ad ad

समाज


सेतीले खतराको तह पार गर्‍यो, स्थानीय प्रशासनले जारी गर्‍यो ‘हाइअलर्ट’

सेतीले खतराको तह पार गर्‍यो, स्थानीय प्रशासनले जारी गर्‍यो ‘हाइअलर्ट’

नेपालखबर
असार ४, २०७८ शुक्रबार ४:२९,

लगातारको वर्षाका कारण डोटीस्थित सेती नदीमा पानीको बहाव बढेको छ। बहाव बढेकाले नदी आसपासका बस्तीमा खतराको सम्भावना बढेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय डोटीले सबै नागरिकलाई आग्रह गरेको छ।

डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह अधिक बढेको छ । सेती नदीमा अहिले पानीको बहाव ८.४ क्युसेक पुगेको छ । यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो।

केन्द्रका अनुसार सेतीमा ३.५ क्युसेक बहाव हुँदा नै खतरा हुने गर्दछ। बाढीले स्थानीय किसानका धान रोपेका खेतमा कटान गरी बगाउन थालेको छ । सेती नदी आसपासका बस्ती बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासीलाई विशेषगरी रातिको समयमा सचेत रहन प्रहरी प्रशासनले आग्रह गरेको छ।

त्यसैगरी नदीमा पानीको बहाव बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दिपायल, प्रहरी चौकी तिल्तालीको टोलीले नागरिकलाई नदी क्षेत्रमा नजान तथा सचेत रहन माइकिङ गरिरहेको छ।

सेतीमा पानीको बहाव बढेकाले नदी आसपासका नागरिकलाई सुरक्षित रहन र नदीमा माछा मार्दै आएका नागरिकलाई केही दिन नदीमा नजानसमेत आग्रह गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए।

लगातारको वर्षाका कारण बाढीपहिरो आउने खतरा बढेकाले विपद् व्यवस्थापनमा जुट्नका लागि जिल्लाका तीनवटै सुरक्षा निकायलाई ‘हाइअलर्ट’ मा बस्न निर्देशन दिइएको खनालले बताए। विपद् तथा नदीबाट हुने खतराबाट जोगिन प्रशासनले चौबीसै घण्टा सुरक्षाकर्मीलाई ती क्षेत्रमा अनुगमन गर्न निर्देशनसमेत दिएको छ।

डोटीमा केही दिनदेखि लगातार वर्षा भइरहे पनि अन्य साना नदीमा पानीको बहाव समान्य अवस्थामै रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले जानकारी दिए।

वर्षाकै कारण डोटीका विभिन्न ठाउँमा पहिरो गएको छ भने एक दजर्नभन्दा बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षा शुरु भएसँगै जिल्लाको ग्रामीण भेगका अधिकांश सडक अहिले सवारी साधन गुड्न नसक्ने अवस्थामा पुगेका छन्।

बाटो बिग्रेकाले सदरमुकामका अस्पतालसम्म बिरामी लैजानसमेत नसक्ने अवस्था सिर्जना भएको जोरायल गाउँपालिका–५ का पूर्णबहादुर विष्टले बताए। जोरायल तथा बिपीनगरमा रहेको ठूलीगाडमा समेत पानीको सतह निकै बढेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए।

जिल्ला विपद् व्यवस्थापन समिति डोटीका अनुसार हालसम्म पहिराका कारण जिल्लामा एक जनाको ज्यान गइसकेको छ भने दुई बालिका घाइते भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .