समाज


‘आज देशका सबैजसो नदीमा बाढी आउने सम्भावना छ, सतर्कता अपनाऊँ’

‘आज देशका सबैजसो नदीमा बाढी आउने सम्भावना छ, सतर्कता अपनाऊँ’

नेपालखबर
साउन ३२, २०७६ शनिबार ४:५७,

आज (शनिबार) देशका ठूला तथा साना सबैजसो नदीमा बाढी आउने अनुमान गर्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

उसका अनुसार आज कन्काई, कोसी, वाग्मती, नारायणी, राप्ती, बबई र महाकालीलगायत देशका सबै प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्दो क्रममा रहने सम्भावना छ।

त्यसमा पनि तुलनात्मक रूपमा कन्काई, कोसी, कमला र महाकाली नदीमा बहाव अलि बढी हुने तथा केही सहायक नदीमा जल सतह सतर्कता तह आसपास पुग्ने अनुमान महाशाखाले गरेको छ।

बाढी महाशाखाले जारी गरेको सूचनामा भनिएको छ - ‘आगामी तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने र केहीमा सतर्कता तह पार गर्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन हुन अनुरोध छ।’

आज र भोलि कन्काई, कोसी, कमला, वाग्मती र महाकालीको नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यसैगरी आज झापा, मोरङ, इलाम, पाँचथर, धनुकुटा, भोजपुर, उदयपुर, संखुवासभा, सिन्धुली, काभ्रेपलान्चोक, बागलुङ, जाजरकोट, दैलेख, डोटी दार्चुला, अछाम, दाङ, कैलाली, कञ्चनपुरलगायत जिल्ला भई बहने नदी/खोलामा बहाव बढ्ने र केहीमा आकस्मिक बाढी आउने सम्भावना छ।

प्रदेश १, २, ५ र सुदूरपश्चिमका तराई तथा चुरेबाट बहने नदीनालाहरूमा पनि बाढी आउने सम्भावना रहेको महाशाखाले जनाएको छ।

बेलुकादेखि कैलाली र कञ्चनपुर भई बहने साना नदीमा बहाव उच्च हुने अनुमान रहेकाले त्यस क्षेत्रका नदी तटीय क्षेत्रमा उच्च सकर्कता अपनाउन महाशाखाले अनुराेध गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले पनि आज शनिबारदेखि वर्षाको मात्रा बढ्ने सम्भावना व्यक्त गरेका छन्।

मौसमविद् समीर श्रेष्ठले मनसुनको न्यून चापीय रेखा आफ्नो औसत स्थानबाट केही उत्तर नेपालतर्फ नजिकिने भएकाले आज बेलुकादेखि तीन दिनसम्म मौसमी गतिविधि तीव भई वर्षा हुने क्रम बढ्ने सम्भावना देखिएको जानकारी दिएका हुन्।

‘आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना छ, न्यून चापीय रेखा नेपाल नजिकै आइपुग्ने त होइन, यसरी आयो भने त अविरल र धेरै नै ठूलोे वर्षा हुन्छ,’ उनले भने, ‘यसकारण यो तीन दिन अविरल त होइन, भारी वर्षाचाहिँ हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .