आफूहरूसँग नहुने नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए।

‘हामीले त घटना अनुसन्धान गरेर बुझाउँछौं,’ एसएसपी कुँवरले मंगलबार अपराह्न नेपालखबरसँग भने, ‘अब अदालते के कसरी न्याय निरुपण गर्यो भन्ने कुरा हामीलाई थाहा हुँदैन।’

‘तर पनि अदालत पेस भइसकेको मुद्दामा ‘गाह्रोसाह्रो’ न्याय निरुपण गरिएकै हुनुपर्छ,’ उनी थप्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .