ad ad

समाज


महिलाहरुको प्रश्नः कोरोना खोपभन्दा कैयौँ गुणा जोखिमपूर्ण गर्भनिरोधकको विकल्प खोइ?

महिलाहरुको प्रश्नः कोरोना खोपभन्दा कैयौँ गुणा जोखिमपूर्ण गर्भनिरोधकको विकल्प खोइ?

द न्युयोर्क टाइम्स
जेठ १८, २०७८ मंगलबार ११:२४,

गत महिना अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीएले) जोनसन एन्ड जोनसनले बनाएको कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम केही समय रोक्यो। ५० वर्षभन्दा कम उमेरका महिलामा ब्लड क्लट्स (रगतको थेग्ला जम्ने समस्या) को जोखिम देखिएको भन्दै त्यसको मूल्यांकन गर्न सो कदम चालिएको थियो। लगत्तै थुप्रै वैज्ञानिकहरुले खोपको तुलनामा गर्भनिरोधक चक्कीका कारण ब्लड क्लट्सको सम्भावना कयौँ गुणा बढी हुने बताउँदै खोप नरोक्न आग्रह गरे।

महिलाहरुलाई खोप सुरक्षित छ भनेर विश्वास दिलाउन वैज्ञानिकहरुले यो तुलना गरेका थिए। तर, यसले थुप्रै महिलाहरुलाई आक्रोशित तुल्यायो। ती महिला खोप रोकिएकोमा रिसाएका होइनन्। उनीहरुको प्रश्न छ– महिलाका लागि उपलब्ध गर्भनिरोधका उपायहरु खोपभन्दा सयौँ गुणा जोखिमपूर्ण छन्, तै पनि किन त्यसको सुरक्षित विकल्प खोजिँदैन?

खोपसँग सम्बन्धित रगत जम्ने समस्या दिमागमा देखिने हुनाले बढी खतरनाक मानिएको छ। जबकि गर्भनिरोधक चक्कीले गोडा वा फोक्सोमा यो समस्या देखिने सम्भावना ज्यादा हुन्छ। थुप्रै विज्ञले यो तथ्य उल्लेख गरे। तर, यो तर्क महिलाहरुलाई चित्त बुझाउन पर्याप्त थिएन।

‘अहिले रगत जम्ने समस्याबारे सबैजना चिन्तित देखिन्छन्। एउटी १४ वर्षकी केटीलाई यस्तो चक्की खान दिँदै गर्दा त्यो चिन्ता कहाँ थियो?’ एक महिलाले ट्विटरमा लेखेकी छन्।

‘यदि गर्भनिरोधक चक्की पुरुषका लागि बनेको हुन्थ्यो भने त्यो बंगुरको मासुजस्तो स्वादिलो र निशुल्क हुने थियो,’ अर्कीले लेखेकी छन्।

कतिपय महिलाले सामाजिक सञ्जाललगायतमा सुने– ‘जोखिम छ भन्ने जान्दाजान्दै तिमीहरुले गर्भनिरोधक चक्की खाएका हौ। गुनासो किन गर्छौ?’

‘यसले मेरो अडान थप बलियो बनायो। महिला स्वास्थ्यका मुद्दालाई यसैगरी बेवास्ता गरिन्छ। एउटा बहाना देखायो र खारेज गरिदियो,’ जाति र यौनिकतामा केन्द्रित कानुनी इतिहासकी विज्ञ मिया ब्रेट भन्छिन्।

महिला स्वास्थ्यसम्बन्धी विज्ञहरु औषधि उपचारमा महिलामाथि ठूलो विभेद रहेको बताउँछन्।

‘यो विषयमा महिलाहरुको रिस उचित छ। किनभने महिलाको स्वास्थ्यमा समान रुपमा ध्यान दिइँदैन,’ नर्थवेस्टर्न युनिभर्सिटीकी रिप्रोडक्टिभ एन्डोक्रिनोलोजिस्ट डा. इभ फाइनवर्ग भन्छिन्, ‘सबै औषधिमा विशाल लैंगिक विभेद छ।’

गर्भनिरोधकले महिलाहरुलाई आफ्नो प्रजननमाथि नियन्त्रण गर्न सघाएको र त्यसको हानिको तुलनामा फाइदा धेरै भएको तथ्य डा. फाइनवर्ग र अरु महिलाहरु स्वीकार्छन्।

गर्भनिरोधकहरुमा पनि सुधार हुँदै गएको छ। एस्ट्रोजेन हर्मोनको मात्रा अत्यन्त कम हुने विकल्पहरु पनि छन्।

‘समग्रमा यी सुरक्षित छन्,’ डा फाइनवर्ग भन्छिन्, ‘हामीले गर्ने हरेक काममा जोखिम हुन्छ नै। तर, स्वास्थ्य सेवा प्रदायकले बिरामीलाई जोखिम र लक्षणबारे स्पष्ट रुपमा बताउनुपर्छ।

तर, थुप्रै महिलाहरु यस्तो जोखिमबारे आफूसँग कुनै छलफल नगरिएको बताउँछन्।

विस्कन्सिन राज्यकी केली टाइरेलले ३७ वर्षको उमेरमा आफ्नो फोक्सोमा ज्यानै लिनसक्ने रगतको थेग्ला जमेको थाहा पाइन्। अल्ट्राम्याराथन धाविका समेत रहेकी उनी सबल थिइन्। २०१९ को सुरुमा बिहानबिहान देब्रे पिँडुलामा उनलाई पीडा हुन थाल्यो। परीक्षण गराउँदा उनको रगतमा ‘डी डाइमर’ तत्व देखियो, जुन ब्लड क्लट्सको संकेत मानिन्छ।

२५ वर्षदेखि उनी गर्भनिरोधक चक्की लिइरहेकी थिइन्। तर, कुनै पनि डाक्टरले उनलाई यसको खतराबारे बताएका थिएनन्। तर, लक्षण र संकेत देखिँदा पनि उनको उमेर, तन्दुरुस्ती र जोखिमविहीनतालाई हेर्दा ती लक्षण ब्लड क्लट्सका कारण नभएको डाक्टरहरुले बताए। खुट्टाको मांसपेशी तन्काउने कसरत गर्न भन्दै उनलाई घर पठाइयो।

हवाईमा आफ्नी हजुरआमाको अन्तिम संस्कारलगत्तै छातीमा अप्ठेरो भएपछि उनी पुनः जचाउँन गइन्। डाक्टरहरुले सम्भवतः तनाव र एन्जाइटीका कारण त्यस्तो भएको हुनसक्ने बताए। जुलाई २०१९ मा उनले कोलोराडोमा एक सय किलोमिटरको दौड सम्पन्न गरिन्। त्यसबेला पनि १९ घण्टाको दौडका कारण छाती दुखेको र ओठ कलेजी भएको ठानिन्।

तर, २४ अक्टोबर २०१९ को बिहान भर्‍याङ उक्लिँदै गर्दा उनको सास छोटोछोटो भयो। त्यसबेला उनले थाहा पाइन्– केही न केही गम्भीर खराबी छ।

यसपटक मुटुमा समस्या नदेखिएपछि डाक्टरहरुले उनको फोक्सो स्क्यान गरे, जहाँ कयौँ रगतको थेग्ला जमेको पाइयो। एउटा थेग्लाले दायाँ फोक्सोमा रक्तप्रवाह नै रोकिदिएको थियो।

‘मलाई तुरुन्तै आँसु आयो,’ टाइरेलले सम्झिइन्।

डाक्टरले उनलाई रगत पातलो बनाउने औषधि दिए र आइन्दा एस्ट्रोजेन छुँदै नछुन भने। त्यसपछि गर्भनिरोधकको रुपमा उनले कपर आईयूडी प्रयोग गर्न थालिन्। जोनसन एन्ड जोनसनको खोपबारे समाचार आएपछि आफू पुनः आक्रोशित भएको उनले बताइन्।

‘प्रजनन् नियन्त्रणका लागि लिएको औषधिले मलाई झण्डै मृत्युको मुखमा पुर्‍यायो,’ उनले भनिन्, ‘त्यो जोखिमबारे मलाई उचित सल्लाह दिइएन। त्यसैले म रिसाएकी हुँ।’

माइग्रेनको समस्यासँग जुधिरहँदा एमिली फारिसलाई १८ वर्षको उमेरमा डाक्टरहरुले गर्भनिरोधक चक्की खान सुझाए। उनी अहिले ३६ वर्ष पुगिन्। तर, अहिलेसम्म अनेकौँ डाक्टरहरुसँग परामर्श लिँदा कसैले एक पटक पनि ब्लड क्लट्सको जोखिमबारे नबताएको उनको भनाइ छ।

ट्विटरमा केहीले गर्भनिरोधक औषधिसँगै जोखिमबारे लेखिएका पर्ची पनि हुने बताए। तर, आम मानिसका लागि त्यो पढेर जोखिमको स्तर खुट्याउनु कठिन हुने राजनीतिशास्त्री फारिस बताउँछिन्।

‘पीएचडी तहको शिक्षा प्राप्त गरेकी मैले समेत ती जोखिमको सही मूल्यांकन गर्न सक्दिनँ,’ उनले थपिन्, ‘मलाई लाग्छ, धेरैजसोका लागि सहज शब्दमा त्यसको उल्था गरिदिने मानिस आवश्यक पर्छ।

टाइरेलले पनि निकै ढिला यो थाहा पाइन्। ब्लड क्लट्स पत्ता लागेयता उनको फोक्सो फेरि पहिलेको जस्तै हुनसकेको छैन।

‘रोगले गरेको क्षतिले हो वा उमेरका कारणले हो, थाहा छैन,’ उनले भनिन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .