समाज


कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

नेपालखबर
चैत २९, २०७७ आइतबार १०:१८,

मास्क नलगाई हिँड्ने, एकापसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ।

सीमा नाकामा सर्वसाधारणको आवागमन गर्दा अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी सचेतना समेत नअनाउँदा कोरोना भाइरस संक्रमणको जोखिम बढेको हो। पछिल्ला दिनमा प्रदेशमा यो रोगको सङ्क्रमण दर बढ्दै गएको छ।

स्वास्थ्य निर्देशनालय दीपायलको तथ्यांकअनुसार पछिल्लो तीन हप्तामा १२७ जनामा संक्रमणको पुष्टि भएको छ। भारतमा यो रोगको संक्रमण र मृत्यु हुने दर बढेसँगै भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा पनि कोरोना भाइरसको जोखिम बढेको हो।

जिल्ला प्रशासन कार्यालयले मास्क अनिवार्य रुपमा लगाउन, भीडभाड नगर्न र मास्क लगाएर मात्र भौतिक दूरी कायम गर्दै बाहिर निस्कन आग्रह गरेको भएपनि मास्क लगाउने र भौतिक दूरी कायम राख्नमा अधिकांशबाट लापरवाही हुने गरेको छ। रोग फैलिन नदिन सरकारले २५ जना भन्दा बढी भेला नहुन आग्रह गरे पनि सभा, सम्मेलन, बैठकजस्ता गतिविधि रोकिएका छैनन्।

प्रदेशका सीमा नाका हुँदै भित्रिने नागरिकको नाकामै एन्टिजेन परीक्षणको काम भइरहेको छ। हालसम्म पाँच हजार ७१ जनाको एन्टिजेन परीक्षण गरिएकामा १४० जनाको नतिजा ‘पोजेटिभ’ आएको जनाइएको छ। शनिबार मात्रै प्रदेशको गड्डाचौकी, गौरीफन्टा, जुलाघाट र पुलघाट (दार्चुला) सीमा नाका हुँदै एक हजार ९९१ जना नेपाल भित्रिएकामध्ये शंकास्पद ६९९ को एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको छ।

कुनै पनि व्यक्तिमा कोरोना भाइरसको संक्रमण भए नभएको जानकारी एन्टिजेन परीक्षणबाट पत्ता लाग्ने गर्छ। एन्टिजेनविधि कोरोना परीक्षण गर्ने पीसीआर विधि जस्तै मानिन्छ। कुन भाइरस हो भन्ने पत्ता लगाउन भने एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आउने व्यक्तिको पुनः पीसीआर पद्दतिबाट परीक्षण गर्नुपर्ने स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थी बताउँछन्।

एन्टिजेन विधिबाट परीक्षण गर्दा स्वाब लिएको १० देखि २० मिनेटमा नै नतिजा आउने जनाइएको छ। प्रदेशका नेपाल—भारत सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमार्फत् शंकास्पद व्यक्तिको एन्टिजेन गरेर मात्र प्रवेश गर्न दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सीमा नाकाबाट भित्रिनेलाई दश दिन अनिवार्य रुपमा क्वारेन्टिनमा बस्न सल्लाह दिने गरिएको मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बताए।

यस प्रदेशमा गएको पुस महिनासम्म कोरोना भाइरस संक्रमणका कारण ५६ जनाको मृत्यु भएको तथ्यांक स्वास्थ्य निर्देशनालयसँग छ। पुस महिनायता मृत्यु दर शून्य रहेकामा केही दिनअघि मात्र कञ्चनपुरमा एक जना संक्रमितको मृत्यु भएको थियो। होम आइसोलेशन र प्रदेश बाहिरका जिल्लामा मृत्यु हुने कतिपयको तथ्यांक भने मन्त्रालयसँग छैन।

कोरोना भाइरसको संक्रमण फैलिएपछि हालसम्म प्रदेशमा पीसीआर पद्दतिबाट एक लाख ३८ हजार ३८० को स्वास्थ्य परीक्षण गरिएकामा यीमध्ये १४ हजार १८५ जनामा संक्रमण देखिएको थियो। संक्रमितमध्ये १४ हजार ५४ जना उपचार व्यवस्थापनपछि घर फर्किएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad