समाज


कोरोना विरूद्ध खोपको ‘पेटेन्ट राइट्स’ अवरोध हटाउन बाइडेनले पनि जनाए सहमती

कोरोना विरूद्ध खोपको ‘पेटेन्ट राइट्स’ अवरोध हटाउन बाइडेनले पनि जनाए सहमती

नेपालखबर
बैशाख २४, २०७८ शुक्रबार ०:४५,

अमेरिकाले कोरोना भाइरसविरुद्धको खोपको बौद्धिक सम्पती (पेटेन्ट राइट्स)सम्बन्धी अवरोधलाई हटाई महामारी नियन्त्रणका लागि खोपको अत्यधिक उत्पादन गर्नुपर्ने भनी अन्य राष्ट्रले उठाएको आवाज सकारात्मक रहेको जनाएको छ।

कोभिड–१९ को महामारीलाई नियन्त्रणमा ल्याउनका लागि पेटेन्ट राइट्स सुरक्षालाई छुट दिनुपर्ने पक्षमा आफू रहेको अमेरिकाले जनाएको छ।

विश्व व्यापार सङ्गठन (डब्लुटीओ)ले खोपको उत्पादन बढाउन र महामारी नियन्त्रणका लागि बौद्धिक सम्पतीसम्बन्धी सुरक्षात्मक प्रावधानमा छुट दिनुपर्ने अभियान चलाएको हो । त्यसमा आफ्नो समर्थन रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्।।

भारत र दक्षिण अफ्रिकाको प्रस्तावमा यो अभियान थालिएको हो। खास गरी यूरोपेली सङ्घ अन्तर्गतका मुलुकमध्ये औपचारिकरूपमा समर्थन गर्नेमा फ्रान्स पहिलो बनेको छ।

यसले विश्वभर खोपको उत्पादन बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ। करिब एक महिना पहिले विश्व व्यापार सङ्गठनको बैठकमा पनि यो विषय उठाइएको थियो। तर त्यतिबेला यसलाई धनी राष्ट्रले कम महत्व दिएका थिए।

बैठकमा स्वीट्जरल्याण्ड, नर्वेलगायतका नेताले अनौपचारिकरूपमा चलाएका छलफलमा खोपको व्यापक उत्पादन कोभिड–१९ नियन्त्रणको व्यवहारिक उपाय हुने र यसका लागि खोप उत्पादनलाई सहजिकरणमा बल गर्नुपर्ने बताएका थिए । औषधि उत्पादकले भने यसबाट सोचिए जस्तो प्रभाव पर्नेमा शङ्का रहेको बताएका छन्।

अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाइले ‘असाधारण समयमा असाधारण उपायको’ माग हुने बताएकी छन् । तर खोपलाई लिएर सर्वमान्य निर्णयमा पुग्न विश्व व्यापार सङ्गठन सदस्यलाई समय लाग्नसक्ने उनको भनाई छ।

भारत र दक्षिण अफ्रिकाले गएको छ महिनादेखि खोप उत्पादनको अधिकार ‘पेटेन्ट राइट’लाई सहज पार्दै सबैलाई उत्पादन अधिकार दिनु पर्ने माग गरिरहेका छन् । उनीहरूले विश्व व्यापार सङ्गठनभित्र झण्डै ६० देशको नेतृत्व गरिरहेका छन् । डोनाल्ड ट्रम्पको शासन कालमा अमेरिकाले त्यसको विरोध गरेको थियो । बेलायत र युरोपेली सङ्घ पनि विरोधमा थिए।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्पको भन्दा फरक नीति लिएका हुन्। चुनावी अभियानकै क्रममा कोरोना भाइरसविरुद्धको खोपको पेटेन्ट राइटमा छुट दिनुपर्ने डिमोक्र्याटिक नेता बर्नी स्यान्डर्स र उदारवादी अमेरिकी नेताको आवाजलाई बाइडेनले समर्थन गरेका थिए भने बुधबार त्यसलाई पुनःदोहो¥याएका हुन्।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का प्रमुखले यसलाई कोरोना भाइरसविरुद्धको युद्धमा स्मरणीय क्षण भनेका छन् । खोपको पेटेन्ट अधिकारमा छुट दिँदा त्यसको उत्पादन विश्वका विभिन्न देशमा गर्न सकिने र यसले गरिब देशमा खोप सस्तोमा उपलब्ध गराउन सकिने छ।

पेटेन्ट राइट सुरक्षित रहँदा खोपको ‘कम्पोजिसन’ विकास गर्ने संस्था वा देशलाई मात्रै थाहा हुन्छ । यस्तोमा खोपको उत्पादन सीमित कम्पनी वा देशले मात्रै गर्न पाउँछन्।

पेटेन्ट राइटमा छुट दिएर खोपको कम्पोजिशन अरुलाई पनि उपलब्ध गराउँदा आवश्यकताअनुसार उत्पादन गर्न सकिने र महामारीलाई चाँडो नियन्त्रणमा लिन सकिनेमा धेरै विकसित देशहरुले जोड दिएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .