समाज


कोभिड खोप : वैशाख ७ देखि दोस्रो डोज लगाइने, मन्त्रालयले गर्‍याे यस्तो व्यवस्था

कोभिड खोप : वैशाख ७ देखि दोस्रो डोज लगाइने, मन्त्रालयले गर्‍याे यस्तो व्यवस्था

यज्ञराज जोशी
फागुन २८, २०७७ शुक्रबार १३:३९,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ७ गतेदेखि देशभर कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउने तयारी भएको छ।

अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरी भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोप नेपालले गत माघ १४ गतेबाट देशभर लगाउन सुरु गरेको हो।

सुरुमा चार हप्तापछि लगाइने बताएको मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दुई खोपबीचको समय जति बढी भयो त्यति खोप प्रभावकारी हुने नयाँ तथ्य सार्वजनिक गरेसँगै १२ हप्तापछि दोस्रो डोज लगाउने तयारी गरेको हो।

‘बैशाख ७ देखि बैशाख १५ सम्म दोस्रो डोज खोप लगाउने मन्त्रालयको तयारी छ,’ मन्त्रालयका सचिव लक्ष्मण अर्यालले भने।

पहिलो डोज खोप लगाएको कार्ड बोकेर पायक पर्ने स्थानमा दोस्रो डोजको खोप लगाउन सकिने उनले बताए।

मन्त्रालयले गठन गरेको खोप समितिका संयोजक डा. श्यामराज उप्रेतीले पहिलो डोज र दोस्रो डोजबीच अन्तर लामो हुँदा बढी प्रभावकारी हुने डब्लूएचओको अध्ययनले देखाएपछि आफूहरुले मन्त्रालयमा त्यहीअनुरुप सुझाव दिएको बताए।

‘डब्लूएचओको नयाँ अध्ययनले ८ हप्ता पूरा भएर १२ हप्तासम्म दोस्रो डोज दिँदा बढी प्रभावकारी हुने देखाएको छ,’ उप्रेतीले भने, ‘हामीले त्यहीअनुरुप सिफारिस गरेका थियौं। सरकारले पनि त्यसैअनुसार दोस्रो डोज खोप लगाउने तयारी गरेको छ।’

उनले पहिलो डोज जुन खोप लगाएको हो, दोस्रो पटक पनि त्यही खोप लगाउनुपर्ने बताए। नेपालमा सेरमले उत्पादन गरेको कोभिसिल्ड खोपसँगै केही दिनमा चीनले उत्पादन गरेको सिनोभ्याक खोप पनि आउने घोषणा भइसकेको छ।

Covid vaccine7

किन लगाउने दोस्रो डोज?
शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले खोपको एक डोजले मात्रै काम नगर्ने भएकाले दोस्रो डोज लगाउनुपर्ने बताए।

‘खोपको पहिलो डोज लगाए पनि संक्रमित हुनसक्छ, संक्रमण सर्छ,’ उनले भने, ‘दोस्रो खोप लगाएको दुईदेखि चार हप्तामा बल्ल शरीरमा रोग प्रतिरोधात्मक शक्ति बन्न थाल्छ।’

उनले दोस्रो खोप लगाएपछि मात्र प्रचुर मात्रामा रोग प्रतिरोधात्मक क्षमता विकास हुने बताए।

‘यस खोपको प्रभावकारिता समग्रमा ७० प्रतिशत छ,’ उनले भने, ‘खोप लगाएपछि सिकिस्त हुने दर शून्य प्रतिशत छ। त्यसैले एक त यस खोपले संक्रमण हुन दिदैन र अर्को संक्रमण भएपनि सिकिस्त हुनबाट जोगाउँछ।’

बास्तोलाले पनि यसअघि पहिलेका अध्ययनले चार हप्तामा दोस्रो खोप लगाउनुपर्ने कुरा गरे पनि अहिले आठदेखि १२ हप्तासम्म दोस्रो डोज लगाउदा बढी प्रभावकारी देखिएको बताए।

बास्तोलाले संक्रमण भई निको भइसकेका व्यक्तिलाई पनि खोप लगाउन सुझाव दिए।

‘जो व्यक्तिहरु पहिले संक्रमित भएर निको हुनुभयो, उहाँहरुले पनि खोप लगाउँदा राम्रो हो,’ उनले भने, ‘शरीरमा संक्रमणका कारण एन्टिबडी बनेको छ भने त्यसलाई यसले थप बुस्ट गर्ने काम गर्छ। हानी केही गर्दैन।’

खोप पुग्छ?
नेपाललाई भारत सरकारले सुरुमा १० लाख डोज खोप उपहारस्वरुप दिएको थियो। उक्त खोप अंग्रपंक्तिमा खटिएका चिकित्सक, सफाईकर्मी, सञ्चारकर्मी, विदेशी नियोगका कर्मचारीलगायत ४ लाख २९ हजारलाई पहिलो डोज लगाईसकिएको छ।

सरकारले भारतको सेरमबाटै थप २० लाख डोज खोप खरिदका लागि रकम दिएको थियो। जसमध्ये १० लाख डोज खोप नेपाल आएको छ भने बाँकी १० लाख डोज खोप आउँन बाँकी छ।

यस्तै कोभ्याक्स सुबिधामार्फत नेपालले पहिलो चरणमा पाएको ३ लाख ४८ हजार खोप पनि नेपाल आएपछि सरकारले गत २३ गतेबाट दोस्रो चरणको खोप अभियान सुरु गरेको हो।

यस चरणमा ६५ वर्षमाथि उमेरका १६ लाख र पहिलो चरणमा छुटेकालाई खोप लगाउने सरकारको तयारी छ।

नेपालमा शुक्रबारसम्म साढे २३ लाख डोज खोप उपलब्ध भएको छ। त्यसमा खरिद गरेको १० लाख डोज खोप, चिनियाँ सरकारले दिने भनेको ५ लाख खोप आउने सुनिश्चित छ। सबै जोड्दा ३८ लाख डोज खोप केहि दिनमा नेपालमा उपलब्ध हुनेछ।

जुन खेरजाने समेत जोडेर १८ लाखभन्दा केही बढी मानिसलाई लगाउन सकिन्छ। सरकारले दोस्रो चरणसम्म ६५ वर्षमाथिका १६ लाख र बाँकी छुटेकालाई लगाउने तयारी गरेकाले दोस्रो डोजका लागि खोप कम नहुने आकलन गरेको छ।

मन्त्रालयका सचिव अर्यालले खोप उपलब्धताको आधारमै योजना बनाएको बताए। उनले तत्काल सोचेजस्तो खोप उपलब्ध नभएकाले सुरुमा ५५ वर्षभन्दा माथि उमेरकालाई खोप लगाउने भने पनि कम खोप आएपछि ६५ वर्षभन्दा माथि उमेर समूहमा लगाउँनुपरेको बताए।

‘हामीले दोस्रो डोजलाई पनि हेरेर खोपको उपलब्धताका आधारमा प्राथमिकता निर्धारण गरेका हौं,’ सचिव अर्यालले भने, ‘खरिद गरेको थप १० लाख खोप पनि मार्च १५ भित्र आउँछ। त्यसैले दोस्रो डोज लगाउन समस्या हुँदैन।’

त्यसबाहेक सरकारले थप ५० लाख डोज खोप खरिदको प्रक्रिया समेत अघि बढाएको छ। सेरमसँग प्रारम्भिक कुराकानी भएपनि खरिद गर्ने दरभाउमा कुराकानी मिलेको छैन।

मन्त्रालयका अनुसार सेरमले एजेन्टलाई १० प्रतिशत कमिसन दिने गरी ६ डलर खोपको मूल्य तय गरेको छ। तर मन्त्रालयले भने सिधैँ कम्पनीबाट खोप खरिद गर्ने भएकाले साढे ५ डलरमा पाउनुपर्ने दाबी गरिरहेको छ।

अर्यालले चैत महिनाभित्र ५५ वर्षमाथिका ३७ लाख र अग्रपंक्तिमा खटिने ९ लाखलाई खोप लगाइसक्ने लक्ष्यमा सरकार रहेको बताए।

यो पनि:

३२ करोड कमिसनको खेलले रोकियो खोप खरिदको प्रक्रिया

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .