डब्लूएचओको विशेष टोली कोरोना पहिलोपटक फैलिएको भनिएको चीनका वुहान अनुसन्धानका लागि गएको थियो।
वैज्ञानिकले त्यहाँ गएर तयार गरेको रिपोर्टमा कोरोना महामारीको विषयमा केही महत्वपूर्ण विषय खुलाइएको छ।
डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडह्यानम गिब्रियसुसले रिपोर्टका बारेमा भनेका छन्,‘यो प्रतिवेदन ज्यादै राम्रो सुरुवात हो तर यो अन्तिम भने होइन। हामीलाई अहिल्यै भाइरसको स्रोतको बारेमा जानकारी प्राप्त भएको छैन।’
चीनका १७ विशेषज्ञ र १७ अन्तर्राष्ट्रिय विशेषज्ञ समूहको जाँचपछि डब्लूएचओको यो अनुसन्धान प्रतिवेदन तयार भएको हो।
डब्लूएचओको अनुसन्धान टोली यसैवर्षको जनवरीमा चीन पुगेका थिए। उनीहरुले १४ दिनसम्म वुहानको अस्पताल, बजार र प्रयोगशालामा अनुसन्धान गरेका थिए।
उनीहरुले आधिकारिक सूचनाहरु संकलन गरेका थिए भने अन्य देशको अध्ययनको समीक्षा गर्दै चीनको बजारको नमूना परीक्षण गरेका थिए।
भाइरसको उत्पत्तिको विषयमा चार निष्कर्ष
१. भाइरस जनावरबाट मानिसमा सर्यो
रिपोर्टअनुसार कोराना भाइरस जीव–जन्तुबाट मानिसमा सरेको भन्ने ठोस प्रमाणहरु छन्।
अनुसन्धानमा उल्लेख भएअनुसार चमेरा हुँदै मानिसमा कोरोना फैलने सम्भावना अत्यन्त ज्यादै छ। किनभने चमेरामा धेरै भाइरसहरु हुन्छ।
रिपोर्टमा सालक तथा मिंकबाट पनि मानिसमा कोरोना फैलिएको हुनसक्ने बताइएको छ।
२. जनावरबाट जनावर हुँदै मानिसमा कोरोना सरेको हुनसक्छ
डब्लूएचओको अनुसन्धान अर्को सम्भावनाको विषयमा पनि कुरा गर्छ। जनावरबाट जनावर हुँदै मानिसमा कोरोना फैलिएको अनुमान गरिएको छ।
यो सम्भावना अनुसार जुन जीव–जन्तुलाई पहिलोपटक कोरोना भयो त्यसले मानिसभन्दा पहिल्यै अर्को जनावरलाई संक्रमित बनाएको हुनसक्छ। त्यसपछि मात्र मानिस संक्रमित भएको हुन सक्छन्।
वैज्ञानिकहरुका अनुसार चमेरामा भेटिएका सार्स–कोभिड–२ भाइरस र कोभिड–१९ मा भिन्नता छन्।
भाइरसमा भिन्नता ल्याउने कडी कुनै जनावर भएको र यो जनावर पहिलोपटक कोरोना संक्रमित बनेको जनावरसँगको सम्पर्कमा आएर मानिसको सम्पर्कमा आएको अनुमान गरिएको छ।
उक्त बिचको जनावरलाई खोज्न गाह्रो भएको वैज्ञानिकहरु बताउँछन्।
३. खाद्य सामग्री तथा त्यो राख्ने स्थानबाट मानिसमा कोरोना फैलिएको हुनसक्छ
विज्ञहरुको अर्को परिकल्पनाअनुसार खाद्य सामग्री अथवा खाना राख्ने स्थानबाट कोरोना भाइरस मानिसमा सरेको हुनसक्छ।
वुहानको बजारमा बेचिने फ्रोजन फुडबाट कोरोना फैलिएको आशंका गरिएको छ।
४. कोरोना भाइरस प्रयोगशालाबाट मानिसमा फैलिने सम्भावना कम
अध्ययनअनुसार दुर्घटनाका कारण कोरोना भाइरस प्रयोगशालाबाट फैलिनसक्छ।
तर अध्ययनले यो स्पष्ट पार्दछ कि अध्ययनकर्ताले कोरोना भाइरस प्रयोगशालामा निर्माण गरिएको विषयमा अध्ययन गरेनन्।
उनीहरुले यसअघि कै अध्ययनमा जानीजानी चीनले कोरोना प्रयोगशालामा बनाएको र फैल्याएको आरोपलाई अस्वीकार गरेका थिए।
रिपोर्टअनुसार सन् २०१९ डिसेम्बर अगाडि वुहानको प्रयोगशालामा कोरोनाबारे अध्ययन गरिएको पाइएन।
डब्लूएचओका प्रमुख टेड्रोसले कोरोना प्रयोशालाबाट फैलिएको हो होइन भन्नेबारेमा ठोस निष्कर्ष दिन धेरै अनुसन्धान गरिनुपर्ने बताएका छन्।
उनका अनुसार कोरोना भाइरस प्रयोगशालाबाट फैलिने सम्भावना निकै कम छ। बीबीसीहिन्दी

प्रतिक्रिया