समाज


जो पटक-पटक घाट पुग्छन् र मृत्युलाई नियाल्छन्!

जो पटक-पटक घाट पुग्छन् र मृत्युलाई नियाल्छन्!

वाशुदेव मिश्र
जेठ ९, २०७८ आइतबार १२:४३,

कोभिडले गतवर्ष जेठ २६ गते स्याङ्जा वालिङका ६० वर्षीय पुरुषको ज्यान गयो। पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हल्लीखल्ली मच्चियो। उनको शव व्यवस्थापन कसरी र कहाँ गर्ने भन्ने निक्र्यौल हुन समय लाग्यो। अन्तत: नेपाली सेना अगाडि सर्‍यो। स्थानीयको विरोधकै बीच पोखराकै मणिपाल तल उनको शरीर माटोमा मिसाइयो।

‘त्यो बेला हामीलाई पनि डर नै थियो, हामी शव लिन जाँदा सबै डराइरहेका थिए’, पहिलो शव व्यवस्थापनमा खटिएका भगवती दल गणका अधिकृतले एक कार्यक्रममा भनेका थिए, ‘सेनामा ड्युटी पहिलो प्राथमिकता हो तर मनभित्र आफूलाई पनि संक्रमण हुन्छ कि भन्ने चाहिँ थियो नै।’

उनका अनुसार पीपीईले गुम्सिएको बेला पनि मनमा मृतकमा आफन्तले आफ्नो रितिरिवाज अनुसार अन्तिम कर्म गरुन् भन्ने नै हुन्छ रे।

‘हामी मृतकका आफन्तले आफ्नो संस्कार अनुसार अन्तिम बिदाई गरुन् भन्ने हुन्छ’, उनले भने, ‘हामीलाई निर्देशन पनि छ, हामी आफन्तलाई सुरक्षित भएर अन्तिम बिदाइको अवसर दिन्छौँ, हामीले पनि सलामी नै दिएर आत्माको चीरशान्तिको कामना गर्छौँ।’

कोभिडका कारण ज्यान गुमाएकाहरुको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि (दोस्रो संशोधन), २०७७ ले कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापन गर्ने जिम्मा नेपाली सेनालाई दियो। त्यसयता नेपाली सेनाले मृतकको शव उच्च सम्मानका साथ व्यवस्थापन गर्दै आएको छ।

‘हामीले आइतबारसम्म ३६७ जनाको शव व्यवस्थापन गरिसकेका छौँ’, पश्चिम पृतनाका सेनानी प्रेमप्रसाद पौडेलले भने, ‘तीमध्ये अधिकांश पोखरामै हो। तीमध्ये २४३ पुरुष र १२४ जना महिला रहेका छन्। त्यसो त, त्यसयता पनि गण्डकीमा धेरैको निधन भइसकेको छ।’

केही शवहरु आफन्तको आग्रहमा जिल्लातिर पनि लगिने गरेको उनले सुनाए। उनका अनुसार पोखरामा भगवती दल गण र रेञ्जर बटालियनको युनिट तथा अन्य जिल्लामा त्यहाँ रहेका गणमै रहेको विशेष दस्ताले शव व्यवस्थापन गर्छ। शव व्यवस्थापन गर्ने दस्तालाई सेनाले तालिम दिएको छ।

पोखरामा रहेको नेपाली सेनाको भगवती दल गण र रेञ्जर बटालियन गणमा कार्यरत उनी बिहानै तयार हुन्छन्। कार्यविधिअनुसार अन्त्येष्टिमा सहभागीहरुले पञ्जा, चस्मा, टोपी, मास्कसहित पीपीई लगाउँछन्। गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले कहाँ कतिजना संक्रमितको मृत्यु भयो भन्ने जानकारी दिन्छ। शवबाहनको व्यवस्था पोखरा महानगरले मिलाउँछ। त्यसपछि सेनाको टोली अस्पतालमा पुग्छ। कागजपत्र हेर्छ र लास उठाउँछ। पछिल्लो समय एउटै गाडीमा ७/८ वटासम्म लास राख्नुपर्ने बाध्यता सेनासँग छ।

कतिपय अवस्थामा भने कागजपत्र नमिल्दा लाश उठाउन मिल्दैन। कसैको परिवारमा मान्छेले मृत्युपत्रमा हस्ताक्षर गरेका हुँदैनन् भने कतिपय अवस्थामा अस्पताललले नै मृत्यु प्रमाणपत्र तयार गरेको हुँदैन।

‘छोरोले मुख हेर्छु भन्ला, ३ वटै शव अस्पतालको बाहिर निकालेको छ तर एउटाको कारण रोकिन्छ’,सेनानी पौडेलले भने, ‘हिजोअस्ति २ पटक शव लैजानुप¥यो। बिहान ९ बजे पीपीई लगाएर गएको टोलीले मझुवामा लास पु¥याउँदा साँझको ५ बजेको थियो। जलाएर फर्कँदा कति बज्यो? आफैँ हिसाब गर्न सकिन्छ।’

अहिले पोखरा ३२ मजुवामा शव व्यवस्थापन गर्ने गरिएको छ। सेनाले परिवारको सहमतिमा गाड्नेहरुलाई माटोमा सेलाउँछ भने जलाउन चाहनेहरुले आफै चिता तयार पारेका हुन्छन् र त्यही चितामा लगेर सेनाले अन्तिम संस्कार गरिदिन्छ। अहिले ३–३ जनाको दस्ताले काम गरिरहेको छ। शव व्यवस्थापनमा खटिने टोली फर्केपछि १५ दिन क्वारेण्टिनमा बस्छ। मृत्युदर बढ्दै गएपछि एउटै टोलीले १५ पटकसम्म अन्त्येष्टि गरेको रेकर्ड रहेको छ। अत्येष्टि कर्ममा खटिएकाहरुका अनुसार पहिलो लासको व्यवस्थापनमा मन थकथक लागेपनि अहिले भने जिम्मेवारी मात्रै वोध हुन्छ रे!

‘लास भनेपछि मन यसै भक्कानिनु अस्वभाविक हैन, सेना पनि मान्छे नै हो। मर्ने व्यक्ति कसैको बाबु, भाइ–छोरा होला, परिवारको हालत के होला भन्ने तर्कना आउनु अन्यथा हैन’,सेनानी पौडेलले भने, ‘तर, सेनाको हकमा राष्ट्रको सेवा गर्दैछु भन्दा गर्व लाग्ने कुरा महत्वपूर्ण हुन्छ।’

सेनालाई सकेसम्म छिटो शवको व्यवस्थापन गरी आफन्तलाई घर पठाउने मात्रै हतारो हुन्छ रे! यद्यपि, शव व्यवस्थापनमा खटिनेहरुमा मनोवैज्ञानिक असर भने परेकै हुन्छ। शव व्यवस्थापनमा खटिनेहरुको पनि घर परिवार हुन्छ।

‘पटक–पटक शव व्यवस्थापनमा खटिँदा परिवारले पनि भन्दा हुन्, कति तँ मात्रै छस् र, लास जलाउने भनेर उसका परिवारले दवाव पनि दिन्छन् नै’,सेनानी पौडेलले भने, ‘तर, हामी हाम्रो कर्तव्यप्रति प्रतिवद्ध छौं।’

सेनाले १५ दिनको क्वारेन्टिनपछि एक महिना बिदा दिएर शव व्यवस्थापनमा खटिनेहरुको मनोवल उकासिरहेको छ।

समस्या पनि
अहिले सेनालाई पीपीई कम हुने त हैन भन्ने चिन्ताले सताएको छ। मृत्युदर बढ्दा पीपीई बिनानै जानुपर्ने अवस्था नआओस् भनेर ३÷३ जनाको टोली बनाइएको उसको भनाइ छ।

हरेक दिन ६ जना क्वारेन्टिनमा पठाउँदा सेनालाई जनशक्ति व्यवस्थापनमै चुनौति खडा भएको पनि छ।

‘शव व्यवस्थानमा खटिनेहरुलाई तालिम दिनुपर्छ, उनीहरु आफैँ सुरक्षित भएनन् भने समस्या हुन्छ, डमी बनाएर शवलाई कसरी ह्याण्डल गर्ने भन्ने तालिम दिइन्छ’,उनले भने, ‘व्यक्तिले आफ्नो सुरक्षा गर्न सक्ने भएपछि मात्रै उसलाई यो काममा खटाउने हो।’

शव बोक्ने गाडीको व्यवस्थापन महानगरले र पीपीईसहितका सुरक्षा सामग्रीको जोहो गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्ने सहमति भएको छ। तर, कहिलेकाहिँ भनेको बेलामा गाडी नआउने, लास बोकेर लगेको गाडी बाटैमा बिग्रेको अनुभव पनि सेनासँग रहेको छ।

‘आफन्तहरु घाटमा अन्त्येष्टिका लागि कुरिरहेका हुन्छन्, हामी आफैँ पीपीई लगाएर गुम्सिएर बसेका हुन्छौँ’, सेनानी पौडेलले भने, ‘यस्तो अवस्थामा सानो कुराले ढिला हुनु समन्वयकै कमजोरी भन्दापनि हुन्छ।’

मृत्यु दर बढिरहँदा सेना झन् बढी संवेदनशील भएको उनले जिकिर गरे। सुरुको अवस्थामा शव व्यवस्थापनमा खटिएकामध्ये २ जनामा संक्रमण देखिए पनि अहिले सेनाको जनशक्ति दक्ष भइसकेकाले समस्या नभएको उनको भनाइ थियो।

महानगरका स्वास्थ्य महाशाखाका सिनियर अहेव अधिकृत अर्जुनबहादुर क्षेत्रीका अनुसार शव व्यवस्थापनको हकमा महानगरले कुनै कञ्जुस्याइँ नगरको जिकिर गरे। उनका अनुसार शव व्यवस्थापनको लागि आवश्यक पर्ने पीपीई, डोरी, शव राख्न प्रयोग हुने प्लाष्टिक, ड्राइभर, गाडी भाडालगायतका खर्चहरुको दायित्व महानगरले नै वहन गरेको छ।

‘शव व्यवस्थापनपछि त्यहाँ खटिने जनशक्तिलाई महानगरले नै क्वारेन्टिनमा राख्दै आएको छ’,उनले भने, ‘अहिले उहाँहरु कृषि तालिम केन्द्रमा बस्ने गर्नुभएको छ। गाडीको मर्मत पनि भइसकेको छ। अर्को गाडी आएपछि मर्मतमै जान्छ। अर्को गाडी पनि थपिएको छ।’

उनले शव व्यवस्थापन महानगरकै कर्तव्य भएकाले खर्चको हिसाब नगरिएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .