समाज


अस्पताल र स्थानीय प्रशासनबीच समन्वय नहुँदा कोरोना संक्रमितको ज्यान जोखिममा

अस्पताल र स्थानीय प्रशासनबीच समन्वय नहुँदा कोरोना संक्रमितको ज्यान जोखिममा

नेपालखबर
जेठ २, २०७८ आइतबार ५:५७,

मकवानपुरको हेटौंडास्थित चुरे हिल अस्पताल र स्थानीय प्रशासनबीच समन्वय नहुँदा कोरोना संक्रमितको उपचारमा समस्या देखिएको छ।

निजी क्षेत्रबाट सञ्चालित त्यस अस्पतालको प्रशासनले जिल्ला प्रशासन कार्यालयले अक्सिजन उपलब्ध नगराएको आरोप लगाएको छ। जिल्ला प्रशासनले भने अस्पतालले अक्सिजनको मागै नगरेको दाबी गरेको छ।

अस्पतालका अध्यक्ष गोकर्ण पराजुलीले जिल्ला प्रशासनले आवश्यक मात्रामा अक्सिजन उपलब्ध गराउन नसक्दा उपचारमा समस्या भएको बताए।

‘अब दुई घण्टालाई (साढे ११ बजेसम्म) मात्रै पुग्ने अक्सिजन छ। प्रशासनलाई उपलब्ध गराइदिन हुन अनुरोध गरिएको हो। अक्सिजनको प्रशासनले उपलब्ध गराइदिने हो। बाहिर किन्न पाइँदैन,’ पराजुलीले नेपालखबरसँग भने, ‘शनिबार भनेर हिजो प्रशासन नै बन्द भयो। उपचारको विषय यसरी हुँदैन। महामारीमा व्यवस्थापन यस्तै हुन्छ?’

कोरोना संक्रमितको उपचारका लागि १० बेड भए पनि अस्पतालमा ४ जना मात्रै बिरामी छन्। मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले नेपालखबरसँग कुरा गर्दै अस्पताल प्रशासनले अक्सिजन माग्न नआएको दाबी गरे।

‘बिरामीहरूले अक्सिजन सकिन लाग्यो भनेर भन्नुभएको छ। अस्पताल प्रशासनले यति आवश्यक छ भनेर भन्नुपर्‍यो। तर यो अस्पतालमा आवश्यक पर्ने अक्सिजन पठाएका छौं,’ पाण्डेले भने, ‘हामी चिकित्सकहरूसँग पनि सम्पर्कमै छौं। बिरामीका आफन्तले आत्तिनुपर्ने अवस्था छैन। जिल्लामा सबै अस्पतालमा आपूर्ति हेर्नुपर्ने हुन्छ।’

पाण्डेले जिल्लाका विभिन्न अस्पतालमा गरी सय जनाको हाराहारीमा कोरोनाका बिरामी उपचाररत रहेको जानकारी दिए।

रौतहटबाट उपचारका लागि आएका बिरामीका कुरुवा जीवन श्रेष्ठले अस्पताल प्रशासनले अक्सिजन सकिन लाग्यो भन्ने र सीडीओ कार्यालयले अस्पतालले अक्सिजन माग्न आएकै छैन भन्ने कुराले चिन्ता बढेको बताए।

‘अस्पतालले केही समयका लागि मात्रै अक्सिजन छ भनेर भन्ने, सीडीओ कार्यालयमा सम्पर्क गर्दा अक्सिजन माग्न आएन भनेर भन्नुहुन्छ,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘यस्तो तरिकाले बिरामीको ज्यान तलमाथि हुन्छ नि !’

श्रेष्ठले अस्पताल प्रशासनले कोरोना संक्रमणको उपचारमा चासो नदिएको गुनसाो गरे।

‘तीन दिनअघि नै अर्को अस्पलात लैजानुपर्ने हुनसक्छ भनेर भनिएको थियो। प्रशासनको बाध्यताले मात्रै कोभिड १९ को उपचार गराएको देखिन्छ,’ श्रेष्ठले भने।

अस्पतालका अध्यक्ष पराजुलीले भने १० जनासम्मको उपचार गराउने बेड भए पनि अक्सिजनसहितको अन्य आपूर्ति नहुँदा चार जना मात्रै उपचारमा राखिएको दाबी गरे।

‘हामीलाई अक्सिजन सिलिन्डरमा उपलब्ध गराउने हो भने १० जनाभन्दा बढी कोभिडका बिरामी लिन सकिन्छ,’ पराजुलीले भने, ‘तर यसमा प्रशासनले सहयोग भने गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad