समाज


बिरामी सत्यमोहनलाई बेइजिङबाट सन्देश- अझै धेरै वर्ष बाँच्नुपर्छ है

बिरामी सत्यमोहनलाई बेइजिङबाट सन्देश- अझै धेरै वर्ष बाँच्नुपर्छ है

चेतनाथ आचार्य
माघ १२, २०७७ सोमबार १४:१,

शताब्दी पुरुष सत्यमोहन जोशी बिरामी भएको समाचारले सबै नेपालीलाई चिन्तित बनाएको छ। सय वर्ष नाघेका जोशीको स्वास्थ्य अवस्था बुझ्न घरमै पुगेका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई जोशीले जोशिलो पारामा भनेछन्, ‘खासै केही भएको छैन। अलिअलि बिरामी त सबै भइहाल्छन् नि !’

जोशी बिरामी भएको खबरले नेपालीलाई मात्र होइन, चिनियाँलाई पनि चिन्तित बनाएको छ। जोशी तिनै व्यक्ति हुन्, जसले चीनमा आएर चिनियाँ नागरिकलाई नेपाली भाषा सिकाएका थिए। उनले ५५ वर्षअगाडि रोपेको नेपाली भाषाको बिरुवा यतिबेला चीनभरि फैलिएको छ। नेपाली भाषा बोल्ने चिनियाँले अरू चिनियाँलाई नेपालको संस्कृति, इतिहास, भूगोल, रहनसन, सौन्दर्य, प्रकृतिबारे प्रचारप्रसार गरिरहेका छन्।

अहिले जोशी बिरामी भएको खबर सुनेपछि उनका चिनियाँ विद्यार्थीले चिन्ता व्यक्त गरेका छन्। सय वर्ष नाघ्दा पनि फूर्तिला रहेका जोशीबारेका सूचना उनका चिनियाँ विद्यार्थी सधैँ अध्यावधिक राख्छन्। बेइजिङ आएका नेपालीलाई कतै भेटेमा उनीहरू आफ्ना गुरुबारे सोधखोज गरिरहन्छन्। ती चिनियाँको जोशीसँग सम्बन्ध हिजोआजको होइन। स्नातक पढ्न कलेज प्रवेश गर्दा जोशीसँग ५५ वर्ष अगाडि उनीहरूको भेट भएको थियो।

सत्यमोहन जोशी पहिलोपटक सन् १९६५ मा बेइजिङ आएका थिए। चीन सरकारले नेपाली भाषामा रेडियो सेवा सञ्चालन गर्ने उद्देश्यले चिनियाँहरूलाई नेपाली भाषा सिकाउन जोशीलाई बेइजिङ बोलाएको थियो। त्यही बेला सत्यमोहन जोशीले चीनमा नेपाली भाषाको बिरुवा रोपेका हुन्।

जोशीले नेपाली सिकाएका चिनियाँ १५ वर्षअगाडि नै सरकारी सेवाबाट निवृत्त भइसकेका छन्। उनले नेपाली सिकाएका व्यक्तिमध्ये एकजना त नेपालका लागि राजदूत पनि भए भने दुईजना चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको उच्च पदमा पुगेर निवृत्त भइसकेका छन्।

Satya Mohan Joshi

ठूलो जोश र जाँगर लिएर चिनियाँलाई नेपाली भाषा सिकाउन जोशी बेइजिङ आएका थिए। दुर्भाग्य ! उनले एक वर्ष पनि राम्रोसँग काम गर्न पाएनन्। किनकि उनी आएको अर्को वर्ष नै चीनमा सांस्कृतिक क्रान्ति सुरु भयो। जसले पठनपाठन ठप्प पारिदियो। फलतः जोशी २ वर्ष मात्र बेइजिङ बसेर नेपाल फर्किए।

नेपाली भाषा सिकेका चिनियाँ युवक/युवतीले सन् १९७५ जुन २५ मा तत्कालीन रेडियो पेकिङको नेपाली सेवा सुरु गरे। त्यही रेडियो ‘रेडियो बेइजिङ’ हुँदै चिनियाँ अन्तर्राष्ट्रिय रेडियो भएको हो। रेडियो पेकिङले नेपाली सेवा सुरु गरेको ५ वर्षपछि सन् १९८० मा जोशी विदेशी विशेषज्ञका रूपमा काम गर्न फेरि बेइजिङ आए। आफैँले नेपाली भाषा सिकाएका चिनियाँसँग उनले २ वर्ष काम गरे।

नेपाली भाषा सिकेका पहिलो पुस्ताका चिनियाँ अहिले पनि मुक्तकण्ठले सत्यमोहन जोशीको प्रशंसा गर्छन्। गुरुका रूपमा सम्मान प्रकट गर्छन्। उनले नेपाली भाषा सिकाएका चिनियाँमध्ये छन मिन यी चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको प्रथम उपनिर्देशक भए भने ली छिङ कर्मचारी प्रशासन विभागका प्रमुख। यी दुवै पद चिनियाँ उपमन्त्रीसरहका हुन्। त्यसैगरी जोशीका अर्का शिष्य चङ सुयोङ सन् १९९८ देखि २००१ सम्म नेपालका लागि राजदूत भए।

SatyaMohan Beijing3

सन् २००३ मा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) का प्रथम उपनिर्देशक छन मिनयी एक प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा गएका थिए। जतिबेला उनी सत्यमोहन जोशीको घर (पाटन) मै पुगेर जोशीलाई मेरा आदरणीय गुरु भन्दै ढोगेका थिए। चिनियाँ उपमन्त्रीसरहका व्यक्तिले घरमै आएर सम्मान गर्दा जोशी निकै भावुक बनेका थिए। उनका आँखा रसाएका थिए। छन मिनयीसँग सीआरआई नेपाली सेवाको तत्कालीन प्रमुख प्रोफेसर चौ चाओ चुन पनि सँगै थिइन्।

जोशीसँग सन् १९६५ मा नेपाली भाषा सिकेकी र १९८० देखि २ वर्षसम्म सँगै काम गरेकी श्रीमती चौ चाओ चुनले आफूसँग थुप्रै स्मरण रहेको नेपालखबरलाई बताइन्। चौलाई नेपालीले छाङहो दिदी अथवा कुसुम दिदी भनेर चिन्छन्। उनी लागातार २० वर्ष सीआरआई नेपाली सेवाकी प्रमुख भएर सन् २००५ मा सेवा निवृत्त भइन्। उनका अनुसार जोशी अत्यन्त अध्ययनशील र गम्भीर स्वभावका व्यक्ति हुन्। उनका अनुसार जोशी फुर्सद हुनासाथ अरनिकोले बनाएको श्वेत चैत्य अध्ययन/अवलोकन गर्न पुगिहाल्थे। कहिल्यै नरिसाउने उनी सधैँ गम्भीर मुद्रामा हुन्थे। त्यसो त उनी हाँसेको पनि हतपती देख्न पाइन्नथ्यो।

चौ सम्झिन्छिन्, ‘कहिलेकाहीँ उहाँ हाँस्नुभयो भने आज जोशीजी हाँस्नुभयो भनेर रेडियोमा चर्चा नै हुन्थ्यो।’

जोशीले अत्यन्त मिहिनेतका साथ काम गर्ने र सरल तरिकाले नेपाली भाषा सिकाएकाले अहिले पनि आफूले नबिर्सिएको चौ बताउँछिन्।

शुद्धसँग नेपाली भाषा बोल्ने उनी भन्छिन्, ‘क्रिया विशेषण, संयोजक, निपात प्रयोग गरेर बोल्दा नेपाली भाषा तिख्खर हुने कुरा मैले उहाँबाटै सिकेकी हुँ।’

Kusum Didi

जोशीले संस्कृति र इतिहाससँग पनि जोडेर भाषा सिकाएकाले नेपाली संस्कृति र इतिहास पनि बुझ्ने मौका पाएको उनी बताउँछिन्। जोशी सधैँ गम्भीर देखिए पनि उनका चिनियाँ विद्यार्थी भने झ्याम्मिरहन्थे। गुरुका रूपमा जोशीसँगको सम्बन्ध अत्यन्त सौहार्दपूर्ण रहेको चौले बताइन्।

सधैँजस्तो अनलाइनमा नेपाली समाचार हेरिरहने चौले आफ्ना गुरु सत्यमोहन जोशी बिरामी भएको खबर थाहा पाउनासाथ स्वास्थ्यलाभको कामना गर्दै प्रार्थना गरेको बताइन्। हुन त उनलाई श्वेत चैत्यमा बत्ती बालेर जोशीको स्वास्थ्यलाभको कामना गर्ने चाहना थियो। तर अरनिकोले बनाएको श्वेत चैत्य अहिले जिर्णोद्धार भइरहेकाले भित्र पस्न पाइन्न।

SatyaMohan Beijing4

चौले भनिन्, ‘जोशीजी फुर्सद हुनासाथ श्वेत चैत्य पुगिहाल्नुहुन्थ्यो। हामी त उहाँलाई बीसौँ शताब्दीका अरनिको भन्थ्यौँ। त्यही मन्दिरमा गएर उहाँको स्वास्थ्यलाभको कामना गर्ने चाहना थियो।’

श्वेत चैत्यलाई चिनियाँले अपार खुसी र सौभाग्यको मन्दिरका रूपमा लिने गरेका छन्।

साँच्चै, आधुनिक अरनिकोका रूपमा स्थापित सत्यमोहन जोशी नेपाल र चीनबीचको सम्बन्धमा बीसौँ शताब्दीका सांस्कृतिक सेतु हुन्। उनको योगदानलाई चिनियाँले सँगालेर राखेका छन्। अनि भन्दैछन्, ‘आदरणीय गुरु अरु सय वर्ष बाँच्नुहोस् है !’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad