नेपालमा लगाइएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको कोभिसिल्ड खोपको दोस्रो डोज पहिलो डोज लगाएको ८ हप्तापछि मात्र लगाइने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप सल्लाहकार समितिले दोस्रो डोज ८ हप्तापछि मात्रै लगाउन सिफारिस गरेको हो। यसअघि पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज खोप लगाउने तयारी थियो।
समितिका संयोजक तथा खोप विज्ञ डा. श्यामराज उप्रेतीले पहिलो डोज लगाएको ८ हप्तापछि लगाउँदा बढी प्रभावकारी देखिएको नयाँ तथ्य सार्वजनिक भएपछि उक्त सिफारिस गरिएको बताए।
‘पहिलो मात्रा र दोस्रो मात्राबीचको जति समय बढ्दै गयो त्यति यस खोपको प्रभावकारिता बढी हुन्छ भन्ने डब्लुएचओको अध्ययन हो,’ उप्रेतीले भने, ‘८ हप्ता देखि १२ हप्ताभित्र दोस्रो मात्रा दियो भने यसको प्रभावकारिता बढी हुने डब्लुएचओले पत्ता लगाएपछि हामीले उक्त सिफारिस गरेका हौं।’
मन्त्रालयका परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले खोप विज्ञ समितिको सिफारिस अनुसार अघि बढ्ने विषयमा केही दिनमा मन्त्रालयमा निर्णय हुने बताए।
Shares

प्रतिक्रिया