समाज


हावाबाट पनि कोरोना फैलिने कुरा डब्ल्यूएचओले स्वीकार्‍यो, बच्नेबारे नयाँ ‘गाइडलाइन’ आउने सम्भावना

हावाबाट पनि कोरोना फैलिने कुरा डब्ल्यूएचओले स्वीकार्‍यो, बच्नेबारे नयाँ ‘गाइडलाइन’ आउने सम्भावना

नेपालखबर
बैशाख २६, २०७८ आइतबार ८:३५,

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओले) अन्ततः कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने कुरा स्वीकार गरेको छ। यसअघि अन्य स्वतन्त्र वैज्ञानिकले हावाबाट पनि कोरोना फैलिन सक्ने दाबी गर्दा डब्ल्यूएचओले यसको पर्याप्त प्रमाण नभएको दाबी गरेको थियो।

तर कोरोना महामारी फैलिएको झन्डै एक वर्षपछि डब्ल्यूएचओले हावाबाट पनि कोरोना फैलिन सक्ने तथ्य स्वीकार गरेको हो।

‘भाइरस, भेन्टिलेसन नभएको वा भीडभाडयुक्त बन्द स्थानमा पनि फैलन सक्छ, जहाँ मानिस लामो समयसम्म बस्छन्। किनभने एयरोसोल हावामा एक मिटरभन्दा पनि परसम्म पुग्न सक्छ,’ डब्ल्यूएओले भनेको छ।

डब्ल्यूएचओले कोरोनासँग सम्बन्धित तथ्य अपडेट गर्दै कोरोना एक व्यक्तिबाट अर्काेमा कसरी सर्छ भन्ने विषयमा नयाँ जानकारी दिएको छ।

योसँगै कोरोनाबाट बच्ने विषयमा नयाँ गाइडलाइन (दिशानिर्देश) आउन सक्ने अनुमान गरिएको छ।

ड्रपलेट र एयरोसोलबीच के फरक छ? 
हाच्छिउँ गर्दा, खोक्दा, गीत गाउँदा वा बोल्दा नाक वा मुखबाट भिन्न आकारका थोपा वा छिट्टा निस्कने गर्छन्। जसमा ड्रपलेटको साइज ५ माइक्रोमिटरभन्दा ठूलो हुन्छ भने एयरोसोलको साइज ६ माइक्रोमिटरभन्दा पनि बढी हुन्छ।

ड्रपलेट २ मिटर अर्थात् ६ फिटभन्दा परसम्म जान सक्छन् भने एयरोसोल हावासँगै निकै टाढासम्म जान सक्छन्।

हालसम्म धेरैजसो वैज्ञानिक मान्यता थियाे– खोक्दा, हाच्छिउँ गर्दा, गाउँदा, बोल्दा वा नाक वा मुखबाट निस्किने छिट्टा वा थोपा नै ड्रपलेट हो। जुन ५ माइक्रोमिटरभन्दा ठूलो हुन्छ र त्यसमा कोरोना भए पनि आफ्नो वजनका कारण २ मिटरभन्दा पर पुग्न सक्दैन र पृथ्वीको गुरुत्वाकर्षणका कारण भुइँमा खस्छ। यसको अर्थ हावाबाट कोरोना सर्न सक्दैन।

तर अर्काथरी विशेषज्ञका अनुसार मुख र नाकबाट निस्कने छिट्टाको आकार ५ माइक्रोमिटरभन्दा कम पनि हुन सक्छ र हावामा उडेर टाढासम्म पुग्न सक्छ। अर्थात् कोरोना, हावाबाट पनि फैलिन सक्छ।

डब्ल्यूएचओले सन् २०२० जुलाईमा कोरोना हावाबाट सर्ने ठोस प्रमाण नपाइएको दाबी गरेको थियो। कोरोना महामारीको सुरुवातमा त उसले मास्क लगाउनैपर्छ भन्ने कुरामा समेत खासै जोड दिएको थिएन। संक्रमित व्यक्तिले मात्रै मास्क लगाए पुग्छ भनेको थियो।

तर २०२० जुलाईमा स्वतन्त्र स्वास्थ्य-विज्ञले कोरोना हावाबाट पनि फैलिन्छ भन्ने दाबी पेस गरे। त्यसपछि भने डब्ल्यूएचओले याे सम्भावनालाई अस्वीकार गर्न नसकिने तर यसबारे ठोस प्रमाण नभएकाले विस्तृत अध्ययन आवश्यक रहेकाे बताएको थियो।

यसर्थ उसले कोरोना संक्रमितको सम्पर्कमा आएपछि, उसका नाक वा मुखबाट निस्कने छिट्टा वा भाइरसयुक्त थोपा तथा कपडा, भाँडाकुँडा, फर्निचर आदि सतहबाट अर्का स्वस्थ व्यक्तिमा भाइरस सर्न सक्ने भनेर आफ्नो पुरानै गाइडलाइन कायम राख्यो।

तर गत अप्रिलमा वैज्ञानिकको एक समूहले द ल्यासेन्ट पत्रिकामा हावाबाट पनि कोरोना फैलिने १० प्रमाण प्रस्तुत गरेकाे हाे। 

यस्तै अमेरिकामा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले पनि ६ फिट भौतिक दूरी राखेर मात्र कोरोनाबाट बच्न नसकिने दाबी गरेकाे छ। उसका अनुसार खोक्दा वा हाच्छिउँ गर्दा मुख वा नाकबाट निस्कने छिट्टा यति साना हुन्छन् कि ती हावामा टाढासम्म पुग्न सक्छन्। विशेषगरी हावा ओहोरदोहोर नहुने बन्द स्थानमा यस किसिमले भाइरस बढी सर्ने अनुसन्धानबाट देखिएको उसले जनाएको छ।

यी हुन् हावाबाट कोरोना सर्छ भन्ने १० प्रमाण
१. संक्रमितका नाकमुखबाट निस्किने छिट्टा तथा कपडा, भाँडाकुँडा, फर्निचर आदिमा भएका भाइरसले मात्रै कोरोना यति तीव्र रूपमा फैलन सक्दैन।

२. क्वारेन्टिन होटलमा अनुसन्धान गर्दा एकअर्कालाई नभेटी वा सम्पर्कमा नआउँदा पनि वरिपरिका कोठामा बसेका मानिसमा समेत भाइरस सरेको पाइयो।

३. कोरोना ३३ प्रतिशतदेखि ५९ प्रतिशतसम्म लक्षण नभएका संक्रमितबाट सरेको पाइयो। यसबाट कोरोना हावाबाट पनि फैलिने तथ्य पुष्टि हुन्छ।

४. खुला ठाउँमा भन्दा बन्द कोठामा कोरोना तीव्र गतिमा सर्छ। झ्याल, ढोका खुला राखिएका तथा भेन्टिलेसन भएका कोठामा भाइर एकबाट अर्काेमा सर्ने सम्भावना कम हुन्छ।

५. अस्पतालमा पीपीई लगाएका स्वास्थ्यकर्मीमा पनि कोरोना सरेको पाइयो। यसको अर्थ पीपीई ड्रपलेटबाट बच्ने हिसाबले मात्र बनाइएको हुन्छ। यसैले उनीहरूमा एयरोसोल अर्थात् हावाबाट कोरोना सर्नु हो।

६. प्रयोगशालामा हावामा कोरोना ३ घण्टासम्म घुमिरहेको पाइएको अनुसन्धानकर्ताले बताएका छन्।

७. अस्पताल र घरमा राखिएका एयर फिल्टर र डक्टमा पनि कोरोना भेटिएको छ, यस्तो स्थानमा एयरोसोलबाट भाइरस पुगेको वैज्ञानिकको ठहर छ।

८. पिँजडामा बन्द जनावरलाई समेत संक्रमण हुनुले पुष्टि गर्छ– कोरोना हावाबाट पनि फैलिरहेको छ।

९. हालसम्म कोरोना हावाबाट फैलिँदैन भनेर कसैले प्रमाण दिन सकेका छैनन्।

१०. नाक/मुखबाट निस्कने छिट्टा तथा कपडा, भाँडाकुँडा, फर्निचरजस्ता सतहबाट कोरोना सर्ने प्रमाण सीमित छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .