समाज


कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान दिइने

कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान दिइने

नेपालखबर
साउन २३, २०७६ बिहिबार १०:२,

स्याङ्जाको गल्याङ नगरपालिकाले कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान उपलब्ध गराउने भएको छ।

गल्याङ नगरपालिकालाई सेतो शहर (दूधको शहर)का रुपमा विकास गर्ने गरी योजना बनाएको नगरपालिकाले कृषि र पशुपालनलाई व्यावसायिकता प्रदान गर्ने नीति अगाडि सारेको नगर प्रमुख भुपराज अधिकारीले बताए।

कृषि र पशुपालन व्यवसायमा आबद्ध नगरभित्रका कृषक तथा पशुपालक व्यवसायीलाई नगरपालिकाले बनाएको मापदण्डका आधारमा चार तहमा वर्गीकरण गरी सबैलाई परिचयपत्र प्रदान गरी परिचयपत्रकै आधारमा अनुदान उपलब्ध गराउने निर्णय भएको नगर प्रमुख अधिकारीले बताए।

नगरपालिकाले व्यावसायिक, व्यावसायिक उन्मुख, साना किसान र निर्वाहमुखी किसान गरी कृषकलाई चार तहमा वर्गीकरण गरिएको गल्याङ नगरपालिकाअन्तर्गत कृषि शाखा प्रमुख सुशील अर्यालले बताए। शाखा प्रमुख अर्यालका अनुसार व्यावसायिक कृषकका लागि कम्तीमा पनि ५० वटा दुधालु माउ पशु वा ५० वटा बाख्रा र दश रोपनी जमिनमा व्यावसायिक उत्पादन गर्ने वा १० वटा टनेलमा व्यावसायिक कृषिखेतीमा संलग्न भएको हुनुपर्नेछ।

त्यसैगरी व्यावसायिक उन्मुख कृषकको हकमा कम्तीमा २० देखि ४९ वटा दुधालु भैँसी वा गाई, २० देखि ५० वटा बाख्रा वा तीन रोपनीमा व्यावसायिक खेती गर्ने वा पाँच वटा टनेलमा कृषिखेती गर्ने किसान यसअन्तर्गत पर्ने मापदण्ड तोकिएको छ।

साना किसानअन्तर्गत पाँचदेखि १९ वटासम्म दुधालु पशु वा सोही सङ्ख्यामा बाख्रा वा बढीमा तीन रोपनीसम्म जमिनमा व्यावसायिक खेती गर्ने वा पाँच वटा टनेलमा कृषिखेती गर्नेलाई समावेश गरिएको छ भने निर्वाहमुखीमा पाँच वटासम्म दुधालु पशु, एक रोपनीभन्दा कम क्षेत्रफलमा खेती गरेको र बढीमा १५ वटासम्म बाख्रा पालेको कृषकलाई समावेश गरिएको शाखा प्रमुख अर्यालले बताए।

‘नगरपालिकाले बनाएको मापदण्डका आधारमा किसान जुनजुन तहमा पर्नुहुन्छ सबैलाई सोहीअनुसारको परिचयपत्र प्रदान गर्ने छौँ’, शाखा प्रमुख अर्यालले भने, ‘अब यसलाई जतिसक्दो छिटो कार्यविधि बनाएर तहअनुसारको अनुदान उपलब्ध गराउने तयारीमा छौँ।’ नगरपालिकाभित्रबाट दैनिक पाँच हजार दूध उत्पादन गर्ने गरी रणनीति बनाइएको छ भने गेँडागुडी तथा कोदोजन्य खेतीलाई प्रोत्साहन गर्दै उत्पादनका आधारमा अनुदान उपलब्ध गराउने निर्णय गरेको छ।

नगरपालिकाले गाई भैँसी खरिद गर्न गोठ तथा भकारो निर्माण एवं मेशिन खरिदका लागि ५० प्रतिशतसम्म किसानलाई अनुदान उपलब्ध गराउने र दूध बिक्रीमा प्रतिलिटर रु १५ सम्म अनुदान दिने नीति अगाडि सारेको कृषि शाखाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .