ad ad

समाज


पत्रकार दाहालमाथि प्रहरी दुर्व्यवहारको विराेध

पत्रकार दाहालमाथि प्रहरी दुर्व्यवहारको विराेध

नेपालखबर
चैत ३१, २०७७ मंगलबार १२:४२,

भारतीय दूतावास परिसरमा समाचार संकलनको क्रममा नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार केदार दाहाललाई प्रहरीले दुर्व्यवहार गरेको छ।

मंगलबार लैनचौरस्थित भारतीय दूतावास अगाडि समाचार संकलनका क्रममा पुगेका दाहाललाई प्रहरीले दुर्व्यवहार गरेका हुन्।

भारतबाट साउदी अरबको उडान रोकिएपछि भारतीयहरू नेपालको बाटो भएर साउदी जान थालेका छन्। त्यसका लागि उनीहरुले दूतावासबाट नो अब्जेक्सन लेटर लिनुपर्छ। दूतावासबाट दैनिक ५० जनालाई मात्रै लेटर दिने भएपनि करिव एक हजारको लाइन लागेको र प्रहरीले भीड हटाउनु परेको थियो। सोही स्थानको फोटो र भिडियो खिचिरहेका दाहाललाई प्रहरीले किन भिडियो र फोटो खिचेको भन्दै लछारपछार गर्दै धकेलेको दाहालले बताए।

त्यतिबेला घटनास्थलमै रहेका दरबारमार्गका डीएसपी रामेश्वर पौडेलले दाहालले परिचय पत्र नदेखाउँदा नक्कली पत्रकार भएको आशंकामा सुरुमा त्यहाँबाट हटाए पनि पछि पत्रकार भएको थाहा पाएपछि छाडिएको बताए।

प्रेस युनियनद्ववारा घटनाको निन्दा
नेपाल प्रेस युनियनले पत्रकार दाहालमाथि भारतीय दूतावास अगाडि भएको दुर्व्यवहारप्रति निन्दा गरेको छ। नेपाल प्रेस युनियन काठमाडौं शाखाका सदस्यसमेत रहेका दाहालमाथिको दुर्व्यवहार एउटा पत्रकार माथिको आक्रमण मात्र नभएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको युनियनको ठहर छ।

युनियनका काठमाडौं शाखाका अध्यक्ष जगन्नाथ दुलालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै समाचार संकलनमा अवरोध गर्ने र पत्रकारमाथि दुर्व्यवहार गर्ने प्रहरीमाथि तत्काल छानबिन गरी कडा कारवाही गर्न माग गरेका छन्।

पत्रकारले सहज रुपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने अवस्था प्रत्याभूत गर्न पनि युनियन सरकारको ध्यानाकर्षण गराएको छ।

महासंघको ध्यानाकर्षण
यसैबिच नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले पनि उक्त घटनामाथि ध्यानाकर्षण भएको जनाएको छ।

प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष बालकृष्ण अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै समाचार संकलनका क्रममा पुगेका पत्रकारलाई प्रहरी अधिकारीहरुले लछारपछार गर्ने, मोवाइलबाट लिइएको फोटो मेटाउन लगाउने र नक्कली पत्रकार भन्दै गरिएको ज्यादतीलेसंविधानको प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार भएको जनाएका छन्।

संलग्न प्रहरीलाई कारबाही गर्न माग गर्दै आइन्दा यस्ता कार्य नदोर्‍याउन समेत प्रदेश समितिले सरकारको ध्यानाकर्षण गराएको छ।

कदार_दाहाल_1.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .