समाज


भारतबाट आउनेलाई सीमामा नरोकिने, घरसम्म जाने गाडीको पनि व्यवस्था

भारतबाट आउनेलाई सीमामा नरोकिने, घरसम्म जाने गाडीको पनि व्यवस्था

उजिर कार्की
बैशाख १६, २०७८ बिहिबार १२:५६,

निषेधाज्ञाको समयमा पनि भारतबाट फर्किने नेपालीलाई सरकारले सीमामा नरोक्ने भएको छ। सरकारले यसअघि नै तोकेको २० वटा नाकामा हेल्थ डेस्क राखेर चेकजाँच गरिरहेको छ। केही नाकामा घरसम्म पुग्ने व्यवस्था गरेको हो।

निषेधाज्ञा नभएका र सार्वजनिक सवारीसाधन सञ्चालनमा रहेका नाकाबाट आफैँ जाने भएपनि निषेधाज्ञा भएका जिल्लाले विशेष व्यवस्था गरेका हुन्।

सरकारले मुख्य नाका छलेर आउनेलाई भने रोक्ने गरेको छ। तर सरकारले नै तोकेका २० वटा नाकाबाट आउन रोकतोक नहुने स्थानीय प्रशासनले जनाएका छन्।

सरकारले भारतबाट आउनेका लागि पशुपतिनगर, काकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, बेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका तोकेको छ।

यी नाकामा स्थानीय तह, स्वास्थ्य कार्यालय र सुरक्षा निकायले हेल्थ डेस्क सञ्चालन गरेका छन्। नाकामा रहेका हेल्थ डेस्कमा भारतबाट आउनेको स्वास्थ्य जाँच गरिने र त्यसपछि घर पठाउने गरिएको छ।

पर्साका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले वीरगन्ज नाकाबाट आउनेलाई नरोक्ने र घरसम्म पुग्ने व्यवस्था गरिएको बताए। उनका अनुसार स्थानीय यातायात व्यवसायीसँग समन्वय गरेर यसरी आउनेलाई घरसम्म पुग्ने गाडीको समेत व्यवस्था गरिएको छ।

‘नाकामा ज्वरो जाँच गरिन्छ, स्वास्थ्यको बारेमा सोधखोज गरिन्छ र शंकास्पदको एन्टिजेन परीक्षण गरेर रिपोर्ट नेगेटिभ आए गाडीमा पठाउँछौं र रिपोर्ट पोजिटिभ आए एम्बुलेन्समा घरतिरै पठाउने गरेका छौँ,’ एसपी पाण्डेले भने, ‘नेगेटिभ र पोजेटिभ रिपोर्ट आउनेलाई छुट्टाछुट्टै गाडीमा पठाउने गरिएको छ।’

कपिलवस्तुका नाकामा पनि स्थानीय प्रशासनले नै गाडीको व्यवस्था गरेको छ। भारतबाट फर्किनेको स्वास्थ्य जाँच गर्न नाकामा हेल्थ डेस्क सञ्चालन गरिएको छ। त्यहाँ स्वास्थ्य जाँचपछि उनीहरुलाई घरसम्म पुग्ने गाडीको व्यवस्था गरिएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बताए।

‘नाकामा एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो, उहाँहरु पनि निजी गाडीको व्यवस्था गरेर घर जानुभयो। घर जान नसक्नेलाई यहाँ पनि क्वारेन्टिनको व्यवस्था छ’, एसपी अधिकारीले भने।

बाँकेका नाकामा पनि स्थानीय प्रशासनले यस्तै व्यवस्था गरेको छ। होल्डिङ सेन्टरमा राखेर चेकजाँच गर्ने र रिपोर्ट नेगेटिभ आउनेलाई घर पठाउने व्यवस्था गरिएको नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापा मगरले बताइन्। रिपोर्ट पोजिटिभ आउनेहरुलाई स्थानीय तहले बनाएका आइसोलेसन सेन्टरमा राख्ने व्यवस्था गरिएको छ।

पछिल्ला केही दिनदेखि भने यो नाकामा भारतबाट आउनेको तथ्यांक समेत राख्ने गरिएको छ।

भारतबाट आउनेलाई नाका रहेकै जिल्लामा व्यवस्थापन गर्न नसकिने भएकाले घरतिरै पठाउने गरिएको स्थानीय प्रशासनले जनाएको छ। वीरगन्जमा गत वर्ष स्थिति भयावह भएको थियो। अस्पताल भरिभराउ थिए। सोही कारण यसपाली भने संक्रमण देखिएकालाई पनि छुट्टै गाडीको व्यवस्था गरेर आफ्नै ठाउँमा जाने व्यवस्था गर्ने निर्णय जिल्ला कोरोना संकट व्यवस्थापन समितिले गरेको हो।

झापाको काकडभिट्टा नाकामा नेपालीलाई आउन सहज भएपनि भारतीय नागरिकमाथि भने कडाइ गरिएको छ। झापाका प्रहरी प्रमुख एसपी सानुराम भट्टराईका अनुसार नेपाल आउने भारतीय नागरिकले पीसीआर गरेको हुनुपर्ने र १० दिन होटल समेत बुक गरेको हुनुपर्छ। यो नभएका भारतीय नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ।

तर नेपालीलाई भने ज्वरो नापेर र शंकास्पदको एन्टिजेन परीक्षण गरेर पठाउने गरिएको छ। उनीहरु आफैँ गाडीको व्यवस्था गरेर घरसम्म जान्छन्। अहिले देशभर एकसाथ निषेधाज्ञा नभएकाले पनि भारतबाट फर्किनेलाई घरसम्म जान सहज नै रहेको प्रशासनले जनाएको छ।

तर लुकिछिपी नेपाल प्रवेश गरेका भारतीय नागरिकलाई भने उतै पठाउने गरिएको एसपी भट्टराईले बताए।

गत वर्ष लकडाउन गर्दा सरकारले सीमानाका समेत बन्द गर्दा हजारौँ नेपाली सिमानामा अलपत्र परेका थिए। सिमानामा अव्यवस्थित बस्दा कोरोना समेत फैलिएको भन्दै सरकारको चर्को आलोचना भएको थियो।

लाखौँ नेपाली रोजगारीका लागि भारतमा छन्। तर त्यहाँ कोरोना संक्रमण भयावह बन्दै गएपछि आफ्नै देश फर्किन थालेका छन् । पछिल्लो समय भारतबाट फर्किनेको संख्या बढिरहेको स्थानीय प्रशासनले जनाएका छन्।

कोरोना संकट व्यवस्थापन समितिको तथ्यांकअनुसार विमानमार्फत ३५ हजार ८ सय ७१ जना नेपाल आएका छन्। यस्तै प्रदेश नं २ का नाकाबाट वैशाख १ देखि १४ गतेसम्म २० हजार १ सय ५० जना जना नेपाल प्रवेश गरेको प्रदेश नं. २ का प्रहरी प्रवक्ता कृष्ण प्रसाईंले बताए।

उनका अनुसार रोजगारीका लागि भारततर्फ जानेको संख्या भने ठप्प भएको छ। अन्य कामले जाने छिटफुट मात्रामा छन्। पहिलो चरणको कोरोना संक्रमण घटेसँगै भारत प्रवेश गर्नेको लर्को लागेको थियो। तर त्यहाँ स्थिति झन् भयावह भएपछि पुनः आफ्नै देश फर्किन थालेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .