गत चैत्रमा कोरोनाका कारण देशभर लकडाउन भयो। अत्यावश्यक काम नपरी कोहीपनि घरबाट बाहिर निस्कँदैन थिए। यही फुर्सदको समयमा तिलकराज भण्डारीलाई जनयुद्धका सामाग्रीहरु खोतल्ने जागर चल्यो।
युद्धकालमा उनी विधार्थी राजनीति हुँदै भूमीगत राजनीतिमा होमिएका थिए। त्यसबेला अहिलेजस्तो सञ्चारको विकास भइसकेको थिएन। खबरहरु आदानप्रदान गर्ने माध्यम भनेकै चिठ्ठी हुन्थ्यो।
विधार्थीहरुबीच चिठ्ठी आदानप्रदान गर्ने क्रम खुब चल्थ्यो। २०५७ देखि २०६४ सम्म साथीहरु, सिनियर सहकर्मीहरु र प्रेममा परेका ‘कमरेड’हरुबीच चिठ्ठीका माध्यमबाट सम्वाद हुन्थ्यो।
जसमा योद्धाहरुको विचार,दृष्टिकोण, भावना, साहित्य, युद्धकला, युद्धकार्यशैली,आवेग, संवेग, त्याग समर्पण तथा बलिदानीका खबर र ऐतिहासिक फौजी आक्रमणका विवरणहरु संग्लन हुन्थे।
सल्यानमा रहेर काम गरेका तिलकले साथीहरुले आफूलाई सप्रेषित गरेका पत्रहरु सुरक्षित राखेका थिए। लकडाउनमा उनले तीनै चिठ्ठीहरु समेट्दै पुस्तकका रुपमा एक अनौपचारिक दस्तावेज प्रकाशित गर्ने निर्णय गरे। साथीभाईहरुसँग पनि उनलाई ती कुरा दस्ताबेजका रुपमा रहने भएकाले प्रकाशित गर्न उप्रेरित पारे।
फागुन १ गते नेपालमा जनयुद्ध सुरु भएको २५ वर्ष पुग्दै थियो। साथीहरुको प्रोत्साहनपछि उनले त्यही सन्दर्भमा उक्त पुस्तक प्रकाशित गर्ने निधो गरे। तर यहीबीच प्रधानमन्त्री केपीशर्मा ओलीले संसद विघटन गर्दै प्रतिगमनको यात्रा लिएपछि उनी आन्दोलनमा होमिनुपर्ने भयो।
सोहीकारण ‘जनयुद्धको हस्ताक्षर’ नाम दिइएको पुस्तक विमोचन फागुन ११ गते भएपनि प्रारुप भने १ गते नै सार्वजनिक भएको थियो। पुस्तकलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमकाबीच गरेका थिए।
तिलकका अनुसार पुस्तकमा २०५७ देखि २०६४ सम्म उनका सहकर्मीहरुले प्रेषित गरेका चिठ्ठीहरु समावेश गरिएका छन। पुस्तकमा ६ जना सहिदहरुका चिठ्ठी, १ जना वेपत्ता योद्धाको चिठ्ठी, ६१ जना नेता, कार्यकर्ता, जनमुक्ति सेना र सहकर्मीहरुका चिठी, माक्र्सवदी प्रेमपत्रहरु गरी ११२ थान पत्रहरु समावेश छन।
‘यो पुस्तक जनयुद्धको क्रममा साथीहरुले लेखेका चिठ्ठीको संग्रह हो,’ तिलक भन्छन्, ‘जनयुद्धलाई नकरात्मक र सकरात्मक रुपमा हेर्ने थुप्रै छन्। साच्चै नै जनयुद्धको धरातल बुझ्न यो प्रतिनिधिमुलक सामाग्री हो।’
पुस्तक विभिन्न ७ भागमा समावेश छ। पहिलो भागमा सहिद र वेपत्ताका चिठ्ठीहरु समावेश भएका छन। दोस्रो भागमा विधार्थी राजनीति र पार्टी राजनीतिको क्रममा सँगै काम गरेका साथीहरुले उनलाई लेखेका चिठ्ठीहरु समावेश छन।
तेस्रो भागमा उनीहरु सिनियर नेताहरुले लेखेका निर्देशनमुलक, वैचारिक मुलक, राजनैतिक दृष्टिकोण समावेश पत्रहरु समावेश छन। चौथोमा सल्यान जिल्लामा घर भई बाहिर रहेका जनमुक्तिका साथीहरुले लेखेका चिठ्ठीहरु छन।
यस्तै पाँचौं भागमा तिलक र उनकी श्रीमतिबीच आदानप्रदान भएका प्रेमपत्रहरु समेटिएका छन। तिलक र उनी श्रीमती जनयुद्धकालमा पूर्णकालिन कार्यकर्ताका रुपमा कार्यरत थिए। त्यसबेला दुबैबीच चिठ्ठीकै माध्यमबाट भावना साटासट हुन्थ्यो।
२०६० सालमा तत्कालिन माओवादी पार्टीले एकिकृत प्रतिरोध अभियान चलाएको थियो। जसअन्तर्गत चुनवाङमा जनसाक्षार अभियान सञ्चालन गर्ने जिम्मेवारी तिलकको काँधमा थियो। चार महिना उक्त अभियान सञ्चालन गरेपछि उनले पढाएका विधार्थीहरुले लेखेका पत्रहरु समावेश गरिएका छन।
यस्तै अन्तिम भागमा जीवनसाथीलाई लेखेका पत्रहरु समावेश छन। साथमा पुस्तकमा हस्तलिखित पत्रहरुको स्क्यान कपिहरु राखिएको छ।
‘जनयुद्धका लागेका कमरेडहरु कहिलेकाँही धरमराएको देखिन्छ। नेताहरु जनयुद्धको भावना भुल्न थालेका बेला उहाँहरुलाई त्यसबेला कुन उदेश्यले काम गरिएको थियो भन्ने सम्झना पनि यसले दिन्छ,’ तिलक थप्छन्, ‘यस्तै पुस्तक प्रकाशनको उदेश्य नयाँ पुस्ताले आफ्नो पृष्ठभुमी नर्बियोस भन्ने पनि हो। यो पढ्दा उनीहरुलाई तत्कालिन अवस्थाका बारेमा समेत ज्ञान हुनेछ।’
चिठ्ठीमा तत्कालिन घटनाहरुबारेको वर्णन पनि हेर्न पाइन्छ। घोराई, सतबेरिया, मंगलसेन, खारा, जुम्ला आदि आक्रामकहरु पत्रमा समावेश भएको तिलकले बताए। त्यसबाहेक तत्कालिन आधार इलाकाहरु, कमजोर इलाकाहरु, जनयुद्धका सबल र कमजोर पक्षहरु पत्रमार्फत थाहा पाइने उनले बताए।
तिलक अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहिसकेका छन्।
प्रतिक्रिया